हस्तकला उद्योग प्रवर्द्धनका उपाय
नेपालको हस्तकला उद्योगका वस्तु विश्वभर प्रसिद्ध छन् । हाल यहाँबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादन विभिन्न देशमा निर्यात गरिन्छ । सन् १९७२ देखि सन् १९८५ सम्म नेपाली हस्तकला उद्योगका सामान प्रचुर मात्रामा विदेशमा निर्यात गरिन्थ्यो । तर, हाल गुणस्तरयुक्त कच्चा पदार्थको कमीले गर्दा नेपाली हस्तकलाका उत्पादन मागअनुरूप अभिवृद्धि गर्न सकिएको छैन ।
उदाहरणका लागि विश्व बजारमा नेपाली पस्मिनाको धेरै माग छ । तर, यसका लागि आवश्यक कच्चा पदार्थको बेलाबेलामा अभाव हुनाले मागअनुसार उत्पादन गर्न सकिएको छैन । वनजन्य कच्चा पदार्थको ढुवानी, ओसारपसार आदिमा स्थानीय संकाय, समुदाय, प्रहरी आदिबाट बारम्बार गरिने अवरोधले यहाँको हस्तकला उद्योग प्रवद्र्धनमा नकारात्मक प्रभाव परेको छ । नेपालबाट नियात गरिने हस्तकलाका वस्तु उत्पादनका लागि सरकारले प्रोत्साहनको रूपमा दिँदै आएको रकम ज्यादै न्यून छ ।
आज विश्व प्रत्येक व्यापारका लागि इ–कमर्सतर्फ अग्रसर भइरहेको छ । किन्तु, नेपालमा हालसम्म पनि परम्परागत व्यापार गर्ने प्रणाली अपनाउनाले यहाँको हस्तकला उद्योगले खास गति लिन सकेको छैन ।
सरकारले मूल्य अभिवृद्धिका ऐन, २०५२ जारी गरेसँगै यहाँ उत्पादित हस्तकलाका वस्तुलाई कर छुट दिने निधो गरेको थियो । यद्यपि, उक्त निधोलाई आजसम्म पनि पूर्ण रूपमा लागू गर्न नसक्नाले यहाँको हस्तकला प्रवद्र्धनमा खासै प्रभाव परेको छैन । भविष्यमा उक्त निधोलाई व्यवहारमा उतार्न आवश्यक छ । नेपाली हस्तकला उद्योगको विकासका लागि तालिमप्राप्त कालिगढ तथा कामदारहरूको आवश्यकता पर्छ । जुन नेपालमा अभाव भएकाले छिमेकी राष्ट्र भारतबाट बारम्बार झिकाउनुपर्ने अवस्था छ । यहाँका युवालाई उक्त उद्योगमा आकृष्ट गर्न नसकिएकाले यस्तो अवस्था सिर्जना भएको हो । भविष्यमा उनीहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ ।
युवाहरूको सहभागिताबिना नेपाली हस्तकला उद्योगको ठोस विकास गर्न सम्भव छैन । उनीहरूलाई उक्त उद्योगमा आकर्षित गर्न नियमित रुपमा तालिम, गोष्ठी, कार्यशाला र प्रदर्शनीको आयोजना गर्न आवश्यक छ । योबाहेक हस्तकलासम्बन्धी चेतनामूलक वृत्तचित्र एवं श्रव्य–दृश्य सामग्रीहरू उत्पादन गरी व्यापक प्रचार–प्रसार गर्न पनि उत्तिकै जरुरी छ ।
वर्तमान शताब्दी प्रचार–प्रसारको युग हो, जसको माध्यमद्वारा यहाँका हस्तकलाका सामानको बिक्री वृद्धि भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । त्यसैले भविष्यमा प्रचार–प्रसारमा विशेष जोड दिनुपर्छ । नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि आगामी दिनहरूमा यहाँको निर्यात प्रवद्र्धन गर्न नितान्त आवश्यक छ । यसका लागि विगतमा यहाँको हस्तकला निर्यात गरिएका देशका उपभोक्ताको रोजाइअनुसारका हस्तकलाका वस्तुको उत्पादनमा विशेष जोड दिनुपर्छ । योबाहेक नयाँ मुलुकहरूमा पनि उक्त वस्तुको निर्यात गर्ने निरन्तर प्रयत्न गर्नुपर्छ ।
नेपाली हस्तकला उद्योगको विकासका लागि सम्बन्धित ऐन–नियमहरूले पनि महत्वपूर्ण भूमिका खेल्छन् । अतःएव उक्त उद्योगसँग सम्बन्धित विद्यमान ऐन–नियम, उद्योग व्यवसायसम्बन्धी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन, प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, आयकर ऐन, कम्पनी ऐन, विद्युतीय कारोबारसम्बन्धी ऐन, भन्सार ऐन, बिमा ऐन, विदेशी विनिमयसम्बन्धी ऐन आदिमा उल्लिखित कारोबारको प्रावधानबाट पर्न सक्ने असरहरूको विश्लेषण गरी संशोधनका लागि नेपाल हस्तकला उद्योग महासंघले सम्बन्धित क्षेत्रमा पहल गर्न अत्यावश्यक छ, जसको फलस्वरूप भविष्यमा उक्त उद्योगको प्रवद्र्धनमा ठूलो सघाउ पुग्नेछ ।
