पोखरामा दुई सवारी चालकको मृत्यु

पोखरामा बुधबार तीन वटा सवारी साधन एक आपसमा ठक्कर खादा दुई जना सवारी चालकको ज्यान गएको छ । बुधबार बिहान करिब २ः५० बजे पोखराको चाउथेमा सवारी दुर्घटना हुदा मोटरसाइकल र जिप चालकको उपचारकै क्रममा ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
हाल पोखरा चाउथे बस्दै आएका मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय रोनस गुरुङ र पोखरा २९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका जिप चालक सरोज लामाको सवारी दुर्घटनामा परी आज बिहान करिब ३ः३० बजे ज्यान गएको प्रहरीले जनाएको छ । ग १३ प ९५३७ नम्बरको मोटरसाइकल र ग २ च २७२६ नम्बरको जिप एक आपसमा ठक्कर खादा विपरित दिशाबाट आएको ग १ ख ९४०५ नम्बरको बसले दुबै लाई ठक्कर दिदा दुई जना चालकको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । मोटरसाइकल र जिप पृथ्बीचोकबाट चाउथे तर्फ जादै थिए भने काठमाण्डौंबाट बागलुङका लागि आउदै गरेको बसले दुर्घटनामा परेका दुवै सवारुी साधनलाई ठक्कर दिन पुगेको थियो ।
दुबै जनाको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उक्त दुर्घटनामा परी जिपमा सवार पोखरा २९ का ३४ बर्षीय प्रेम परियार गम्भिर घाइते भएकाछन्। उनको टाउको र छाँतीमा गम्भिर चोट लागेको स्थानियले बताए । त्यसै गरी उक्त दुर्घटनामा गरी पोखरा ३१ का २३ बर्षीय दिल बहादुर परियार सामान्य घाइते भएकाछन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।