Logo

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीचको भेटमा आर्थिक सहायता बढाउनेबारे छलफल

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो ।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका छन् । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एशियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीचको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माले एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट नेपालमा सञ्चालित विभिन्न योजनाहरुलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए ।

उनले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा सुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताए । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्