Logo

महोत्सवमय मधेश

करोडौंको व्यापार, उत्साहित व्यवसायी

बारा– विवाह पञ्चमी र गढीमाई मेला भर्न आएका आन्तरिक र विदेशी पर्यटकले मधेश महोत्सवमय बनेको छ । जनकपुरमा विवाह पञ्चमी र बारामा गढीमाई मेला अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि आएका पर्यटकको भीडले मधेश प्रदेश महोत्सवमय बनेको हो ।

सिरहा, धनुषा र महोत्तरीतर्फ विवाह पञ्चमीले र रौतहट, बारा र पर्सामा गढीमाई मेलाले भिडभाड बढाएको छ । मानिसको चहलपहलसँगै बजारमा पनि चाप बढेको छ । ‘मधेश प्रदेश यतिबेला देशविदेशबाट आएका धार्मिक पर्यटकको भीडले महोत्सवमय बनेको छ,’ नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले भने, ‘महोत्सवले देश चिनाउने हुँदा यसको व्यवस्थापनमा तीनै तहका सरकारको भूमिका प्रभावकारी हुन्छ । दुई मेलाले गर्दा यस क्षेत्रको अर्थतन्त्र चलायमान बनेको छ ।’ महोत्सवले यहाँको रैथाने उत्पादन तथा कलासंस्कृतिको देशविदेशमा बजारीकरण भएको बताउँदै उनले मेलाको भव्यतासँगै उत्पादनको प्रचारप्रसार र बजार सुनिश्चित गर्न अवसर मिलेको धारणा राखे ।

महोत्सवमा निजी क्षेत्रका उद्यमीहरुले आफ्नो सामाजिक उतरदायित्वसँगै व्यापार प्रवद्र्धनसमेत गर्ने हुँदा उत्पादनको बलियो प्रचार उपभोक्तामा सोझै पुग्ने र मेला–महोत्सव व्यापारीको लागि अवसर बनेको गढीमाई मेला मूल व्यवस्थापन समितिका आर्थिक संयोजक विरेन्द्र राउतले बताए । ‘मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा बलि दिने समय २१ देखि २५ गतेसम्म हो । यो समयमा लाखौंको भीड हुन्छ,’ राउतले भने, ‘यो समयमा करोडौंको व्यापार हुन्छ । हिसाबै गर्न सकिँदैन,’ उनले भने ।

मधेश प्रदेशका यी दुई महोत्सव धार्मिक नभई आर्थिक र सामाजिक भीड हुने गरेको छ । सीमावर्ती भारतका आफन्त, नातागोता, साधुसन्त, नेता, उद्यमी, राजनीतिकर्मीको भेटघाट चिनजान हुने अवसर महोत्सव बन्ने गरेको छ । दुवै धार्मिक महोत्सव भएकाले पूजापाठका सामग्रीको अत्यधिक माग र खपत हुने गरेको बताउँदै उद्योग वाणिज्य संघ विरगञ्जका अध्यक्ष अनिल अग्रवालले महोत्सवमा मुलुकका सबैखाले उत्पादनको बजार र प्रचार बलियो हुने बताए । दुवै महोत्सवमा भारतबाट आएका सवारीसाधनको सहज प्रवेश बनाइएको छ भने प्रदेश तथा स्थानीय सरकारले सडक उपयोग शुल्क मिनाहा गरेका छन् । महोत्सव अध्ययन गर्न आएका अनुसन्धानकर्ताहरुले मिथिला परम्परा र गढीमाईको तान्त्रिक विधिका पूजाहरु नजिकबाट नियाल्ने अवसर पाउनेछन् ।

परम्परागत झकिझकाउ, रैथाने उत्पादन, सस्तो तथा सहज किनमेल मेलाका आकर्षण रहेका छन् । महोत्सवले मधेशको लहान, लालबन्दी, निजगढ, जितपुरमा पशुपन्छीको ठूलो व्यापार हुने गरेको छ भने विरगन्ज, कलैया, पथलैया, चन्द्रपुरलगायत राजमार्गमा रहेका सबै प्रकारका होटल तथा बजार व्यस्त बनेका छन् । धार्मिक महोत्सवलाई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम र आकर्षक गन्तव्यको रुपमा विकास गर्न पछिल्लो समय सम्बन्धित सरोकारवालाले पर्याप्त व्यावसायिक गतिविधि गर्ने गरेका छन् । मेलाभित्रै सञ्चालन भइरहेको कृषि एक्स्पो, उद्यम प्रदर्शनी, नेपालकै विभिन्न क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण भइरहेको छ । जनकपुर विवाह महोत्सवमा भारतको महाराष्ट्र, पश्चिम बंगालदेखि भारतियहरु लामो छुट्टि लिएर आउने गरेका छन् भने गढिमाई मेलामा भारतकै उत्तर प्रदेश, पञ्जाब, बिहारलगायत राज्यबाट दर्शनार्थी आएका छन् ।

भारतको राजस्थान अजमेरबाट पहिलो पटक नेपाल परिवारसहित आएका रामाशेष सिन्धुले आफूहरु विवाह पञ्चमीमा सहभागी भएर गढीमाईको मेला घुमेर फर्कने बताए । उनले भारतमा लाग्ने कुम्भ मेलासँग दाँजेर दुवै मेलाको भव्यताबारे प्रसंशा गरे । मेलाको व्यापकतासँगै प्रदेश तथा स्थानीय सरकारले मेलाको महत्वपूर्ण दिनहरुमा सार्वजनिक बिदा दिएका छन् । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहाँको दुवै महोत्सव मुलुककै पहिचान भएकाले यसको व्यापकतामा संघीय सरकारले गुरुयोजना तयार गरी दायित्व वहन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्