Logo

नरेठाँटी र हटियाका दुई सडक कालोपत्रेको तयारी

पर्वत– बागलुङको गलकोटमा दुई सडक एकै साथ कालोपत्रे गर्ने तयारी थालिएको छ । संघीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीदेखि दुदिलाभाटीसम्मको एक किलोमिटर र वडा नम्बर ३ को हटिया बजारदेखि कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न थालिएको हो ।

सडक कालोपत्रेका लागि गत भदौ १३ गते योजना सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर शंकर पोखरेलले जानकारी दिए । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको इन्जिनियर पोखरेलले बताए ।

पोखरेलका अनुसार आयोजनाको सबै काम गर्ने जिम्मा वागेश्वरी मल्टी प्रपोज निर्माण सेवा नुवाकोटले जिम्मा लिएको छ । कम्पनीले वि.सं. २०८२ फागुनसम्म सक्ने गरी सात करोड ६५ लाखमा जिम्मा पाएको उनको भनाइ छ । निर्माण कम्पनीले धमाधम काम भएको भन्दै हालसम्म १५ प्रतिशत कार्य सम्पन्न भएको पोखरेलले बताए ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले दशक अगाडि निर्माण भएका सडक एकीकृत सहरी पूर्वधार विकास कार्यक्रममा समावेश भएपछि कालोपत्रे हुन थालेको बताए । यो कार्यक्रमले गलकोट नगरलाई व्यवस्थित रूपमा विकास गर्न टेवा पुर्‍याउने उनको भनाइ छ । नगरपालिकाले एउटा योजनाका लागि एकै पटक करोडौँ लगानी गर्न नसक्ने भण्डारीले बताए ।

उनले भने, ‘नगरपालिकामा सीमित स्रोत साधान हुने हुँदा एकै पटक धेरै योजनामा करोडौँ लगानी गर्न सकिएको छैन, यस वर्षदेखि एकीकृत सहरी पूर्वधार विकास कार्यक्रम लागू भएको छ, यस कार्यक्रमले गलकोटको विकासमा कोसेढुंगा सावित भएको छ, नरेठाँटी दुदिलाभाटी र हटियादेखि कोटघर जाने लामो समयदेखि कालोपत्रे गर्न सकिएको थिएन अहिले हुन थाल्यो, यो योजनाबाट धेरै नागरिक लाभाम्वित हुने भएका छन् ।’ पछिल्ला केही वर्षयता बागलुङमा नयाँ मार्गभन्दा पुराना मार्गको स्तरोन्नति र कालोपत्रेका काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्