नेपालमा किन कम खर्चिला चिनियाँ पर्यटक ?
संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन अर्थात् युनाइटेड नेसन्स वल्र्ड टुरिज्म अर्गनाइजेसन (युएन डब्लुटिओ) ले पछिल्लो पटक सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार सन् २०२३ मा पनि विश्वमा सबैभन्दा धेरै खर्च गर्ने पर्यटकमा चिनियाँ पर्यटक रहेका छन् । स्मरण रहोस्, सन् २०२३ मा विश्वका विभिन्न देशमा घुम्न निक्लेका चिनियाँ पर्यटकले १ सय ९६.५ बिलियन अर्ब अमेरिकी डलर खर्च गरेर पहिलो स्थान ओगट्न सफल भएका छन् भने दोस्रो स्थानमा अमेरिकी पर्यटक रहेका छन् ।
तथ्यांकमा उल्लेख गरिएअनुसार सन् २०२३ मा विश्वका विभिन्न देशमा घुम्न निक्लेका अमेरिकी पर्यटकले १ सय ५० बिलियन अर्ब अमेरिकी डलर खर्च गरेका छन् । त्यस्तैगरी सबैभन्दा धेरै खर्च गर्ने पर्यटकमा तेस्रो स्थानचाहिँ जर्मन पर्यटकले ओगटेका छन् । सन् २०२३ मा विश्वका विभिन्न देश घुम्न निक्लेका जर्मन पर्यटकले १ सय १२ बिलियन अर्ब अमेरिकी डलर खर्च गरेका छन् । सबैभन्दा धेरै खर्च गर्ने पर्यटकको चौथो स्थान लिन बेलायती पर्यटक सफल भएका छन् ।
सन् २०२३ मा विश्वका विभिन्न देशमा घुम्न निक्लेका बेलायती पर्यटकले १ सय १० बिलियन अर्ब अमेरिकी डलर खर्च गरेका छन् । उता विश्वको धेरै खर्च गर्ने देशको सूचीमा पाँचौँ स्थान ओगट्न सफल भएको देशचाहिँ फ्रान्स हो । सन् २०२३ मा विश्वका विभिन्न देशमा घुम्न निक्लेका फ्रान्सेली पर्यटकले ४९ बिलियन अर्ब अमेरिकी डलर खर्च गरेका छन् । रोचक कुरा त के छ भने हाम्रो देशको तीनतिर सिमाना रहेको छिमेकी देश भारतका पर्यटक पनि विश्वको सबैभन्दा धेरै खर्च गर्ने पर्यटकको सूचीमा सन् २०२३ मा आठौँ स्थानमा आइपुगेका छन् ।
स्मरण रहोस्, संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (युएन डब्लुटिओ) को तथ्यांकअनुसार सन् २०१९ मा विश्वमा धेरै खर्च गर्ने पर्यटकको सूचीमा १४ औँ स्थानमा रहेका थिए । त्यसैले आगामी दिनमा हामीले चिनियाँ पर्यटकलाई मात्र नभएर भारतीय खर्चिला पर्यटकलाई पनि हाम्रो देशमा कसरी धेरैभन्दा धेरै भित्त्याउने ? बेलैमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । हुन पनि लगभग १२–१३ वर्षदेखि विश्वमा पर्यटक भई घुम्न निक्लने सबैभन्दा धेरै पर्यटक चिनियाँ रहेका छन् भने सातौँ स्थानमा भारत रहेको देखिन्छ । त्यसैले हामीले अरू देशका साथसाथै चीन र भारतका पर्यटकलाई प्रमुख रूपमा लक्षित गर्नुपर्ने देखिन्छ ।
संख्यात्मक रूपमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्त्याउनका लागि हामीले उत्तरी छिमेकी देश चीनको ठूला र धेरै जनसंख्या बसोबास भएका मुख्य सहरहरूमा जतिसक्दो चाँडै हवाई यातायातको व्यवस्था (हवाई उडान) गर्न सके निश्चय नै चिनियाँ पर्यटकको नेपाल भ्रमण गर्ने संख्या अहिले आइरहेको भन्दा आठ–दस गुणाले बढाउन सकिन्छ ।
विश्वको जनसंख्याको तथ्यांकका आधारमा हेर्दा भारत पहिलो स्थानमा रहेको छ भने चीनचाहिँ दोस्रो स्थानमा झरेको छ । स्मरणीय छ, यसअघि चीन पहिलो स्थानमा थियो । सम्भवत: जनसंख्याका आधारमा भारत पहिलो स्थान र चीन दोस्रो स्थानमा रहने पक्काजस्तै रहेको छ । जे भए पनि अहिलेलाई यहाँ विशेषत: चिनियाँ पर्यटकका सम्बन्धमा मात्रै छोटो चर्चा गरिनेछ । लगभग एक वर्षअघि ‘फोकस अन ट्राभल न्युज’ (एफटिएन न्युज डटकम) ले एक फिचर न्युज प्रकाशित गरेको थियो । सो फिचर न्युजमा जनाइएअनुसार सन् २०३० सम्ममा २ सय २८ मिलियन चिनियाँ नागरिक विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लनेछन् ।
