Logo

हर्जाना तिराएर ग्वार्को ओभरपास बनाइँदै

काठमाडौं– सम्झौता अवधि पूरा भएर एक वर्ष समय थप्दा पनि ललितपुरको ग्वार्कोमा ओभरपास निर्माण पूरा नभएपछि सरकारले निर्माण कम्पनीलाई हर्जाना तिराउने भएको छ । थपिएको समय यही पुस ८ मा सकिँदैछ । यो समयमा निर्माण नसकिए ९ गतेबाट कम्पनीले हर्जाना तिर्नु पर्नेछ ।

सडक विभागका निर्देशक प्रभातकुमार झाका अनुसार पुस ९ गतेबाट ‘लिक्युडिटी ड्यामेज’ बापत हर्जाना लाग्नेछ । ठेक्का रकमको ०.०५ प्रतिशत हर्जाना तिराउने निर्णय भएको उनले जानकारी दिए । ग्वार्को ओभरपास १७ करोड ६ लाख रुपैयाँमा बनिरहेको आयोजना हो ।

निर्माण कम्पनीले पछिल्लो समय आगामी चैतभित्र काम सक्ने कार्ययोजना पेश गरेको छ । सम्झौताअनुसार दुई वर्षमा काम सक्नुपर्ने हो । तर, एक वर्ष समय थप्दा पनि आयोजनाको भौतिक प्रगति ८२ प्रतिशतमात्र पुगेको छ । गएको आर्थिक वर्षभित्रै पूरा गर्ने लक्ष्य रहेकोमा हालसम्मको प्रगति हेर्दा थप भएको म्यादमा पनि पूरा नहुने देखिएको छ ।

गत असोज दोस्रो साताको भारी वर्षाका कारण कामले गति लिन नसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले बताएको छ । तर, अहिले पनि कामको गति सुस्त नै छ । ओभरपास बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ । पछिल्लो समय भने ओभरपासमा जाने एप्रोच सडक र आइरन वाल निर्माण भइरहेको निर्देशक झाले बताए । उनले भने, ‘पछिल्लो समय थप गरिएको म्याद आगामी पुस ८ गतेसम्म छ । सोही अवधिमा निर्माण पूरा गर्ने लक्ष्य राखेर अहिले काम भइरहेको भए पनि निर्माण कम्पनीले चैतभित्र पूरा गर्ने कार्ययोजना पेस गरेको छ ।’

गएको आर्थिक वर्षभित्रै ओभरपासमा सवारीसाधन गुडाउने लक्ष्य सरकारको थियो । त्यो समयमा पूरा हुन नसकेपछि पुससम्मको समय थपियो । अब यो समयमा पनि पूरा नहुने भएपछि चैतको लक्ष्य राखिएको छ । ओभरपासको लागि कोटेश्वरतर्फ पर्खाल बनाउने कामको प्रगति सुस्त भए पनि अन्य पूर्वाधारको काम भइरहेको केन्द्रको दाबी छ । र्‍याम रिस्टल गर्नुपर्ने भएकाले पनि समय लागेको केन्द्रले जनाएको छ । निर्देशक झाका अनुसार वर्षाका कारण सातदोबाटोतर्फको र्‍याम पुनः रिस्टल गर्नुपर्ने प्रक्रियामा रहेको छ । थप केही समय लाग्ने देखिएको भए पनि पुस ९ गतेबाट ‘लिक्युडिटी ड्यामेज’ बापत हर्जाना लाग्ने भएकाले निर्माण कम्पनीले पछिल्लो समय पेश गरेको कार्यायोजनाभित्र निर्माण सम्पन्न हुने निर्देशक झाको भनाइ छ । सम्झौता हुँदा तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । म्याद थप गरेर २०८१ पुससम्म कायम गरिएको केन्द्रले जनाएको छ । ग्वार्कोमा ओभरपास निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद गएको फागुनको १२ गतेसम्म थियो ।

ग्वार्को ओभरपास इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको हो । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको केन्द्रले जनाएको छ ।

ग्वार्को चोकमा ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण हुँदै गरेको हो । ग्वार्को ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

ग्वार्को ओभरपास निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म र्‍याम उठाइने छ । यसको फुल डेप्थ टेम्पोररी केसिङमा पाइल निर्माण गरी सिंगल स्प्यान (प्रिकास्ट प्रिस्ट्रेस्ड पोस्ट टेन्सनिङ गर्डर ब्रिज) को ओभरपास, यान्त्रिक रूपमा स्थिर (मेकानिकल्ली स्टेबलाइज अर्थ) प्रविधि सहितको वाल बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्‍याम निर्माण गरिने छ ।

१.५ मिटरको ब्यास र ३४ मिटर लम्बाइ भएका ४–४ वटा पाइल भएको ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो । ओभरपास र्‍यामको लम्बाइ ५ सय ५ मिटर, ३६ मिटर पुल गरी कुल ५ सय ४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ । ३० मिटर स्पानको ४ लेनको पुलसहितको ओभरपास निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्