Logo

विदेशमा कार्यरत ९२ प्रतिशतले जम्मा गर्दैनन् योगदान रकम

काठमाडौं– वैदेशिक रोजगारीमा जानुअघि सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका ९२ प्रतिशत श्रमिकले योगदान रकम नियमित जम्मा नगर्ने गरेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका लागि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका युवाले बाध्यता र औपचारिकताका लागिमात्र रकम जम्मा गर्ने गरेको देखिएको छ । हाल वैदेशिक रोजगारीमा रहेका १२ लाख २९ हजारमध्ये ९२ प्रतिशतले योगदान रकम नियमित गर्ने गरेका छैनन् । कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले सूचीकृत भएर वेदेशिक रोजगारीमा गएका मध्ये ८ प्रतिशत युवाले मात्र योजनामा नियमित योगदान रकम जम्मा गर्ने गरेको जानकारी दिए । यसलाई बढाउन विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

श्रमस्वीकृति लिनमात्र कोषमा रकम जम्मा गर्नुपर्ने बुझाइका कारण रकम नियमित हुने नगरेको हो । सामाजिक सुरक्षा योजनाको फाइदाभन्दा पनि श्रमस्वीकृति पाउन बाध्य भएर रकम जम्मा गर्ने गरेको जस्तो देखिएको छ । रोजगारीका लागि विदेश जाने अधिकांश युवाले विदेश पुगेपछि सामाजिक सुरक्षाको योगदान रकम नियमित नगर्दा सूचीकरण हुनेको संख्या औपचारिक श्रमिकभन्दा दोब्बर बढी भए पनि रकम संकलन भने न्यून छ । औपचारिक क्षेत्रका ५ लाख ४१ हजार श्रमिक योजनामा आबद्ध हुँदा साढे ६८ अर्ब रुपैयाँ योगदान रकम जम्मा भएको छ । जबकि वैदेशिक रोजगारीमा रहेका श्रमिक १२ लाख २९ हजार सूचीकृत हँुदा २ अर्ब ७६ करोडमात्र जम्मा भएको छ ।

वैदेशिक रोजगारीमा सूचीकरण भएका सबै श्रमिकले नियमित योगदान रकम जम्मा गर्ने हो भने मासिक २ अर्बको हाराहारीमा रकम संकलन हुने देखिन्छ । यो रकम वैदेशिक रोजगारीमा रहेका १२ लाख २९ हजार श्रमिकले मासिक २ हजार ३ सय ७ रुपैयाँका दरले जम्मा गर्दा आउने अनुमानित योगदान रकम हो । विदेशमा नै रोजगारीमा रहेका बेला आबद्ध हुने श्रमिकले भने नियमित योगदान रकम संकलन गरिरहेको कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाले श्रमस्वीकृति लिँदा सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने भए पनि अधिकांश युवालाई आफू योजनामा सूचीकृत भएको समेत जानकारी नै नभएको पाइएको छ । यसका लागि कोषले गन्तव्य देशको दूतावास र श्रमिकको गृहजिल्लाको स्थानीय तहमा जनचेतना कार्यक्रम गर्न थालेको छ । कोषले हालसम्म वैदेशिक रोजगारीमा धेरै गएका ५ जिल्लाका स्थानीय तहमार्फत परिवारलाई योजनाको महत्वका सम्बन्धमा चेतनामूलक कार्यक्रम गरेको छ ।

श्रमस्वीकृति लिँदा बीमा, कल्याणकारी कोषमा रकमजस्तै सामाजिक सुरक्षामा पनि रकम जम्मा गर्नुपर्छ भन्ने थाहा नहँुदा रकम नियमित नभएको हुन सक्ने कोषको अनुमान छ । कतिपय युवाले श्रमस्वीकृति सेवा आफू स्वयंले नलिने र बिचौलियामार्फत गर्ने गरेका कारण पनि आफू सामाजिक सुरक्षा योजनामा आबद्ध भएको थाहा नहुने गरेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई सरोकारवाला निकाय सरकार, मेनपावर तथा वैदेशिक रोजगार विभागले जनचेतना दिन नसक्दा रकम जम्मा नभएको हो ।

वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला र नवीकरण गर्ने बेला योजनामा समावेश हुनुपर्छ । नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सक्छन् । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । योगदान रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसबाट रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्