दुई जलविद्युत पीपीपी मोडेलमा बनाउन प्रस्ताव माग, साढे ५ खर्ब लगानी
काठमाडौं– विद्युत उत्पादन कम्पनीले ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना किमाथांका अरुण जलविद्युत् र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना बनाउने भएको छ । यी जलविद्युत आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाइने भएको हो । कम्पनीले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आइतबार आशयपत्र मागेको छ ।
कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ । यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपूँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न माग भएको छ । नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिने कम्पनीले जनाएको छ ।
दुई जलविद्युतमध्ये किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट रहेको छ । यसको लागत अनुमान ९३ अर्ब ८० करोड गरिएको छ । यस्तै अर्को जलविद्युत मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाटको छ । यसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ । कम्पनीले १५ दिन प्रस्ताव पेस गर्ने समय दिएको छ ।