भ्रमण वर्ष सफल पारौं

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र गुणस्तरीय पर्यटक दुवै बढाउनेमा राष्ट्रिय अभियान केन्द्रित हुनुपर्छ र नेपाल भ्रमण वर्षले यसका लागि आधार तय गर्न सक्छ । |
सन् २०२० को पहिलो दिन अर्थात् नेपाल भ्रमण वर्षको पनि सुरुवाती दिन । देशको समृद्धिका लागि तुलनात्मक लाभको क्षेत्र पर्यटन प्रवद्र्धनका लागि मनाउन लागिएको नेपाल भ्रमण वर्ष सुरुवातसँगैका ३ सय ६५ दिन नै यस क्षेत्रका लागि निकै महत्वपूर्ण छन् । एक वर्षभित्रै २० लाख पर्यटक भित्र्याउने मूल लक्ष्यसहित मुलुकको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गर्ने यस वर्षको उद्देश्य हो र यो सरकारको मात्र नभई मुलुकभित्रका सबै पेसा, व्यवसायमा संलग्नदेखि सर्वसाधारणसम्मको राष्ट्रिय अभियान हो । यसर्थ, भ्रमण वर्ष सफल बनाउन सिंगो मुलुक एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।
नेपालले यसअघि सन् १९९८ मा नेपाल भ्रमण वर्ष र २०११ मा नेपाल पर्यटन वर्ष मनाइसकेको छ । दुवै अभियानको परिणाम सकारात्मक निस्किएको थियो भने यस वर्ष राजनीतिक स्थिरतासँगै भ्रमण वर्ष मनाउन लागिएको र शान्ति सुरक्षाको अवस्था पनि पहिलेभन्दा कैयौं गुणा राम्रो रहेकाले पर्यटकका लागि नेपाल भ्रमणको अनुपम अवसर पनि हुनेछ । यद्यपि, बाह्य प्रचारप्रसारमा भएको ढिलाइ एवं आन्तरिक पूर्वाधारको अभावजस्ता कमजोरीले २० लाख पर्यटकको संख्या पुग्न सक्ने नदेखिए पनि नेपालको ब्रान्डिङका लागि भने यो अभियान सार्थक र सफल हुने देखिन्छ । विदेशीहरूले भ्रमणको तालिका आजको भोलि नै बनाउँदैनन्, त्यसैले नेपालले ढिलो गरी प्रचार गरेर आमन्त्रण गरे पनि यही वर्ष उनीहरू नआउन पनि सक्छन्, तर यसको प्रचारले आगामी वर्षहरूमा पनि नेपालको पर्यटन क्षेत्र थप फराकिलो बन्दै जानेमा कुनै सन्देह छैन ।
नेपालको पर्यटन क्षेत्रमा सधैँजसो विवाद हुने विषय भनेको हामी संख्यात्मक वृद्धिमा जाने कि गुणात्मक भन्नेमा नै हो । पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने हामी संख्यात्मक वृद्धिमा सन्तोष मान्न सकिने अवस्थामा भए पनि गुणात्मक पर्यटनमा भने चुक्दै गएका छौं । संसारका धेरै मुलुक ‘मास टुरिजम’मै गएका बेला हामीले पनि गुणात्मक भनेर यसको बहुआयामिक पक्षलाई साँघुरो बनाउनु त्यति उचित हुँदैन । अर्थ मन्त्रालयले गत आवमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पनि पर्यटकको नेपाल बसाइ र खर्च गराइ दुवैमा कमी आएको देखिन्छ । अघिल्लो वर्ष १२.६ प्रतिदिन नेपाल बस्ने गरी आएका पर्यटकले प्रतिदिन ५४ डलर खर्च गर्ने गरेका थिए भने गत आर्थिक वर्षमा प्रतिदिन ४४ डलर खर्च गरेका पर्यटकले आफ्नो औसत बसाइका दिन पनि छोट्ट्याएर १२.४ दिनमा झारेको पाइन्छ ।
अघिल्लो वर्ष ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने गत आर्थिक वर्षमा २४.७७ प्रतिशतले बढेर ११ लाख ७३ हजार ७२ पुगेको उल्लेख छ ।
यसरी नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र गुणस्तरीय पर्यटक दुवै बढाउनेमा राष्ट्रिय अभियान केन्द्रित हुनुपर्छ र नेपाल भ्रमण वर्षले यसका लागि आधार तय गर्न सक्छ । भ्रमण वर्षलाई सरकारी स्तरमा मात्र नभई निजी क्षेत्र र सर्वसाधारणको तहबाट पनि सफल बनाउन सक्दो प्रयास गर्नुपर्छ । मुलुकको दिगो आर्थिक विकासका लागि पर्यटन क्षेत्र नै भरपर्दो आधार हो भने नेपालीको अतिथि सत्कार विश्वमै परिचित भएकाले भ्रमण वर्षमा पर्यटनमैत्री व्यवहार प्रदर्शन गरेर यसलाई थप प्रचार गरौं । पर्यटनको आम्दानी तल्लो तहसम्म पुग्ने भएकाले गरिबी निवारणको लक्ष्यसमेत यसबाट पूरा हुने भएकाले यस महान् अभियानमा हातेमालो गरौं । भिजिट नेपाल–२०२० सफल पारौं ।