दाङमा वन्यजन्तुको अवस्था पहिचान गरिँदै
दाङ– जिल्लाका ४ पालिकामा वन्यजन्तुको अवस्थाका बारेमा पहिचान गर्न थालिएको छ । डिभिजन वन कार्यालय दाङको समन्वय तथा तराई भूपरिधि कार्यक्रम (ताल) को आर्थिक तथा प्राविधिक सहयोगमा पहिचान गर्न थालिएको हो । घोराही उप महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकामा वन्यजन्तुको पहिचान गर्न थालिएको तालका सह व्यवस्थापक नवीन ढुंगानाले जानकारी दिए ।
उनका अनुसार दंगीशरण गाउँपालिकाको वडा नं १ र २, घोराही उपमहानगरपालिकाको वडा नं १, २, ३ र ५ नम्वर वडा, तुलसीपुर उपमहानगरपालिकाको १३ नम्वर वडा, लमही नगरपालिकाको १, ३, ५,६, ७,८ र ९ नम्वर वडामा अध्ययन गर्न थालिएको हो । सरकारले निर्धारण गरेको मापदण्डअनुसार क्यामरा ट्रयाप विधिबाट अध्ययन गरिने उनको भनाइ छ । दाङ, कपिलवस्तु तथा अर्घाखाँचीमा यस प्रकारको अध्ययन गरिएको उनले बताए ।
‘दुई चरणको अध्ययन सकिएको छ भने यो अन्तिम चरण हो, तीन चरणको अध्ययन सकिएपछि प्रतिवेदन तयार गरेर सरकारलाई प्रदान गरिने छ,’ ढुंगानाले भने । अध्ययनका लागि खटिनेलाई तालिम दिएर सुरु गरिने उनले बताए । यही मंसिर २४ गतेबाट क्यामरा जडानको काम सुरु हुने उनी बताउँछन् । वन्यजन्तुका बारेमा जानकारी लिनका लागि १ सय ९ वटा क्यामरा जडान गरेर अध्ययन गरिने डब्लूडब्लूएफ नेपालका वरिष्ठ अनुसन्धान अधिकृत समुद्र सुव्बाले जानकारी दिए ।
अध्ययनका लागि २४ जनाको टोली खटिने भएको छ । आठवटा टिम निर्माण गरेर काम गरिने उनको भनाइ छ । प्रत्येक टिममा तीनजना रहने भएका छन् । ४० दिन लगाएर अध्ययन गरिने उनले बताए । ३० दिनसम्म क्यामरा राखेर मोनिटेरिङ गरिने छ । क्यामरा जडान गर्न पाँच दिन र जडान गरिएको क्यामरा निकाल्न पाँच दिन गरेर ४० दिन लाग्ने सुब्बा बताउँछन् । ‘यस प्रकारको अध्ययनले वन्यजन्तुको अवस्थाका बारेमा जानकारी लिन सकिने छ,’ उनले भने, ‘वन्यजन्तुको अवस्थामा जानकारी भएमा व्यवस्थापनमा समेत सहजता हुनेछ ।’
कुन वन्यजन्तुको जोखिम बढ्दै गएको छ भनेर जानकारी लिनसमेत सहजता हुने उनी बताउँछन् । वनमा गैरकानुनी रूपमा के कसरी सिकारी भइरहेको छ भनेर जानकारी लिन यस अध्ययनले सहयोग पुर्याउने उनको भनाइ छ । पछिल्लो समय बाघको संख्या वृद्धि हुँदै जाँदा बस्तीसम्म आउने गरेको पाइएको छ । यस अध्ययनले बाघको अवस्थाका बारेमा जानकारी हुने सुब्बा बताउँछन् ।
यसअघि दाङको देउखुरी क्षेत्रमा अध्ययन गर्दा बाघ देखिएको उनले बताए । बाघले पारिस्थितिकीय प्रणाली कायम राख्न महत्त्वपूर्ण भूमिका राख्ने बताए । ‘बाघ बचाउन नसक्दा पारिस्थितिकीय प्रणाली बिग्रन जान्छ,’ उनले भने । यसैबीच क्यामेरा ट्रयाप विधिबाट गरिने वन्यजन्तु अनुगमन सम्बन्धी शुभारम्भ गरिएको छ । एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिएर सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले वन्यजन्तुको अवस्थामा जानकारी लिन आवश्यक रहेको बताए । वन्यजन्तुको अवस्था बारेमा जानकारी नहुँदा त्यसको व्यवस्थामा समेत समस्या हुने गरेको बताए । ‘वन्यजन्तुबाट नागरिकलाई जोखिम छ यसको व्यवस्थापन गरेर आगाडि बढनु पर्दछ,’ नगर प्रमुख चौधरीले भने । नागरिक र वन्यजन्तुको सन्तुलन कायम राख्न सक्नुपर्ने उनको भनाइ छ । वनमा रहेका वन्यजन्तुलाई पानीका लागि जंगलका विभिन्न स्थानमा पानी सञ्चयको व्यवस्था गरिनुपर्ने उनले बताए ।