Logo

१२ वर्षदेखि गाई, भैंसीपालन

मासिक दुई लाख आम्दानी

पर्वत– विगत १२ वर्षदेखि ब्यावसायिक रूपमा भैसीपालन गर्दै आएका बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । २०६९ सालमा घरमा भएको एउटा भैसीमाथि अन्य दुईवटा भैंसी थप गरी दूध बेच्न थालेका बस्नेतको बस्नेत पशुपालन फर्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैंसी र नौवटा गाई छन् ।

११ महिना सिंगापुर, ६ वर्ष साउदी अरब, त्यसपछि फर्किएर तीन वर्ष बागलुङ बजारमै व्यवसाय गरेका बस्नेतले पसल बेचेर पुन: विदेश नै जाने सोच बनाएका थिए । ठूलो लगानी गरेर जापन जाने आँट गरेका बस्नेतले सोचेजस्तो भएन । बेचिसकेको पसल र बिग्रिएको जापान जाने सपना भुलेर व्यावसायिक रूपमा गाइभैंसी पाल्ने सोचका साथ गाउँ छिरेका बस्नेतले त्यसयता कहिलै पछुताउनु परेको छैन ।

कुमारलाई उनकी श्रीमती ३८ वर्षीया अप्सराको दरिलो साथ छ । २० वटा गाइभैसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले सहजतापूर्वक गरिरहेका छन् । दैनिक एक सयदेखि १२० लिटरसम्म दूध उत्पादन गर्दै आएका बस्नेतले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिएका बस्नेतले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेका छन् ।

कुमारले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेका छन् । चैत वैशाखमा १२० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमै बिक्री हुने गरेको छ । गाउँमा बिक्री भएर रहेको दूध कुमारले कहिले स्थानीय डेरीलाई बेच्छन् कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेका छन् ।

दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डीसीआर डीसी बागलुङले अनुदानमा प्रदान गरेको डिप फ्रिजले निकै राहत पुगेको उनको भनाइ छ ।

बाआमाको पालामा एउटा भैसी पाल्ने र घरमै दूध खाने गरेको देखेका कुमारले वैदेशिक रोजगारीमा पाएको दु:ख बिर्साउन सुरु गरेको व्यावसायिक पशु पालनले खुसी दिएको भए पनि बेलाबेला आइपर्ने प्रक्रियागत समस्याले भने सताउने गरेको छ । बैंकबाट कृषि कर्जा भनेर लिए पनि जानकारी बिनै घटबढ हुने व्याजदरले भने सास्ती दिएको उनको भनाइ छ ।

तर पनि भेटेरिनरी अस्पताल, पशुलापक कृषकसँग काम गर्दै आएका सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी) र साना किसान सहकारी जस्ता संघसंस्थाबाट प्राप्त भएको प्रोत्साहनले कुमार खुसी छन् । गाइभैंसीलाई खुवाउने घाँस उत्पादनका लागि कुमारले फर्मकै वरिपरि ४० रोपनी जमिन भाडामा लिएर १५० केजीसम्म सुडान छर्ने गरेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको भए पनि लम्पी स्किन महामारीले तीनवटा गाई र एउटा भैसी मरेको उनले बताए । व्यवसाय विस्तारको क्रममा कुमारले फर्ममा ३० लाख रुपैयाँभन्दा बढी लगानी पुगिसकेको बताए ।

भारतको विहारदेखि एक लाख ३० हजार रुपैयाँसम्म तिरेर ल्याएका छाकमा १० लिटरभन्दा बढी दूध दिने गाईभैंसी कुमारको फर्ममा छन् । वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका कुमारले बजार व्यवस्थापन राम्रो भए विदेशमा भन्दा राम्रो आम्दानी आफ्नै देशमा गर्न सकिने अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्