नेपालको हस्तकला उद्योगको विकासका लागि विशेषतः नेपाल हस्तकला उद्योग महासंघ जिम्मेवार छ । वास्तवमा कुनै पनि संघसंस्थाको अस्तित्व तब मात्र सार्थक हुन्छ जब त्यसले आफ्नो विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धित पक्ष तथा व्यक्तिहरूसँग सम्पर्क गरी आफ्ना काम गर्न गराउन सफल हुन्छ । तर, उक्त महासंघद्वारा यहाँको समग्र हस्तकला उद्योगका लागि हालसम्म पनि कुनै उल्लेखनीय कार्य हुन सकेको छैन । त्यसैले भविष्यमा यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।
नेपालको हस्तकला उद्योगको विकासका लागि सही तथ्यांकको ज्यादै आवश्यक छ, जसका लागि हस्तकला निर्माता, स्थानीय विक्रेता र निर्यातकर्ताहरूको बीचमा सक्रिय समन्वय हुनु जरुरी छ । यसका लागि उक्त महासंघले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ । नेपालमा हस्तकला उद्योगको ठोस विकास गर्न विद्यमान समस्याको पहिचान गरी समाधान गर्न आवश्यक छ । यसका लागि नेपाल हस्तकला उद्योग महासंघ र सम्बन्धित निकायहरूको सक्रिय सहयोगको खाँचो छ ।
वित्तीय पहुँच पुग्न नसकेको हस्तकला उद्योगबाट आर्थिक वर्ष २०७९-८० मा झन्डै २५ अर्ब रुपैयाँको कारोबार भई १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात गरिएको कुरा एक आधिकारिक तथ्यांकले पुष्टि गरेको छ । उक्त तथ्यांकले नेपाली हस्तकलाका वस्तुले यहाँको निर्यात व्यापार वृद्धि गरी व्यापारघाटा कम गर्न सघाउ पुर्याउने कुरा इङ्गित गर्छ । केही वर्षयता यहाँ हस्तकला उद्योग विस्तारित हुँदै गए पनि यसको समसामयिक प्रवद्र्धन गर्न नितान्त आवश्यक छ । यसबाहेक भविष्यमा नेपाल सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) कार्यक्रममा समावेश गरिएका हस्तकलाका वस्तुको प्रचारप्रसार गरी निर्यात व्यापार प्रवद्र्धन गर्न जरुरी छ । यसका लागि बेलाबेलामा स्वदेश तथा विदेशमा हस्तकलासम्बन्धी मेला तथा प्रदर्शनी सञ्चालन गर्न जरुरी छ ।
नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि हाल बागमती प्रदेशमा मात्र केन्द्रित उक्त उद्योग आगामी दिनमा अन्य प्रदेशमा पनि स्थापना गर्न आवश्यक छ, जसका लागि उपयुक्त ठाउँको छनोट गर्नुपर्छ । नेपालमा बेरोजगारी समस्या दिन–प्रतिदिन तीव्र रूपले बढिरहेको छ । त्यसैले प्रत्येक वर्ष यहाँका युवा रोजगारीका लागि बिदेशिने क्रम निरन्तर रूपले बढिरहेको छ । भविष्यमा यहाँका उपयुक्त ठाउँहरूमा हस्तकला उद्योग स्थापना गर्न सकेमा केही युवाका लागि मात्र भए पनि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने कुरा जगजाहेर छ, जुन कुरा सम्बन्धित पक्षले बुझ्नुपरेको छ ।
नेपाल एक अतिकम विकसित देश हो । यहाँका झन्डै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्, जसलाई बिहान–बेलुकाको हातमुख जोड्ने समस्या समाधान गर्न पनि धौधौ पर्छ । भविष्यमा यिनीहरूलाई हस्तकला उद्योगमा संलग्न गराउन सके यहाँ विद्यमान बेरोजगारी तथा गरिबी न्यूनीकरणमा सघाउ पुग्नेछ । नेपालको हस्तकला उद्योग धेरै वर्ष अघिदेखि प्रचलित भए तापनि सन् १९७५ देखि २००५ सम्मको आँकडा मनन गर्दा नेपाली हस्तकला उद्योगको निर्यात उल्लेख्य हुन थालेको देखिन्छ । सन् २००५ पश्चात् यहाँ विद्यमान विभिन्न परिवर्तन, नाकाबन्दी आदिका कारणले उक्त उद्योग केही खस्केको छ । हालसम्म पनि नेपालमा हस्तकला उद्योगका लागि आवश्यक माटोजन्य, वनजन्य र पशुजन्य कच्चा पदार्थहरू आवश्यकतानुसार सहजै प्राप्त गर्न सकिँदैन ।
