गण्डकीमा पर्यटकका लागि नयाँ गन्तव्यको खोजी
पर्वत– गण्डकी प्रदेशका अधिकांश पदमार्ग र पर्यटकीय क्षेत्र मानव बस्ती, सडक र प्रदूषणले प्रभावित बन्दै गएका छन् । घुम्न मन पराउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या दैनिकजसो बढ्दै गएका बेला गण्डकी प्रदेशमा नयाँ गन्तव्यको खोज तथा अनुसन्धान गर्न थालिएको छ ।
टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले प्रदेशभित्रका विभिन्न जिल्लालाई समेटेर मानव बस्तीभन्दा टाढा रहेका, मनोरम र आकर्षक स्थानलाई समेटेर नयाँ पदमार्ग सहितको गन्तब्यको खोजी गरेको हो । टानले उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्य तथा सम्बन्धित स्थानीय सरकारको समन्वयमा पर्वत, कास्की र म्याग्दी जिल्लालाई समेट्ने गरी नयाँ गन्तव्यको पहिचान गरिरहेको छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिकाको भकताङ्लेदेखि सुरु भएर वडा नं. २ देउपुरको भमरकोट, वडा नं. ३ देउरालीको फलाटे, माटे हुँदै पर्वतको जलजलाको हम्पाल क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मोहोरेडाँडा, पुनहिल तथा कास्कीको ताप्राङ–वनठाँटीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ ।
नयाँपुल–ताङले–भुमरकोट–फलाटे–डाँडाकमेरे–थामाकोडिल–माटे–लजला–मोहरेडाँडा–ताप्राङ–बनठाँटी पदमार्गलाई प्रवर्द्धन तथा प्रचार प्रसारका लागि गत सोमबारदेखि बिहीबारसम्म चार दिने खोज तथा अनुसन्धान कार्यक्रम गरिएको हो । नयाँ गन्तब्यका लागि तीन रात चार दिनको खोज तथा अनुसन्धान गर्ने कार्यक्रम सम्पन्न भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
पहिलो दिन पर्वत र कास्कीको नयाँपुलदेखि सुरु भएको पदयात्रा पर्वतको पर्यटकीय गाउँ भुकताङ्ले, फलाँटे हुँदै डाँडाकमेरेमा पुगेर टुंगिन्छ भने दोस्रो दिन डाँडाकमेरेबाट सुरु भएको पदयात्रा माटेको लेक हुँदै जलजला पुगेर टुंगिन्छ । त्यसैगरी तेस्रो दिन जलजलादेखि सुरु भएको पदयात्रा म्याग्दीको मोहोरेडाँडा हँदै नयाँ गन्तव्यको रूपमा विकास भएको पर्वतको कोखेडाँडा पुगेर टुंगिन्छ भने चौथो दिन कोखेडाँडादेखि पुनहिल हुँदै कास्कीको ताप्राङ–बनठाँटी पुगेर टुंगिने आचार्यले बताए ।
यो पदमार्ग निकै शान्त, शुन्दर र मनोरम रहेको छ । जंगलैजंगलको यात्रा, विभन्न जडिबुटी र चराचुरुङ्गीको अध्ययन, कला संस्कृति र भेषभूषाको मनोरञ्जनका साथै अन्नपूर्ण, धौलागिरि, निलगिरि, हिमचुली लगायतका दर्जनौं हिमश्रृङ्खला आँखै अघि देखिनुका साथै सूर्योदय र सूर्यास्तसमेत नजिकबाट नियाल्न सकिन्छ ।
खोज तथा अनुसन्धानका लागि गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसँगै पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीसहित जनप्रतिनिधि, पर्यटन व्यावसायी र पत्रकारसहित ५४ जनाको टोलीले अध्ययन गरेर बिहीबार फर्किएको हो ।
विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गको वैकिल्पक पदमार्गको रूपमा विकास गर्नका लागि अध्ययन तथा अनुसन्धान थालिएको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले बताए ।
पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले आधारभूतस्तरको पूर्वाधार तयार भइसकेको र अब केही पदमार्ग र खानेपानी र होटलको सख्ंया थप गरेर नियमित रूपमा सञ्चालनमा ल्याउने बताए । ‘पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो,’ उनले भने, ‘कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।’
मनोरम हिमश्रृङ्खला, शुन्दर जंगल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ । २०६८ मा स्थापना भएको संस्थामार्फत् तत्कालीन जिल्ला विकास समिति, संघीतापछि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको गरी हालसम्म एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिए ।
पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थ्ति वाईफाई डाँडा र जलजलामा चिया पसल र रेस्टुराँ तथा सामुदायिक लज सञ्चालन भएका छन् भने अझै केही स्थानमा थप गर्नुपर्ने आवश्यकता देखिएको छ । सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना प्रचुर रहेको उनको भनाइ छ ।