बैंकिङ क्षेत्रमा ६ खर्ब ७१ अर्ब पुग्यो लगानीयोग्य रकम
काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिँदा पनि लगानी बढ्न नसक्दा अर्थतन्त्रको अवस्था झनै निराशाजनक रहेको त्रास थपिएको छ । केन्द्रीय बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ६ खर्ब ७१ अर्बबराबर कर्जा लगानीयोग्य रकम थुप्रिएको छ । यसरी दिनदिनै तरलता थुप्रिँदै जाँदा बैंक ब्याजदर घटेर न्यून विन्दुमा पुगेको छ ।
ब्याजदर घटे पनि कर्जाको माग भने बढ्न सकेको छैन । बैंकिङ प्रणालीमा कर्जाको माग नबढ्दा अधिक तरलताको अवस्था छ । हाल करिब ४ खर्ब हाराहारी अधिक तरलता रहेको छ । अहिले तरलतालाई सदुपयोग गर्ने राम्रो अवसर रहेको भन्दै सरकार त्यसका लागि अग्रसर हुनुपर्ने जानकारहरू बताउँछन् । सरकारले आन्तरिक ऋण उठाएर भए पनि खर्च बढाउन लाग्नुपर्नेमा उनीहरूको जोड छ ।
लगानीयोग्य रकम थुप्रिँदै जाँदा लगानी भने बढ्न सकेको छैन । यसको मूल कारण निजी क्षेत्रको मनोबल बढ्न नसक्नु भएको जानकारहरू बताउँछन् । निजी क्षेत्रले पनि अहिले ब्याजदर कम हुँदा पनि लगानीका लागि विश्वस्त हुने आधारहरू नदेखिँदा समस्या सिर्जना भइरहेको बताउँदै आएको छ । उपभोग्य वस्तुको माग नै कम हुँदा समस्या सिर्जना भएको उद्यमी तथा व्यवसायीहरू बताउँछन् । जसकारण उद्योगहरूले आफ्नो आधा क्षमतामा मात्रै काम गर्दै आउनुपरेको छ ।
निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले काम गर्नुपर्ने जानकारहरू बताउँछन् । पछिल्लो समय बैंकरहरूले पनि सरकारले जसरी हुन्छ, निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले राष्ट्र बैंकले सबै नीतिहरूमा लचकता अपनाएको बताए । यहीकारण मौद्रिक नीतिको समीक्षा यथावत् आएको उनको भनाइ छ । सरकारले खर्च बढाउने र निजी क्षेत्रको मनोबल उकास्ने काम गर्न अग्रसर भए अर्थतन्त्र फेरि सही दिशामा अगाडि बढ्ने उनको भनाइ छ ।
नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले अहिलेलाई सरकारले निर्माण व्यवसायीको रकम भुक्तानीमात्रै गरे पनि सहज वातावरण सिर्जना हुने बताए । उनले भने, ‘निर्माण व्यवसायीको भुक्तानी सकेसम्म छिटो गर्नेतर्फ सरकार लाग्नुपर्छ । त्यसले एक किसिमको भाइब्स सिर्जना हुन्छ ।’ विभिन्न समयमा अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्रै निर्माण व्यवसायीलाई भुक्तानी गर्छौं भने पनि भुक्तानी भने हुने गरेको छैन । निर्माण व्यवसायीहरू सरकारसँग रुष्ट छन् । अहिले निर्माण क्षेत्रतर्फ लगानी हुनसमेत नसकिरहेको अवस्थामा सेयर बजारमा भने लगानी बढिरहेको छ । सेयर बजारमा मात्रै लगानी बढेर अर्थतन्त्र चलायमान नहुने भएकाले घरजग्गा तथा निर्माण क्षेत्रतर्फ लगानी बढाउनुपर्नेमा जानकारहरू जोड दिन्छन् ।
स–साना परियोजनामा सरकारले लगानी बढाउने र सडक विस्तारको काम निजी क्षेत्रलाई दिने हो भने पनि अर्थतन्त्रमा सुधार आउन सक्छ । थोरै खर्चमा बन्न सक्ने घर वा हाउजिङ निर्माणमा जोड दिन सकिएमा धेरै रोजगारी सिर्जना हुने र अर्थतन्त्र चलायमान बन्ने अवस्था आउँछ । काठमाडौं–पोखरा र पोखरादेखि अर्को स्थानसम्मको सडक विस्तारको काम निजी क्षेत्रलाई दिनुपर्ने कतिपयको सुझाव छ ।
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अहिले लगानी नभएको अवस्थामा वातावरण अनुकूल बनाउनका लागि स–साना परियोजनामा केन्द्रित हुनुपर्ने बताए । ‘ठूला परियोजनामा एकैपटक काम हुँदैन । साना परियोजनालाई छिटो सकाउने अवस्था सिर्जना भएमा अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ । प्रभावकारी ढंगबाट साना उद्योगधन्दालाई प्रश्रय दिएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।