नेपालबाट निर्यात गरिने हस्तकलाका सामानमा हालसम्म सरकारले दिँदै आएको नगद प्रोत्साहन निकै कम छ, जुन हालसम्म पनि नबढाइएकाले उक्त सामानको मागअनुसारको उत्पादन अभिवृद्धि गर्न सकिएको छैन । यसबाट यहाँको निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको छ । नेपालमा वन पैदावारबाट उत्पादन गरिने हस्तकलाका सामान उत्पादनका लागि प्रयोग गरिने वनजन्य कच्चा पदार्थको ओसारपसारका लागि स्थानीय निकाय, समुदाय र प्रहरी प्रशासनद्वारा हस्तकला उद्योगीलाई बेलाबेलामा दुःख दिन्छन् । यस्ता कुकृत्यबाट उनीहरू निरुत्साहित भएका छन् ।
नेपालमा हस्तकलाको प्रमुख समस्याको रूपमा ढुवानी रहँदै अएको छ । एकातर्फ उत्पादन बिन्दुबाट सीधै उपभोक्ताको बिन्दुसम्म खसाल्न नसक्नु र अर्कातर्फ उत्पादनसम्बन्धी प्रमाणित लिपिबद्ध लिखत उपलब्ध गराउन नसक्नाले यस्तो समस्या झेल्नुपरेको छ । हस्तकला उद्योगको विकासका लागि तथ्यांक एवं अनुसन्धानको आवश्यकता छ । परन्तु नेपालमा आजसम्म पनि यस सम्बन्धमा ध्यान नदिनाले यहाँ हस्तकला उद्योग अपेक्षाअनुरूप फस्टाउन सकेको छैन ।
नेपाली हस्तकला उद्योगमा प्याटेन्ट राइटको व्यवस्था छैन । तसर्थ, यहाँ उत्पादित हस्तकलाका सामानको नक्कल एवं चोरीबाट उक्त उद्योगका व्यवसायीहरू मारमा परेका छन् । यसबाहेक यहाँका हस्तकलाका सामानको उचित बजार मूल्यको कमी, हस्तकलाका सामानसम्बन्धी प्रभावकारी ऐन तथा नियमावलीको अभाव आदि कारणले स्थानीय बजारमा नकारात्मक प्रभाव परेको छ ।
सरकारले मूल्य अभिवृद्धि कर जारी गरेपछि यहाँ उत्पादित हस्तकलाका सामानलाई पनि कर छुट प्रदान गरेको छ । तर, यसलाई व्यवहारमा उतार्न सकिएको छैन । नेपालको हस्तकला उद्योगको प्रवद्र्धनका लागि एकातर्फ नयाँ देशहरूसँग व्यापार गर्न आवश्यक छ भने अर्कातर्फ धेरै वर्ष अघिदेखि निर्यात गरिएका देशहरूमा व्यापार बढाउन आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।
हस्तकला नेपालको प्रमुख निर्यातमूलक वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगमध्ये एक हो । हाल यहाँबाट वार्षिक अन्दाजी १२ अर्ब रुपैयाँ मूल्यको हस्तकलाको सामान विश्वका ६० भन्दा बढी देशमा निकासी हुन्छ । सोही रकम बराबरका सामान स्वदेशी बजारमा कारोबार भई उक्त उद्योगले यहाँको अर्थतन्त्रमा वार्षिक २४ अर्ब रुपैयाँको हाराहारीमा योगदान गर्दै आएको छ । यहाँको कुल निर्यातमा उक्त उद्योगको अंश ६ प्रतिशत छ । यहाँ हस्तकला उद्योगका सामान उत्पादनका लागि स्वदेशी कच्चा पदार्थको धेरै प्रयोग हुन्छ । परन्तु, केही हस्तकलाका सामान गुणस्तरीय बनाउन नसक्नाले आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन ।
आजकाल विदेशी लगानीबाट नवीन प्रविधि भित्र्याई यहाँ हस्तकला उद्योगबाट बढी लाभ लिन सकिने कुरा चर्चामा आएको छ । तर, हस्तकलाका सामान हातबाट बनाइने हुँदा ग्राहकहरू उच्च मूल्य तिर्न पनि तयार हुने कुरा बिर्सन हुँदैन । त्यसैले भविष्यमा यहाँको हस्तकला प्रवद्र्धनका लागि गहन अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।