Logo

दाङमा एक लाख ७९ हजार टन धान उत्पादन

दाङ– दाङमा यस वर्ष एक लाख ७९ हजार टन धान उत्पादन भएको छ । धान लगाउने क्षेत्रफल बढेको कारण उत्पादन वृद्धि भएको हो । जिल्लामा ३९ हजार चार सय हेक्टरमध्ये यस वर्ष ३६ हजार एक सय आठ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । गत वर्ष ३५ हजार एक सय ८४ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको थियो ।

२०७९ सालमा ३७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान लगाइएको भए पनि त्यस वर्ष एक लाख ५२ हजार दुई सय ३३ टन मात्रै धान उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यस वर्ष धान लगाइएको क्षेत्रफल पनि बढेको र ढिलो वर्षा भए पनि लगातार वर्षाको कारण उत्पादन बढेको हो ।

केन्द्रका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी पृथ्वीराज लामिछानेले बिउमा सुधार र गत वर्षको तुलनामा रासायनिक मलको उपलब्धता र धान रोपाइँको क्षेत्रफल बढेकाले उत्पादनमा वृद्धि भएको जानकारी दिए । ‘गत वर्षभन्दा रासायनिक मल अभाव कम भएको एवं हाइब्रिड र उन्नत बिउको प्रयोग बढी भएकोले उत्पादन बढेको हो’ उनले भने, ‘धान रोपाइँ भएको क्षेत्रफल पनि बढेकोले उत्पादन बढेको छ ।’

यस वर्ष १० प्रतिशतले उत्पादकत्व बढेको छ । ‘विगतका वर्षभन्दा धेरै धान उत्पादन भएको छ । उत्पादकत्व पनि धेरै नै हो’ उनले भने,‘२०७९ सालमा प्रतिहेक्टर ४ दशमलव एक टन रहेकोमा गत वर्ष बढेर चार दशमलव पाँच पुगेको थियो । अहिले उत्पादकत्व नै १० प्रतिशतले बढेको छ ।’ गहिरो र खाल खेतभन्दा डाँडो खेतमा बढी उत्पादन भएको छ ।’

खाल खेतमा लगाइएको धानमा पोके रोग देखा परेकोले डाँडा खेतमा जति उत्पादन हुन नसकेको उनको भनाइ छ । डाँडा खेतमा राम्रो उत्पादन भएको छ । यस वर्ष मौसमले साथ दिनुका साथै रासायनिक मलको उपलब्धता र हाइब्रिड तथा उन्नत बिउको बढी प्रयोग भएको कारण उत्पादन बढेको अनुमान छ ।

यस वर्ष पनि जिल्लामा भारत तथा चीनबाट आउने हाइब्रिड बिउ नै बढी रोपिएको थियो । केन्द्रले दिएको जानकारीअनुसार यस वर्ष हाइब्रिड बिउ ८० प्रतिशत रोपाइँ भएको र बाँकी २० प्रतिशत स्थानीय र उन्नत बिउ रोपिएको थियो । ८० प्रतिशत हाइब्रिड बिउ, १० प्रतिशत उन्नत र १० प्रतिशत स्थानीय लोकल बिउको प्रयोग भएको लामिछानेले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै युएस ३१२, एमपी ३०३० जातको हाइब्रिड धान खपत भएको हो । त्यस्तै उन्नत र हाइब्रिड दुबै रूपमा रहेको हर्दिनाथ, उन्नततर्फ सावाँ मन्सुली, रामधान, राधा ४ पनि रोपिएको थियो । त्यसैगरी दाङको स्थानीय रैथाने धानको रूपमा परिचित तिल्की धान पनि २० विगाह क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष जिल्लामा झण्डै पाँच सय टन धानको हाइब्रिड बिउ तथा आठ सय टन उन्नत तथा स्थानीय बिउ खपत भएको थियो ।

यस वर्ष ३६ हजार एक सय आठ हेक्टर क्षेत्रफलमा गरिएको धान रोपाइँबाट एक लाख ७८ हजार सात सय टन धान उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३५ हजार तीन सय ८४ हेक्टर क्षेत्रफलमा भएको धान रोपाइँबाट एक लाख ५९ हजार टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३७ हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा एक लाख ५४ हजार टन धान उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार तीन सय ६० टन धान उत्पादन भएको थियो । यस वर्ष बेमौसमी वर्षाले २७ हजार टन धान नष्ट भएको थियो । आव २०७७/७८ मा ३७ हजार नौ सय ८६ हेक्टर क्षेत्रफलमा एक लाख ५३ हजार आठ सय ७४ टन धान उत्पादन भएको थियो । आव २०७६/७७ मा दाङमा ३५ हजार पाँच सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा एक लाख ४८ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्