Logo

आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई ठेक्का तोडने चेतावनी

वीरेन्द्रनगर– चार वर्षदेखि लिएको ठेक्काको काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय, जाजरकोटले ठेक्का तोडन अन्तिम पत्र लेखेको छ । पटकपटक काममा फर्कन आग्रह गर्दा पनि निर्माण व्यावसायी सम्पर्कमा नआएपछि किन ‘ठेक्का नतोडने’ भन्दै अन्तिम पत्र लेखेको हो ।

२०७८ साउन २९ गते लिएको ठेक्काको काम हालसम्म कुनै पनि नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर चेतावनी दिँदै स्पष्टीकरण माग गरेको कार्यालय प्रमुख इन्जिनियर भुपेन्द्रप्रसाद जैसीले बताए । २०७८ साउन २९ गते बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२ बाँकेलाई अन्तिम पत्र लेखेर स्पष्टीकरण सोधिएको छ ।

२०७८ साउन २९ गते लगाएको छेडा–कचाली–जुम्ला सडक खण्डको छेडागाड नगरपालिकाको साल्म खोला मोटरेबल पुल निर्माण गर्नका लागि नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२ बाँकेलाई नै अर्को पत्र काटिएको छ । त्यस्तै २०७८/०६/१८ लागेको कालिमाटी–खाल्चौर–नेटिलेक सडक खण्डको सक्लाखारी बयाले लिम्सा सडकको काम अमर–सिस्ने जेभी, नेपालगन्ज–२, बाँकेलाई अन्तिम पटक स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरी सम्पर्कविहीन रहेको र लामो समयदेखि निर्माणस्थलमा कुनै पनि निर्माणका कार्य गरिरहेको नपाइएको सन्दर्भमा कार्यालयद्वारा विभिन्न मितिमा तोकिएको सम्झौता अवधिभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदासमेत कार्य सम्पन्न गर्न अटेरी गरेको र विभिन्न मितिमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा निर्माण कार्य सम्पन्न गर्ने विषयमा छलफल गर्न कम्पनीको मुख्य ब्यक्तिलाई बोलाइएकोमा उक्त बैठकमा समेत सहभागी नभई अटेरी गरेको विषयमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै सम्झौताअनुसारको कार्य सम्पन्न नगर्नुका साथै निर्माण कार्य अलपत्र पारी चरम लापरबाही गरेको र आफैले पेस गरेको कार्य तालिका अनुसारको प्रगति नगरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र ठेक्का सम्झौताका शर्त र प्रचलित कानुनबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै उचित कारण भएमा प्रमाणसहित स्पष्टीकरण पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ भनी चेतावनी दिइएको छ ।

समयमा स्पष्टीकरण पेस नगरेमा वा स्पष्टीकरणमा ठेक्का अन्त्य नगर्नुपर्ने भनी पेस भएको प्रमाण वा कारण उचित नपाइएमा ठेक्का सम्झौताका शर्त र प्रचलित कानुनबमोजिम सम्बन्धित निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाइने बेहोरा यसै सूचनामार्फत् जानकारी गराइन्छ पत्रमा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मन्त्रीले छलफलका लागि बोलाउँदा समेत बैठकमा नआएर अटेर गरेको समेत आरोप लगाएको छ । तीन वटा ठेक्काका काम अलपत्र पार्ने निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको विकास निर्माणमा समस्या पर्दै आएको छ । जाजरकोटमा अलपत्र पाँचवटा आयोजनामध्ये तीन वटालाई स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया दिनुहोस्