Logo

घोराही–तुलसीपुर सडकमा थप तीन पुल निर्माण गरिँदै

दाङ– दाङको घोराही–तुलसीपुर सडक खण्डमा थप तीन पुल निर्माण हुने भएका छन् । घोराही–तुलसीपुर सडकअन्तर्गत सेवारखोलामा निर्माण हुन थालेको पुलसँगै ग्वारखोला, हापुर खोला र कालाखोलामा पनि पुल निर्माण हुने भएका हुन् ।

घोराही–तुलसीपुर सडकअन्तर्गत घोराही उपमहानगरपालिका–१६, सेवारखोलामा गत वर्षदेखि काम सुरु भइसकेको छ भने बाँकी तीन खोलामा पुलको ठेक्का सम्झौता भएर काम सुरु गर्ने अवस्थामा रहेका छन् । सेवारखोलामा निर्माण हुन थालेको पुलको २० प्रतिशत काम सकिएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ ।

नयाँ बन्न थालेका पुलमध्ये कालाखोलामा ९० मिटर लम्बाइ भएको चार लेन र ग्वारखोलामा २२० मिटर लम्बाइ भएको दुई लेन र हापुरखोलामा १५० मिटर लम्बाइ भएको चार लेन पुल रहेको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिए । ठेक्का सम्झौताअनुसार पुल निर्माण अवधि कालाखोला र ग्वारखोलाको ३८ महिना, हापुरखोलामा बन्ने पुल ४२ महिना रहेको छ भने सेवारखोलामा बन्ने पुलको ३६ महिना रहेको छ ।

डिजाइन र सर्भे सबै काम निर्माण कम्पनीका तर्फबाट भएर विभागले स्वीकृत गरेपछि ठेक्का भएको इन्जिनियर चौधरीले बताउँछन् । २०८२ भदौ २८ गते पुल निर्माणको कामसक्ने गरी ठेक्का सम्झौता भएको कालाखोला पुलको लागत १७ करोड ८२ लाख रुपैयाँ रहेको छ । पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको इन्जिनियर चौधरीले जानकारी दिए ।

इन्जिनियर चौधरीका अनुसार २०८२ भदौ २८ भित्र निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको ग्वारखोला पुलका लागि २२ करोड पाँच लाख बजेट रहेको छ । पुल निर्माणका लागि २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । २०८२ पुसमा काम सक्ने गरी ठेक्का सम्झौता भएको हापुरखोला पुलको बजेट २७ करोड ८४ लाख रहेको छ भने २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । २०८३ जेठ २८ भित्र पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको सेवारखोला पुलका लागि बजेट २३ करोड २२ लाख रहेको छ ।

पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ । पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकमा वर्षातको समयमा हुने समस्या हट्ने छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोला, गुर्जेखोला, हापुरखोला, पत्रेखोला, सक्रामखोला, ग्वारखोला र कालाखोलामध्ये चारवटा खोलामा पुल निर्माण भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्