Logo

तीन सातादेखि प्रतिष्ठानमा तालाबन्दी, समस्यामा विद्यार्थी

जुम्ला– पश्चिम नेपालकै स्वास्थ्य भरोसा केन्द्रका रूपमा रहेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत तीन सातादेखि तालाबन्दी छ । प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले स्तरवृद्धिको माग गर्दै गत मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनमा ताला लगाएका हुन् । पटकपटक आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारी वार्ता बसे पनि सहमति नजुट्दा ताला खोलिएको छैन ।

हाल प्रतिष्ठानका जिम्मेवार पदाधिकारी उपकुलपति र रजिष्ट्रार काठमाडौंमा छन् भने यता आन्दोलित कर्मचारीको आन्दोलन जारी रहँदा ताला खुल्ने टुंगो छैन । प्रतिष्ठानका पदाधिकारीले लोक सेवाको प्रक्रियाबाट बढुवा गर्ने अडान लिएका छन् भने कर्मचारीहरूले प्रतिष्ठानकै नियमनुसार बढुवा हुनुपर्ने माग राखेका छन् । दुवै पक्षका आ–आफ्नै अडानले प्रतिष्ठान अनिर्णयको बन्दी बनेको छ भने कर्मचारी र पदाधिकारीको अडानको चपेटामा विद्यार्थी परेका छन् ।

तीन सातादेखि प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवनमा तालाबन्दी हुँदा नियमित पठनपाठन मात्र ठप्प भएको छैन । मंसिर दोस्रो सातातिर परीक्षा भई बिदाई हुनुपर्ने बीएनएस तेस्रो वर्ष र बीएमएस तेस्रो वर्षका विद्यार्थीको फाइनल परीक्षा अझै हुन सकेको छैन । क्यालेण्डर अनुसार ढिलोमा मंसिर १८ गतेभित्र फाइनल परीक्षा सकेर जुम्लाबाट बिदाई भइसक्नु पर्नेमा हालसम्म वार्षिक परीक्षाको फारमसमेत नखुलेको र परीक्षा हुने टुंगोसमेत नहुँदा समस्यामा परेको प्रतिष्ठानका बीएनस र बीएमएस विद्यार्थीले गुनासो पोखेका छन् ।

सोमबार पत्रकार भेटघाटमा बिएनएस तेस्रो वर्षमा अध्ययनरत सुजिता शाहीले मंसिर १८ मै सकिनु पर्ने फाइनल परीक्षा लगायतका शैक्षिक कार्यक्रम अझै नहुँदा दोहोरो मर्कामा परेको बताइन् । अन्य कलेजका हाम्रै ब्याजका फाइनल परीक्षा सकेर सेवामा गर्न गइसकेका छन् । उनले भनिन्, ‘जुम्लाबाट पनि करिब नौ जना जागिर गर्न जानु पर्नेछ । अन्य विद्यार्थीको बोन्डिङको काम छ । तर प्रतिष्ठानमा तालाबन्दी भन्दै फाइनल परीक्षाको टुंगो छैन । यसले गर्दा आर्थिक र करियर दुवै नोक्सान भएको छ । चाडै परीक्षा हुनुपर्छ ।’

मंसिर १८ गते परीक्षाको फारमसमेत खुलाउन पत्र दिए पनि शिक्षाध्यक्षले तालबन्दी नखुलेसम्म केही भन्न नसकिने तर्क दिएको विद्यार्थी बताउँछन् । बीएनएस तेस्रो वर्षका १२ जना र बीएमएस तेस्रो वर्षका सातजना विद्यार्थी गरी १९ जनाको फाइनल परीक्षा कहिले हुने टुंगो नलाग्दा अन्योलमा परेका छन् । बीएमएस अध्ययनरत चण्डीका श्रेष्ठले आफ्नो स्तरवृद्धिका लागि आन्दोलनरत पक्षसँंग विद्यार्थीको कुनै सरोकार नभएको बताउँदै फाइनल परीक्षाको टुंगो लगाउनु पर्ने उल्लेख गरिन् ।

क्यालेन्डर अनुसारका सम्पूर्ण कार्य समापन भइसकेको छ । तर मंसिर १८ मै भइसक्नु पर्ने परीक्षाको कुनै सूचना प्रकाशत पनि भएको छैन । सम्पूर्ण विद्यार्थी अन्योलमा छौं । अहिले गएर फेरि फर्किने कि नफर्किने दोधार छ । परीक्षा फारम यथाशीघ्र खुलाई परीक्षा हुनुपर्ने हाम्रो माग छ,’ श्रेष्ठले भनिन् ।

प्रतिक्रिया दिनुहोस्