भूकम्प पीडितको गुनासो जस्ताको तस्तै

रामेछाप- भूकम्पपछिको पुनःनिर्माणको चार वर्ष बित्दा पनि रामेछाप जिल्लाका भूकम्प पीडितको गुनासो जस्ताको तस्तै रहेको सरोकारवालारुले बताएका छन् ।
जिल्लामा प्राप्त १८ अर्ब रुपैयाँ वास्तविक भूकम्प पीडितहरुले नपाएको गुनासो गरेका छन् । नेपाली कांग्रेसका जिल्ल सचिव लेखबहादुर कार्कीले वास्तविक भूकम्पपीडितले घर बनाउनका लागि पैसा नपाएको दावी गरे । उनले लाभग्राहीको सूचीमा नरहेकाले पीडितहरु अझै पीडामा रहेको बताए ।
पुनःनिर्माण प्राधिकरण जिल्ला सहजीकरण समिति रामेछापका संयोजक प्रेमबहादुर खड्काले पनि पछिल्लो समयमा प्रबलिकरणका नाममा भूकम्प पीडितलाई पुनःनिर्माण प्राधिकरणले हैरानी दिएको बताए ।
उनले भने, “जिल्लामा यति धेरै रकम त प्राप्त भयो तर अझै पनि वास्तविक पीडितहरु छुटिरहेका छन् ।”
नेकपाका नेता लव श्रेष्ठले प्राधिकरणअन्तर्गतका कार्यालयहरु कर्मचरीले प्रभावकारी रुपमा काम नगरेको आरोप लगाए । उनले वास्तविक पीडितहरु लाभग्राहीको सूचीमा नपर्नु दुखद भएको बताए ।
जिल्लामा निजी आवास पुनःनिर्माणतर्फ प्राप्त कुल १४ अर्ब ६८ करोड १७ लाखमध्ये १२ अर्ब ८८ करोड ८९ लाख खर्च भएको भएको छ । प्रबलिकरण तर्फ बिनियोजित ७४ करोड ६२ लाख रुपैयाँमध्ये २ करोड ५८ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । सडक निर्माण तथा मुआब्जातर्फ ५१ करोड ४१ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ ।
त्यसैगरि गुम्बा र खानेपानी पुनःनिर्माणका लागि ३३ लाख ३७ हजार ८ सय रुपैयाँ खर्च भएको छ । सरकारी भवन र स्वास्थ्य चौकी पुनः निर्माणका लागि ४ करोड ६० लाख ६१ हजार २ सय रुपैयाँ खर्च भएको छ । विद्यालय भवन निर्माणमा ९३ करोड ८२ लाख ३९ हजार ७ सय रुपैयाँ खर्च हुँदा कुल जिल्लाको लागि बिनियोजित बजेट १८ अर्ब मध्ये १४ अर्ब ८४ करोड ४ लाख ३ हजार ८ सय ७० रुपैयाँ खर्च भएको छ ।