Logo

नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु

काठमाडौं– नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रम सञ्चालन गरेको छ । यसै अन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ ।

सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरिएको हो । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु) सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन् ।

बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका, तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमशीलता सम्बन्धित तालिम प्रदान गरिसकेको छ ।

चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिलका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमश: दायरा विस्तार गरेको बताए । उनले बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए ।

अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको बताए ।

बैंकका सञ्चालक निर्वाण चौधरीले नबिलले सामाजिक उद्यमशीलतामा रुचि राख्नेलाई सधैं उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए । यस फेलोसिपमा सहभागीलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए । उनले ‘हामीले के गर्‍र्यौं ?’ भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको उनको प्रतिक्रिया छ ।

फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन–बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ । तीन महिनाको नबिल एसएसई सर्टिफिकेट कोर्सले सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै आएको ज्ञवालीले बताए ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु) का निर्देशक डा. गोविन्द तामाङले नबिलको यस्तो कदमले विश्वविद्यालय र कर्पोरेट क्षेत्रले कसरी समन्वय गरेर काम गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । यस्तो सहकार्यले विश्वविद्यालयलाई नयाँ पाठ्यक्रम निर्माण गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ ।

फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन् ।

कार्यक्रम मार्फत बैंकले हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरेको छ । तीमध्ये ४५ वटा उद्यम स्थापना भइसकेको नबिलले जनाएको छ । त्यस्तै एक हजार २०० भन्दा धेरैलाई रोजगारी उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्