नेप्से परिसूचक ४५.९३ अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार
काठमाडौं– साताको पहिलो दिन आइतबारको सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो (बिहीबार) कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंकले घटेको छ । आइतबारको कारोबार पछि नेप्से परिसूचक २६८९ बिन्दुमा आएको छ । बजार उच्च अंकले घट्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । आइतबार कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ । यस्तै ३ कम्पनीको कारोबार स्थिर रहेको छ। सबै क्षेत्रका परिसूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सूचक सबैभन्दा धेरै ३.०७ प्रतिशतले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशतले घटेका छन् । एक्सचेन्जका अनुसार खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ । दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशतले मूल्यमा गिरावट आएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेका छन् ।