Logo

अधिकांश योजना अलपत्र

सम्झौतापछि थेगिमको लापरबाही

धनगढी– सरकारी योजना निर्माणका लागि ठेक्का सम्झौता गरेपछि थेगिम कन्स्ट्रक्सनले लापरबाही गरेको भेटिएको छ । सम्झौतापछि अलि–अलि काम गर्ने र भुक्तानी पाइसकेपछि काम नै नगर्ने कन्स्ट्रक्सनको रूपमा धनगढी–४ को थेगिम रहेको छ । धनगढीका ठेकेदार सुनिलकुमार थापा सञ्चालक रहेको थेगिमले कैलालीमा अलपत्र पारेको ठेक्कामध्ये सेती प्रादेशिक अस्पतालको भवन, गोदावरीको माला खेती–ओलानी–बाँन्द्रेखाल–फल्टुडे सडक, कैलारी गाउँपालिका–३ मा पर्ने सुमी नाला पुल यसको ज्वलन्त उदाहरण हुन् ।

सञ्चालक थापा र एक जना सरकारी कर्मचारीले थेगिमको ठेक्का सम्बन्धी काम सम्हाल्दै आएका छन् । २८ कार्तिक २०७४ मा संघीय आयोजना कार्यान्वयन इकाईबाट रविना निर्माण सेवासँग जेभि गरी सेती प्रादेशिक अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको थेगिमले अझै पनि निर्माण सम्पन्न गरेको छैन । जसले गर्दा सेती अस्पतालको सेवा विस्तार र नयाँ भवन निर्माण गर्ने योजना कार्यान्वयनमा बाधा पुगेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाईले थेगिमलाई सेती प्रादेशिक अस्पतालको भवन निर्माणका लागि पाँच पटक म्याद थप गरिसकेको छ । चरम लापरबाही गरी सेती प्रादेशिक अस्पतालको निर्माणाधीन भवन अलपत्र परेको थेगिमले लामो समयदेखि काम गरिरहेको छैन । १८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २८ कात्तिक २०७४ मा रविना–थेगिम जेभीसँग सम्झौता गरेको थियो ।

सम्झौताको सर्तअनुसार काम भएको भए २०७७ वैशाखमै भवन निर्माण भइसक्थ्यो । रविना–थेगिम कन्स्ट्रक्सनको जेभीले ठेक्का पाए पनि काम भने थेगिमले गरिरहेका छ । निर्धारितभन्दा झण्डै तीन गुणा समयसम्म काम नगर्दासमेत निर्माण कम्पनीलाई सरकारले कारबाही गर्न सकेको छैन । भवनको संरचना तयार भए पनि झ्याल–ढोका लगाउने, टायल–मार्बल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, पानी र बिजुली जडानको काम बाँकी छन् ।

थेगिमले सुदूरपश्चिम प्रदेश सरकारका योजनाहरू ठेक्का लिएर समयमा काम गरेको छैन । गोदावरी नगरपालिकाको कृष्णमन्दिरदेखि बान्द्रेखाल सडकको ३ नम्बर वडामा पर्ने कृष्ण मन्दिर–खमौरा खण्डको ठेक्का एडभेन्चर कन्स्ट्रक्सनसँगको ज्वइन्ट भेन्चर (जेभि) मा थेगिमले अझैसम्म काम पूरा गर्न सकेको छैन । सो अढाई किलोमिटर खण्ड कालोपत्रे गर्न २०७७ साउन २४ गते १८ महिनामा काम सक्ने गरी लिएको ठेक्कामा आधा पनि काम भएको छैन ।

पूर्वाधार विकास कार्यालयका साइड इञ्चार्ज सव इञ्जिनियर जितेन्द्र धामीका अनुसार चार वर्षमा सो सडक निर्माण कार्य ४० प्रतिशत मात्रै भएको छ । उनले सबबेस हाल्नेसम्मको काम भएको बताए । सडकको संरचनाहरू निर्माण, बेस हाल्ने र कालोपत्रे गर्ने लगायतका कामहरू बाँकी रहेको उनले बताए । नौ करोड ३९ लाख रुपैयाँ लागत अनुमान रहेको योजनाको ठेक्का थेगिमले पाँच करोड ८४ लाख रुपैयाँमा कबोल गरेको थियो ।

ठेक्का लगाउने पूर्वाधार विकास कार्यालय कैलालीले थेगिमलाई सो ठेक्कामा माग गरेवापत् तीन करोड २० लाख ९४ रुपैयाँ भुक्तानी दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सो सडकको काम सकाउनका लागि दिएको अन्तिम म्याद गत असार २५ मा सकिएको छ । अलि अलि काम गरेजस्तो गर्ने आयोजना कार्यालयबाट भुक्तानी लिई अलपत्र पार्ने गरेको थेगिमले सडकमा माटो फिलिङ र ग्राभेल बिछाउने बाहेकको काम नगरेको स्थानीयले जनाएका छन् ।

स्थानीय कृष्णबहादुर विकले कृष्ण मन्दिरदेखि खमौरासम्मको सडकमा ठूल–ठूला खाल्डाखुल्डी रहेको बताए । उनले धेरै समयदेखि कामसमेत नगरेको जानकारी दिए । थेगिमले पूर्वाधार विकास कार्यालय कैलालीबाटै कैलाली गाउँपालिका–३ मा पर्ने सुर्मीनालामा पुल बनाउने ठेक्का २०७७ साउन १८ गते लिएको थियो । १८ महिनामा पुल निर्माण गरी सक्ने गरी लिएको ठेक्काको काम शुरुआती चरणमै छ । आठ करोड एक लाख ६ हजार रुपैयाँ लागत अनुमान रहेको पुल योजनाको ठेक्का चार करोड ९३ लाख रुपैयाँमा कबोल गरेको थेगिमले तीन करोड ६१ लाख रुपैयाँ भुक्तानी लिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले थेगिमलाई पुल निर्माणको लागि थपेको अन्तिम म्याद गत असार ३१ गते सकिएको छ । तर, चार वर्षमा पुल निर्माण कार्य ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयका सव इञ्जिनियर देवी बलायरले बताइन् । २६ मिटर लम्बाइ रहेको सो पुल निर्माण गर्ने जिम्मेवारी लिएको थेगिमले पुल निर्माणको योजना अलपत्र पारेर सम्पर्क विहीन भएको छ । ‘वैशाख जेठ तीर काम गरेजस्तो गर्नुहुन्छ,’ बलायरले भनिन्, ‘त्यसपछि सम्पर्कमै आउनु हुन्न ।’

थेगिम कन्स्ट्रक्सनका सञ्चालक थापा र थेगिमले लिएका ठेक्कामा काम गर्ने हरिहर पन्तले फोन नउठाउने गरेको उनले बताइन् । पेश्की भुक्तानी लिएर काम नगर्ने र थप भुक्तानी लिनको लागि काम गरे जस्तो देखाउन पन्त समय– समयमा साइडमा आउने गरेको योजना निर्माणका लागि खटिने सरकारी कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्