Logo

सिटिजन्स बैंकको अगुवाइमा संखुवाखोला जलविद्युतको वित्त व्यवस्थापन

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा चार बैंकले ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजनामा लगानी गर्ने भएका छन् । सिटिजन्ससहित एभरेष्ट, नेपाल एसबिआई र सानिमा बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।

सोमबार प्रवर्द्धक कम्पनी गुराँस हाइड्रो एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना संखुवासभाको सिलिचोङ गाँउपालिका र भोजपुरको साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करिब ८ अर्ब २० करोडमध्ये बैंकहरुले ७५:२५ को ऋण: स्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट २ अर्ब ९० करोड, एभरेष्टबाट एक अर्ब २५ करोड, नेपाल एसबिआई बैंकबाट एक अर्ब २५ करोड र सानिमा बैंकबाट ७५ करोड लगानी हुनेछ । यसैगरी २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइने छ ।

परियोजना चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभास्थित सित्तलपाटी सवस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घण्टा र वर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्