Logo

डेढ दशकपछि पर्वतको लुंखु–हुवास सडक धमाधम कालोपत्रे हुँदै

पर्वत– दक्षिण पर्वतलाई सदरमुकाम कुश्माबजारसँग जोड्ने दोबिल्ला–फलेवास–लुंखु–हुवास सडकअन्तर्गत लुंखु–हुवास खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको छ । मार्ग खुलेको झण्डै डेढ दशकपछि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लुंखु–हुवास सडक कालोपत्रे गरिएको हो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) परियोजनामार्फत् विगत पाँच वर्षदेखि सुरु भएको यो सडक खण्डको स्तरोन्नतिसमेत अन्तिम चरणमा पुगेको छ । सरकार र एशियाली विकास बैंकको संयुक्त कोषबाट कालोपत्रे गर्ने गरी निर्माण कार्य सुरुवात भएको पाँच वर्षपछि कालोपत्रे बिच्छ्याउने काम धमाधम भइरहेको श्री हिमदुङ एण्ड थोकर एण्ड कालिञ्जर मल्ल कन्स्ट्रक्सन जेभिका प्रमुख यामबहादुर मल्लले जानकारी दिए ।

१५ किलोमिटर लामो यो सडक खण्डअन्तर्गत अहिलेसम्म कालोपत्रे र ढलान गरी नौ किलोमिटर सम्पन्न भइसकेको छ भने बाँकी ६ किलोमिटरमा समेत कालोपत्रे र ढलानको तयारी भइरहेको उनले बताए । अबको दुई महिनाभित्र सबै काम सम्पन्न गर्नेगरी काम भइरहेको मल्लको भनाइ छ । हुवासदेखि भोर्लेसम्म कालोपत्रे सकेर मंगलबारदेखि पाखापानीतर्फको भागमा सुरु गरिएको उनले बताए ।

महाशिला गाउँपालिकाको लुंखुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म सडक कालोपत्रे हुने भएको हो । १५ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि कुल ३६ करोड ९६ लाख रुपैंयाँमा निर्माण ब्यवसायीसँग सम्झौता भएको थियो । गत असारसम्म झण्डै पाँच किलोमिटर सडक कालोपत्रे भएकोमा अहिलेसम्म नौ किलोमिटर सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालय पर्वतका प्रमुख सम्पत न्यौपानेले बताए ।

महाशिला र पैयूँ गाँउपालिका जोड्ने यो सडक कालोपत्रे भएपछि पैंयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङजा, पोखरा भएर वर्षायाममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । अहिलेसम्म यस क्षेत्रका बासिन्दा प्रशासनिक वा अन्य सरकारी कामकाजका लागि वर्षायामका चार महिना स्याङ्जाको वालिङ हुँदै पोखरा भएर पर्वत आउन बाध्य भएका थिए ।

कुश्मादेखि फलेवाससम्मको १६ दशमलब ७ किमि सडक पाँच वर्षअघि नै कालोपत्रे भइसकेको थियो भने लमायखोलादेखि लुंखुसम्मको १३ किलोमिटर सडक गत वर्ष सम्पन्न भएको हो । अब लुंखुदेउरालीदेखि हुवास सडक खण्ड पनि कालोपत्रे सुरु भएपछि कुश्मादेखि सुदुर दक्षिण पर्वतको हुवाससम्म नै कालोपत्रे सडकले जोड्ने छ । सडक कालोपत्रे भएपछि कुस्मादेखि हुवाससम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ ।

यो सडकमा पर्ने शेराबेसी र गेडीखोलामा पक्की पुलसमेत निर्माण भइसकेको छ । यो खण्ड सम्पन्न भएपछि झण्डै ४५ किलोमिटरको दूरीमा हुवास जोडिने भएको छ । अहिले ६ घण्टाको यात्रा गर्नुपर्ने उक्त सडकमा कालोपत्रेपछि दुई घण्टामै हुवास पुग्न सकिने स्थानीय गोपाल अधिकारीले बताए । सडक निर्माणको काम सुरु भएपछि कोभिड–१९ र वर्षातका कारण विभिन्न ठाउँमा पहिरो गएपछि निर्माण कार्य पछि धकेलिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्