Logo

मन्त्रीद्वारा निर्माण व्यवसायीको प्रशंसा

लक्षित समयभन्दा सात महिना अगावै बन्याे पुल

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । डिमुवा–राम्जा–चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै गत भदौमै सम्पन्न भएको थियो ।

पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयभन्दा पनि अगावै सम्पन्न गरेकोमा निर्माण व्यवसायीको प्रशंसा गरे । मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमै सम्पन्न हुनुपर्ने उनको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणको चरणमा रहेको बताउँदै निर्धारित समयमै सम्पन्न गर्नका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उनको भनाइ छ । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै गत भदौमै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

मोदी गाउँपालिको वडा नंं. ६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिंगल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न भएको पुल निर्माणको जिम्मा कस्तुरी कन्स्ट्रक्सन पर्वतले पाएको थियो । यो पुलको भारवहन क्षमता ७० टन रहेको छ । अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीवाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा ६ महिना अगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यावसायी चेतनारायण आचार्यले जानकारी दिए ।

उनका अनुसार पुल निर्माण सम्झौता भने आगामी फागुन महिनासम्म रहेको थियो । यो पुल निर्माणपछि मोदी गाउँपालिकाको वडा नं. ७ राम्जा, वडा नं. ८ चित्रे तथा कुश्मा नगरपालिका–११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन समेत सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

विगतका वर्षमा वर्षायामको बेला खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । स्थानीय सडक पुल कार्यक्रम एलआरबीपी र प्रादेशिक सडक पुल सहयोग इकाई पीआरबी एसयूको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीयवासीको राम्रो साथ र निर्माण व्यवसायीको अग्रसरताका कारण सम्पन्न गर्नुपर्ने मितिभन्दा सात महिनाअघि नै सम्पन्न भएको कार्यालयले जनाएको छ ।

पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर महेन्द्र बाँनिया, एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्मा लगायतले बोलेका थिए । पुलको विस्तृत जानकारी पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्