Logo

दयनीय निर्यात

छिमेकी मुलुक भारतमा सबैभन्दा बढी निर्भर नेपालको निकासी व्यापार अझै फराकिलो बन्न सकेको छैन । एक वर्षबाहेक अहिलेसम्म निकासी व्यापारको आँकडाले २ सय अर्ब रुपैयाँ पार गर्न सकेको छैन । यही तथ्यांकले निकासी व्यापार कति साँघुरो छ भन्ने प्रस्ट हुन्छ । निर्यात व्यापार बढ्न नसक्नुको मुख्य कारण हामीसँग निर्यात योग्य वस्तु नै नहुनु हो वा पहिचान गर्न नसक्नु हो । विश्वको प्रतिस्पर्धी बजारमा हामीले कुन–कुन वस्तु बेच्न सक्छौँ, त्यसको अहिलेसम्म पहिचान गर्न सकेका छैनौँ ।

त्यही कारण निर्यातयोग्य वस्तु समय अन्तरालमा फेरिँदै आएका छन् । समयको माग र प्रविधिको विकासअनुसार निर्यात गर्ने वस्तु पनि फेरिनु स्वाभाविकै हो । तर, हामीले निर्यात गर्ने वस्तु प्रविधि र समयका कारण फेरिएको कम हो भने भारतीय र चिनियाँ नीतिले फेरिने धेरै हुन् । अर्को, एउटै वस्तुको निर्यात पनि कुनै वर्ष निकै कम छ भने कुनै वर्ष निकै उच्च । गत आवमा निर्यातको सूचीमा धेरै तल रहेको वनस्पतिजन्य तेलको निर्यात यो वर्ष उच्च दरले बढेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार कुल निकासीको करिब १० प्रतिशत हिस्सा भटमास, सूर्यमुखी फूल र पाम तेलले लिएका छन् । कात्तिकसम्म ३ अर्ब ४१ करोड रुपैयाँबराबरको भटमासको तेल निर्यात भएको छ भने १ अर्ब ५० करोडको सनफ्लावर तेल र ५२ करोड ५९ लाख रुपैयाँबराबरको पाम आयल निकासी भएको छ । गत वर्षको तुलनामा भटमासको तेल निर्यात २२६६.८ प्रतिशतले बढेको छ । सनफ्लावर तेलको निकासी वृद्धि १२०९.१ प्रतिशत छ ।

पाम आयलको निकासी भने ७२.१ प्रतिशतले घटेको छ । गत वर्ष निकासीको २८ औं सूचीमा रहेको भटमासको तेल निकासी अहिले चौथो स्थानमा आएको छ । यस्तै ३८ औं स्थानमा रहेको सनफ्लावर तेलको निकासी १२ औंमा आएको छ । गत वर्ष नवौं स्थानमा रहेको पाम आयल अहिले झरेर २० औं स्थानमा पुगेको छ । वनस्पतिजन्य तेल मात्र होइन, अन्य वस्तुको निर्यातको अवस्था पनि यस्तै छ । यो वर्ष चियाको निकासी ५८.५ प्रतिशतले बढेको छ । तर, आइरन एन्ड स्टिल प्रडक्ट र अलैंची निर्यात क्रमश: १९.८ र ११.८ ले घटेको छ ।

यस्तै जुस निकासी १६.७ प्रतिशतले घटेको छ । यस्तै ऊनी कार्पेट २.८ र तयारी पोसाक ९.२ प्रतिशतले घटेको छ । गत वर्ष घटेको धागो निर्यात यो वर्ष उत्साहजनक छ । यो चार महिनामा ८.६ प्रतिशतले बढेर धागो ४ अर्ब २१ करोडको निर्यात भएको छ । निर्यात सूचीमा देखिएको यो प्रवृत्ति तेस्रो मुलुकका लागि हुने निर्यातमा भने छैन । भारतबाहेकका तेस्रो मुलुकमा वर्षौंदेखि ऊनी गलैंचा, तयारी पोसाक, पस्मिना, हस्तकलालगायतका सीमित वस्तु निकासी भइरहेका छन् ।

तर, नेपालको मुख्य व्यापारिक साझेदार भारत र केही हदमा चीनमा निर्यात हुने वस्तु परिवर्तन भइरहेका छन् । त्यसमा पनि भारतमा बढी छ । २०४० को दशकमा भारत निर्यात हुने वस्तुमा जुट र जुटका सामानको अधिपत्य थियो । २०५० को दशकमा आउँदा वनस्पति घिउले यसको ठाउँ लियो । तर, यसको व्यापार पनि लामो समयसम्म रहेन । एक दशक नहुँदै यसको स्थान कपडा निर्यातले लियो । २०७० को दशकमा आउँदा फेरि जुट र जुटका सामग्रीको निकासी सबैभन्दा उच्च बन्यो ।

यो दशकको अन्त्यतिर पाम आयल र सोयाबिन आयलको निकासी उच्च रह्यो । अहिले यी दुई वस्तुको निकासी पनि क्रमश: पातलिँदै गएको छ र फलाम तथा फलामका उत्पादन बढी जान थालेका छन् । भारतमा हुने निर्यातमा आएको परिवर्तनको मुख्य कारण भारतको वाणिज्य तथा भन्सार नीति हो । भारतले जुन–जुन वस्तुमा भन्सार छुटलगायत अन्य सुविधाहरू दिन्छ, नेपालबाट तीनै वस्तु बढी निकासी हुन्छन् । भन्सार सुविधा नपाएपछि ती वस्तुको निर्यात घट्छ ।

अहिलेसम्म भएको यही हो । खासमा नेपालले निर्यातयोग्य वस्तु उत्पादन गर्न नसकेको परिणाम हो यो । विश्व बजारमा प्रतिस्पर्धा गर्न लायकका वस्तु उत्पादन गरेको भए भारतीय भन्सार नीतिमा मात्र निर्भर हुनुपर्ने थिएन । भारतमा समस्या आए तेस्रो मुलुकमा पठाउन सकिन्थ्यो । सरकारले निकासीजन्य वस्तुको सूची तयार नगरेको होइन, सूचीमै परेका वस्तुको निर्यात घटेबाट सरकारी नीति उदांगो भएको छ ।

प्रतिक्रिया दिनुहोस्