Logo

अनुदान दिए मात्र बिआरआईअन्तर्गतका आयोजना बनाउने: कांग्रेस

काठमाडौं– सत्तागठबन्धनको ठूलो दल नेपाली कांग्रेसले बिआरआई फ्रेमवर्कअन्तर्गत अनुदान आउने परियोजनाहरू मात्र अघि बढाउने जनाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बिआरआई अन्तर्गत परेका आयोजनाहरुमध्ये चीनले जुन आयोजनाका लागि अनुदान दिन्छ त्यो परियोजनामात्रै नेपालमा अघि बढ्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कार्यसम्पादन समिति बैठकमा बिआरआईका विषयमा कुरा उठेको थियो । उनले पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने भनेअनुसार चीनबाट आएको प्रस्तावमा सरकार र कांग्रसबीच छलफल गरेर प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला अनुदान सहयोग लिने गरी चीन सरकारसँग प्रस्ताव गरिएको बताए ।

प्रवक्ता महतले भने, ‘बिआरआई फ्रेमवर्कअन्तर्गत १० परियोजना सूची छन् । जुनमा अनुदान दिन चीन तयार हुन्छ त्यो परियोजना मात्रै सम्झौता हुन्छ र अघि बढ्छ, ऋण लिँदैनौं ।’ नेपालले बिआरआई अन्तर्गत ऋण लिँदैन भन्ने कुरा चीनले पनि बुझिसकेको महतको धारणा छ ।

‘ऋण लिएर बनाएका परियोजना फलदायी भएनन् भन्ने हाम्रो निष्कर्ष छ । अनुदान नै लिने हो ऋण होइन,’ महतले भने, ‘प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले पनि चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग कुरा राख्नु भएको छ । चीनले पनि नेपालले ऋण लिँदैन भन्ने कुरा बुझेको छ ।’ नेपालले प्रधानमन्त्री ओलीको मंसिर १७ देखि भएको चार दिने चीन भ्रमणका क्रममा प्रस्ताव गरेका १२ मध्ये २ वटा हटाएर फ्रेमवर्क अन्तर्गत १० परियोजना अघि बढाउने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्