अन्नपूर्ण चक्रीय वैकल्पिक पदमार्ग सञ्चालन
पर्यटकको आकर्षण बढ्दै
पर्वत– विश्वकै १० उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गमा सडक विस्तार भएपछि सञ्चालनमा आएको वैकिल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ । कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्ग सञ्चालन गरिएको हो ।
नयाँपुलदेखि पर्वतको मोदी र जलजला जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पर्यटकको आकर्षण बढेको स्थानीय पर्यटन ब्यवसायी बताउँछन् । विशेषगरी युरोपियन, कोरियन, अस्टे्रलियन, जर्मन तथा रसियन पर्यटकले यो रुट प्रयोग गर्न थालेका छन् भने आन्तरिक पर्यटकसमेत उत्तिकै मात्रामा बढेको होटल खड्का भिलेजका सञ्चालक रनबहादुर खड्काले जानकारी दिए ।
विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले आधारभूत स्तरको पूर्वाधार तयार भएपछि यस वर्षदेखि निरन्तर सञ्चालनमा आएको जानकारी दिए ।
‘पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो,’ उनले भने, ‘कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।’ मनोरम हिमश्रृङ्खला, शुन्दर जंगल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ ।
वि.सं २०६८ मा स्थापना भएको संस्थामार्फत् तत्कालीन जिल्ला विकास समिति, संघीतापछि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको गरी हालसम्म एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिए ।
ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको छ । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएको छ । हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष वि.सं. २०८१/०८२ मा ३० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । उक्त पदमार्गलाई ब्यवस्थित बनाउनका लागि आगामी बजेटमा समेत प्राथमिकता दिने उनको भनाइ छ ।
यो पदमार्गले पर्वतको मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छ भने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।
दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजंगलमा विभिन्न प्रजातिका जडिबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ । पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थ्ति वाईफाई डाँडा र जलजलामा चिया पसल र रेस्टुराँ तथा सामुदायिक लज सञ्चालन भएका छन् ।
पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ । पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा टे्रकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग विस्तार, खोज तथा अनुसन्धान गर्दै आएको छ । जसमा पर्वतको मोदी र जलजला, कास्की र म्याग्दीमा पर्ने दुईवटा अन्नपूर्ण गाउँपालिकाले समेत सहकार्य गरेका छन् ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अन्नपूर्ण चक्रीय पदमार्गमा सडकका कारण पर्यटकको पदयात्रा छोटिँदै गएका बेला नयाँ पहिचान भएको पदमार्गलाई प्रवर्द्धन गर्नुपर्ने र यसतर्फ पर्यटकको आकर्षण बढाउनुपर्ने अवस्था रहेको छ । पदमार्गमा ठाउँठाउँमा खानेपानीको व्यवस्थापन चिया तथा चेमना गृह, होटल तथा रेस्टुराँ थप गर्नुपर्ने अवस्था रहेकाले गण्डकी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण चक्रीय पदमार्गको महत्त्वपूर्णस्थल नयाँपुल र घोडेपानीलाई जोड्ने यो पदमार्गमा पर्यटक भित्र्याउनका लागि चार दिने पदयात्रा आयोजना गरेर प्रचारप्रसार, प्रवर्द्धन र विस्तारमा लागेको बताए । मन्त्रालय, टान गण्डकीसहित सरोकारवालसहित ५० जनाको टोली अहिले पदयात्रामा रहेको छ । सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए ।
पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना प्रचुर रहेको उनको भनाइ छ । प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणासमेत गरेको छ । सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन् ।