Logo

आठ प्रकारका भिटामिनयुक्त चामल बेच्दै खाद्य कम्पनी

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पौष्टिक तत्व भएको चामल बिक्री थालेको छ । कम्पनीले स्टिम जिरा मसिनो चामलमा आठ प्रकारका भिटामिनका तत्व मिसाएर बिक्री गरेको हो ।

कम्पनीले चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि१२, थायमिन, नियासिन र फाइरीक्सिन तत्व मिसाउने गरेको छ । दुर्गम जिल्लाका मानिसमा सुक्ष्म पोषण तत्वको कमी हुने हुँदा पहिलो प्राथमिकता ती क्षेत्रमा बिक्री गरिने चामललाई दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । भिटामिनयुक्त चामल सबैलाई आपूर्ति गर्न नसकिने हुँदा पहिलो प्राथमिकता दुर्गम जिल्ला, सामुदायिक स्कुल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको उनले बताए । कम्पनीको क्षमता र मागअनुसार विस्तारै आपूर्ति बढाउँदै लैजाने आचार्यले जानकारी दिए ।

खाद्य कम्पनी बागमती प्रदेश कार्यालयका प्रमुख भीमबहादुर थापाका अनुसार कम्पनीले पौष्टिक तत्व स्तरोन्नति गरेको चामल विषेशगरी कर्णाली प्रदेशका जिल्लाहरुमा पठाइरहेको छ । यस्तो चामल कम्पनीले प्रतिकिलो ९५ रुपैयाँमा बिक्री गरिरहेको छ । २५ किलोको बोरामा यो चामल उपलब्ध छ । भिटामिनयुक्त चामल दैनिक ३० टन उत्पादन हुने गरेको उनले जानकारी दिए । सुरुमा खासै बिक्री नभए पनि अहिले यस्तो चामलको माग बढ्दै गएको थापाको भनाइ छ ।

सुक्ष्म पोषक तत्वको कमीले विभिन्न समस्या सिर्जना हुने हुँदा खाद्य ऐनबमोजिम पौष्टिक तत्व भएको चामल आवश्यक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए । ‘यस्तो चामल खाद्य कम्पनीले मात्र बिक्रीवितरण गरेर पुग्दैन । आम उपभोक्ताले चामलमार्फत भिटामिन पाउन निजी क्षेत्रले समेत सरकारको मापदण्डअनुसार चामलमा भिटामिन मिसाएर बिक्री गर्नुपर्छ,’ उनले भने । अन्य देशले पनि यस्तो अभ्यास गरेको उदाहरण उनले दिए । उनका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुपोषण दिगो रुपमा समाधान हुन्छ । स्थानीय स्तरमा पाइने खानेकुराको खाद्य विविधिकरण तथा पौष्टिक तत्व स्तरोन्नति गरिएको खाद्य पदार्थको उपभोग सबैभन्दा उत्तम विकल्प हुन्छ । नियमित उपभोग गर्ने खाद्य पदार्थमा सुक्ष्म पोषक तत्व स्तरोन्नति (फर्टिफिकेसन) गरी पोषणको अवस्थामा सुधार ल्याउने काम भइरहेको छ ।

मुख्य आहारका रुपमा चामल उपभोग हुने मुलुकमा फर्टिफिकेसन गर्ने गरेको उनले बताए । छिमेकी मुलुक भारतले पनि लामो समयदेखि यस्तो चामल वितरण गर्दै आएको उनले जानकारी दिए । सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको र अधिकांश जनसंख्याले नियिमत रुपमा चामल उपभोग गर्ने गरेको तथ्यलाई मध्यनजर गर्दै चामलमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलसम्बन्धी मापदण्ड खाद्य ऐनअनुसार बनाइएको उनले बताए ।

खाद्य कम्पनीका अनुसार चामलमा पौष्टिक तत्व स्तरोन्नति गर्ने सम्बन्धमा सन् २०१६ मा सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि २०१९ अगष्टमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन तथा खाद्य असुरक्षा र कुपोषणको दर उच्च रहेको क्षेत्रबाट बिक्री सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र विश्व खाद्य कार्यक्रमबीच यससम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारले पौष्टिक तत्व स्तरोन्नति गरिको चामलसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत गरी २०८० साउन १ गते नेपाल राजपत्रमा प्रकाशित गरेको थियो ।

खाद्य कम्पनीको राजापुर र जनकपुर चामल मिलमा पौष्टिक तत्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिनरी तथा अन्य सामग्री विश्व खाद्य कार्यक्रमको सहयोगमा जडान गरी परीक्षण उत्पादन गरिएको हो । विश्व खाद्य कार्यक्रमले मिलमा आवश्यक पर्ने मेसिनरी, पौष्टिक तत्व स्तरोन्नति गर्न आवश्यक पर्ने पोषक तत्व थप गरिएको चामलको दाना ७३ टन तथा गुणस्तर परीक्षणका लागि आवश्यक पर्ने प्रयोगशालाका सामग्री अनुदानमा प्रदान गर्नेछ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८०–८१ मा राजापुर र जनकपुरमा रहेका चामल मिलबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन गरी खाद्य असुरक्षा तथा कुपोषणको दर बढी भएका कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटबाट सहुलियत मूल्यमा बिक्री गरिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हुने कुल बाल मृत्युदरको ४५ प्रतिशत कुपोषणका कारणले भएको देखिन्छ । नेपालको पोषण अवस्थामा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुपोषणको दर अझै पनि उच्च छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार अझै ५ वर्षमुनिका बालबालिका ४३ प्रतिशत, प्रजनन् उमेरका महिला ३४ प्रतिशत र किशोरीहरू ३९ प्रतिशत रक्तअल्पताले गम्भिर जनस्वास्थ्य समस्याको शिकार भइरहेका छन् । साथै ५ वर्षमुनिका २५ प्रतिशत बालबालिका पुड्कोपना र १९ प्रतिशतमा कम तौल छ भने विभिन्न उमेर समूहमा जिंक, भिटामिन बि१२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषक तत्वको कमी रहेको तथ्यांकले देखाएको छ । नेपालले यी सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सूचकहरूको लक्ष्य प्राप्ति गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्