कर्णाली करिडोरको पिलुचौर खोलामा बेलिब्रिज निर्माण
बाजुरा– कर्णाली करिडोरअन्तर्गत बाजुराको पिलुचौर खोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु–सलिसल्ला सडक योजनाको दुई करोड ३४ लाख रुपैयाँ लागतमा बेलिब्रिज निर्माण गरिएको हो । बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बीचमा रहेको पिलुचौर खोलामा करोडौं रुपैयाँ लागतमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
यो सडक मार्ग कर्णाली करिडोरअन्तर्गत हुम्ला जोड्ने सडक आयोजनाले जनाएको छ । बेलिब्रिजको सामानबाहेक ढुवानी र निर्माणका लागि ठेक्का भएको थियो । बेलिब्रिजको सामान भने सडक डिभिजन कार्यलय नेपालगन्जबाट ल्याइएको खुलालु–सलिसल्ला सडक योजना कोल्टीका सूचना अधिकारी अन्तराज शाहीले बताए ।
सडक विभाग उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु– सलिसल्ला सडक योजना कोल्टीका सूचना अधिकारी अन्तराज शाहीले पिलुचौर खोलामा बनेको सो बेलिब्रिज ४८.८ मिटर लम्बाइ रहेको छ । बेलिब्रिज निर्माणको भौतिक काम करिब ९८ प्रतिशत सम्पन्न भइसकेकाले यही मंसिर मसान्तसम्म निर्माण कार्य सबै सकिने सूचना अधिकारी शाहीले बताए ।
खुलालु–सलिसल्ला सडक योजना कोल्टीका अनुसार २०८१ वैशाखमा अजनेपनी जेभी काठमाडौंसँग एक करोड ९९ लाख रुपैयाँमा २०८१ मंसिर ३० मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको योजनका सूचना अधिकारी शाहीले बताए । कर्णाली करिडोर सडकखण्डमा रहेको उक्त खोलामा पुल नहुँदा वर्षातको समयमा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यताले सवारी साधनले सास्ती खेप्दै आएका थिए ।
पिलुचौर खोलामा पुल नभएकै कारण बाह्रै महिना खोलाबाटै सवारीसाधन वारपार गरिरहेका छन् । बेलिब्रिज निर्माण भएपछि वर्षात्को समयमा पनि बाजुरा, हुम्ला, मुगुमा नियमित रूपमा यातायात सञ्चालन हुने भएका छन् । सामान ढुवानीसँगै आवतजावतमा समेत निकै सहयोग हुने भएको छ । विकासका हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोर अन्तर्गत सो बेलिब्रिजले बाजुराको पूर्वीउत्तर क्षेत्रसंँगै कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लालाई सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।
उत्तरदेखि दक्षिणको लाइफलाइनको रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ । कर्णाली करिडोर नामकरण गरी ट्रयाक खोल्न थालिएको २३ वर्ष पुगिसकेको छ ।
कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्लाको सिमीकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर रहेको छ । कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालिकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।
चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको छ । त्यो सडक खण्डको काम पनि तीव्र रूपमा भइरहेको छ । २०७१ चैत ५ देखि नेपाली सेनाले काम सुरु गरेको सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते नेपाली सेनाले हस्तान्तरण गरेको थियो ।
कर्णाली करिडोर अन्तर्गतको कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये १९६ किलोमिटर सडक निर्माण भएर सवारी साधन चल्न थालेका छन् । बाँकी सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाले जनाएको छ । दुईवटा विशाल छिमेकी मित्र राष्ट्र उत्तरको चीन र दक्षिणको भारत जोड्ने कर्णाली करिडोर पश्चिम नेपालको एक आर्थिक लाइफलाइनको रूपमा रहेको कर्णाली करिडोर सडक रहेको छ ।