Logo

सडक महोत्सवमा होटल आवासमा २० प्रतिशत छुट

पोखरा– पोखरामा अंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सवमा होटल आवासमा २० प्रतिशत छुट हुने भएको छ । पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले हरेक नयाँ वर्षको अवसरमा सञ्चालन हुने सडक महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको पोखरा बसाइ लम्ब्याउन व्यवसायीहरु होटल आवासमा २० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा सञ्चालन हुने महोत्सव अवधिभर सो छुट लागू हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महोत्सवको अवसरमा होटल आवासमा छुटसहित विभिन्न पर्यटन सम्वद्ध संघ संस्थाले विशेष प्याकेज तथा छुट दिने महोत्सवका संयोजक विकास भट्टराईले बताए ।

महोत्सवमा नेपाली मौलिक खानाका परिकारको साथमा विभिन्न देशका खानासमेत उपलब्ध हुने छन् । रेवान पोखरामा आबद्ध करिब ९० वटा रेष्टुरेण्टले यसअघि दिँदै आएको १५ प्रतिशत छुटलाई यस वर्ष पनि निरन्तरता दिने भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडमा करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव हुने आयोजकको भनाइ छ ।

कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीलाई बजार, प्रचार प्रसार, व्यापार बढाउन, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने उद्देश्यले एउटै थलोमा सडक महोत्सव आयोजना गरिएको हो । महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्