Logo

आईएसपीको आम्दानी बढ्दा दूरसञ्चार कम्पनीको घट्यो

काठमाडौं– मुलुकमा पछिल्लो समय इन्टरनेट प्रयोग बढ्दै गएकाले टेलिफोन उपयोग घटिरहेको छ । यही कारण इन्टरनेट सेवाप्रदायक (आईएसपी) को आम्दानी निरन्तर बढ्दै गएको छ भने दूरसञ्चार सेवाप्रदायक कम्पनीको आम्दानी घट्दो क्रममा छ ।

इन्टरनेटको पहुँच र प्रयोग बढ्दै जाँदा दूरसञ्चार कम्पनीको नेटवर्कबाट प्रत्यक्ष फोन र एसएमएस गर्ने क्रम घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत पाँच वर्षमा दूरसञ्चार क्षेत्रको आम्दानीमा गिरावट देखिएको छ । यही बेला आईएसपीको आम्दानीमा सुधार आएको छ ।
देशका दुई ठूला दूरसञ्चार कम्पनीहरूले मोबाइलमा इन्टरनेट सेवा प्रदान गरिरहे पनि उनीहरूको आम्दानीमा पहिलेको तुलनामा सुधार आउन सकेको छैन । सरकारी स्वामित्वको नेपाल टेलिकमले अन्य आईएसपीसरह फाइबर नेट उपलब्ध गराउँदा समेत आम्दानी बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०८०–८१ मा मुलुकका दूरसञ्चार कम्पनीहरुले ७१ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५–७६ मा यिनै दूरसञ्चार कम्पनीको आम्दानी ९२ अर्ब १२ करोड रुपैयाँ थियो । त्यसपछिका वर्षमा आम्दानी निरन्तर घट्दै आएको छ ।

आव २०७६–७७ मा ८१ अर्ब २० करोड आम्दानी भएकोमा २०७७–७८ मा ७५ अर्ब ७१ करोडमा झरेको थियो । आव २०७८–७९ मा सामान्य रूपमा बढेर ७७ अर्ब पाँच करोड पुगेको थियो । तर, आव २०७९–८० मा दूरसञ्चार सेवाप्रदायक कम्पनीको आम्दानी ४ अर्ब ७९ करोडले घटेर ७२ अर्ब ८४ करोडमा झरेको थियो ।
गत आवमा पनि ९४ करोडले आम्दानी घटेको छ । गत आवमा एनसेलले ३७ अर्ब ४४ करोड आम्दानी गरेको थियो भने नेपाल टेलिकमले ३४ अर्ब ४६ करोड आम्दानी गरेको तथ्यांक छ । यो तथ्यांकले टेलिकम कम्पनीहरूले सेवालाई विविधिकरण गर्न नसके भविष्य कठिन बन्ने संकेत गरेको छ ।

टेलिकम कम्पनीहरूको आम्दानी घटे पनि इन्टरनेट सेवाप्रदायकको भने उच्च दरले बढेको छ । इन्टरनेट तथा नेटवर्क सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७५–७६ मा १० अर्ब ८४ करोड रुपैयाँ थियो । यस्तो आम्दानी आव २०७६–७७ मा बढेर ११ अर्ब ३६ करोड पुग्यो । आव २०७७–७८ मा १५ अर्ब ४८ करोड र २०७८–७९ मा २१ अर्ब ३६ करोड आम्दानी पुगेको छ । यसैगरी आर्थिक वर्ष २०७९–८० मा इन्टरनेट कम्पनीको आम्दानी २१ अर्ब ३९ करोड रुपैयाँ पुगेकोमा २०८०–८१ मा २१ अर्ब ५१ करोड पुगेको छ ।

टेलिकम कम्पनीको आम्दानी घटे पनि प्रयोगकर्ता भने बढेका छन् । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६–७७ मा एक करोड ६२ लाख ८८ हजार भएकोे मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या आव २०८०–८१ मा तीन करोड १२ लाख नाघेको छ । यस्तै, फिक्स्ड अथवा इन्टरनेट कम्पनीबाट इन्टरनेट लिने प्रयोगकर्ताको संख्या पाँच वर्षको अवधिमा ४२ लाख एक हजारबाट बढेर एक करोड २३ लाख १२ हजार पुगेको छ ।

सूचना तथा सञ्चार प्रविधि विज्ञ मनोहर भट्टराईका अनुसार डेटा सेवाप्रदायकको आम्दानी बढ्दै जानु विश्वव्यापी ट्रेन्ड नै हो । उनले भने, ‘हाम्रै हातमा भएको मोबाइलबाट सिधा काम कति हुन्छ र इन्टरनेटमार्फत हुने काम कति हुन्छ ? त्यसबाटै टेलिकम कम्पनीको आम्दानी किन घट्दै गएको छ भन्ने प्रष्ट हुन्छ । अब टेलिकम कम्पनीहरुले पनि समयअनुसार आफ्ना सेवामा नयाँपन ल्याउनुपर्छ ।’

कुल आम्दानीमा गिरावट
आव २०७५–७६ मा इन्टरनेट तथा नेटवर्क र दूरसञ्चार सेवाप्रदायक कम्पनीको गरी दूरसञ्चार क्षेत्रको कुल आय १ खर्ब दुई अर्ब ९७ करोड १६ लाख रुपैयाँ थियो । पाँच वर्षपछि आर्थिक वर्ष २०७९–८० मा यो आय घटेर ९४ अर्ब २४ करोड १७ लाखमा झरेको छ । अघिल्लो आवसम्ममा यो आम्दानी थप ८२ करोडले कम भएको छ । प्राधिकरणका अनुसार यस अवधिमा दूरसञ्चार सेवाप्रदायकको आम्दानी निरन्तर घट्दै गएको छ । इन्टरनेट सेवाप्रदायक (आईएसपी) एवं नेटवर्क सेवाप्रदायकको आम्दानी भने निरन्तर बढ्दो छ ।

दुवै क्षेत्रमा प्रयोगकर्ता बढ्दै जाँदा र सेवा विस्तार थप हुँदा इन्टरनेट कम्पनीको आम्दानी बढे पनि टेलिकमको आय घट्दा समग्र दूरसञ्चार क्षेत्रको आय घटेको जानकारहरू बताउँछन् । टेलिकम कम्पनीले लाइसेन्स नवीकरण र अन्य सेवा शुल्क चर्काे तिर्नुपर्दा सेवा विस्तारमा समस्या भएर आम्दानी गुमाइरहेको दाबी गर्दै आएका छन् ।

यसकारण घट्यो आम्दानी
दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट र ओटीटीतिर ग्राहक सिफ्ट भएका कारण दूरसञ्चार कम्पनीहरूको आम्दानी बढेको हो । प्राधिकरणका अधिकारीहरू इन्टरनेटको बढ्दो प्रयोग र ग्राहक ओटीटी प्ल्याटफर्मतिर सिफ्ट भएका कारण दूरसञ्चार कम्पनीका प्रयोगकर्ता र बजार हिस्सा घट्दै गइरहेको बताउँछन् । यद्यपि, यसबारे ठोस अध्ययन भने भएको छैन । ‘ओटीटी प्ल्याटफर्ममा ग्राहक किन सिफ्ट भए र प्रविधिको विकासमा ती कम्पनीहरू कहाँ चुके भनेर आफैं समीक्षा गर्नु उचित हुन्छ,’ प्राधिकरणका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्