Logo

३० प्रतिशत होटल आवासमा छुट

पर्यटन प्रवर्द्धन गर्न चितवनका व्यवसायी पोखरामा

पोखरा– पर्यटन प्रवर्द्धन गर्न चितवनका व्यवसायी पोखरा आएका छन् । चितवनको सौराहाबाट हात्ती तथा पर्यटन महोत्सवमा सहभागिताको निम्तो दिन व्यवसयी पोखरा आएका हुन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा पुष ११ देखि १५ सम्म महोत्सव हुदैंछ ।

पोखरासहित विभिन्न स्थानबाट महोत्सवमा सहभागी हुने पर्यटकहरुलाई २५ देखि ३० प्रतिशत होटल आवासमा विषेश छुट दिने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष ओम शर्माले बताएका हुन् । सौराह क्षेत्रमा एकै रातमा १८ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने गरी होटलहरू निर्माण भएको उनले दाबी गरे ।

कोभिडको कारण तीन वर्ष स्थगित भएको उक्त महोत्सव यस वर्षदेखि पुन: सञ्चालन हुने भएकोले तयारी स्वरुप टोली प्रचार अभियान तथा निम्तो दिन पोखरासहित देशका विभिन्न शहरमा निस्केको संघका सचिव महेश खनालले बताए । विश्व सम्पदामा सूचीमा सूचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुन्ज चितवन राष्ट्रिय निकुन्ज पर्यटकीय गन्तव्य मात्र नभई सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित रहेको उपाध्यक्ष शर्माले बताइन् ।

२०५५ सालबाट हात्ती महोत्सव सुरु भएको कार्यक्रम संयोजक रामकुमार अर्यालले बताए । हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग हुने भएको छ । सौराहालगायत चितवनका अन्य पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हुने उक्त महोत्सवले थप टेवा पुग्ने रत्न नगर पर्यटन परिषद्का अध्यक्ष भोजराज तिवारीले बताए ।

प्लाष्टिकजन्य पदार्थहरुलाई निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने वन्यजन्तु तथा वातावरण मैत्री स्टल र स्टेजहरू निर्माण गरिरहेको संघका सचिव खनालले बताए । महोत्सवअन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा करिब ८० वटा हात्ती सहभागी गराइने उनले जनाए । उक्त महोत्सव रत्ननगर–७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने भएको छ । रत्ननगर नगरपालिका महोत्सवको संरक्षकको रूपमा रहेको छ ।

त्यसैगरी संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्डको कार्यालय, भृकटी मण्डप र पर्यटन कार्यालय सौराहा महोत्सवको प्रवर्द्धकमा रहेका छन् । कार्यक्रममा नेपाल होटल संघ गण्डकीका अध्यक्ष हरीशर्मा गैरेले चितवन र पोखरामा हुने पर्यटकीय विभिन्न कार्यक्रममा दुई शहरबीच सहकार्य र समन्वय हुँदै आएको बताए ।

महोत्सवका आकर्षणमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा रेस प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग बि टु बि, चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तक्र्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृत्तिसहित झाँकी हुने भएको छ । त्यसैगरी महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्