ओहो ! यत्रो ठूलो संख्यामा पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लने चिनियाँ नागरिक कहाँ जाँदा हुन् ? हामीलाई पनि चासो हुनैपर्ने देखिन्छ । किनभने ती २ सय २८ मिलियन चिनियाँ नागरिक विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लनेछन्, तीमध्ये वार्षिक रूपमा सुरुको पहिलो वर्ष सन् २०२४ मा १ लाख ४०–५० हजार, दोस्रो वर्ष सन् २०२५ मा २ लाख ८०–९० हजार, तेस्रो वर्ष सन् २०२६ मा ४ लाख ८०–९० हजार र चौथो वर्ष सन् २०२७ मा ६ लाख ६०–७० हजारको संख्याले क्रमश: बढाउँदै लगेर सन् २०३० सम्ममा एक मिलियन चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न सके हामीलाई आर्थिक रूपमा धेरै फाइदा हुनुका साथै हामीले चिनियाँ पर्यटकबाट अनपेक्षित ढंगले फाइदा लिन सक्छौँ ।
त्यसैले अब चिनियाँ पर्यटकलाई कसरी हुन्छ, नेपालतर्फ आकर्षित गराउनका लागि हामी सबै लागिपर्नुपर्ने देखिन्छ । हुन पनि हामीले वार्षिक १ मिलियन अर्थात् १० लाख चिनियाँ पर्यटकलाई नेपाल भित्त्याउन सके कस्तो हुँदो हो ? किनभने सन् २०१४ देखि मात्रै १ सय मिलियन अर्थात् १ करोड चिनियाँ नागरिक विश्वमा पर्यटक भई घुम्न निक्लेका थिए । उता सन् २०२३ को जनवरीमा ‘साउथ चाइना मर्निङ पोस्ट’मा आएको समाचारमा जनाइएअनुसार चीन सरकारले सो वर्षको जनवरीको सुरुदेखि मात्रै विश्वका २० देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा भ्रमण गर्न अनुमति दिइएको थियो । त्यसअघि सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारी (कोभिड–१९) का कारण चीन सरकारले आफ्नो देशका नागरिकलाई विश्वका सबै देशमा पर्यटक भई घुम्न जान निषेध गरेको थियो ।
दु:खको कुरो के भने चीन सरकारले चिनियाँ नागरिकलाई पर्यटक भई घुम्न जाने अनुमति दिएका २० देशको सूचीमा सुरुमा नेपाल परेको थिएन । त्यसो त चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको २० देशको सूचीमा सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब ईमिरेट्स, रुस, न्युजिल्यान्ड, स्वीजरल्यान्ड, क्यानाडा, संयुक्त राज्य अमेरिका (युएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडियालगायत युरोपियन देश रहेका छन्, तापनि चिनियाँ पर्यटकको हालको प्रथम रोजाइका देशहरूमा चाहिँ जापान, अमेरिका, अस्ट्रेलिया, युरोपका केही देश, न्युजिल्यान्ड आदि रहेका छन् ।
खासमा चिनियाँ पर्यटकको फेमस डेस्टिनेसनमा पर्ने देशहरू पनि युरोपको फ्रान्स, इटली, जर्मनी, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, नर्वे, मोनाको, सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स, रुस, मंगोलिया, न्युजिल्यान्ड, स्वीजरल्यान्ड, क्यानाडा, संयुक्त राज्य अमेरिका (युएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, टर्की, इरानलगायतका देश रहेका छन् । नढाँटी भन्नुपर्दा संख्यात्मक रूपमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्त्याउनका लागि हामीले उत्तरी छिमेकी देश चीनको ठूला र धेरै जनसंख्या बसोबास भएका मुख्य सहरहरूमा जतिसक्दो चाँडै हवाई यातायातको व्यवस्था (हवाई उडान) गर्न सके निश्चय नै चिनियाँ पर्यटकको नेपाल भ्रमण गर्ने संख्या अहिले आइरहेको भन्दा आठ–दस गुणाले बढाउन सकिन्छ ।
चोङकिङ, सांघाई, बेइजिङ, छेङदु, ग्वाङ्झाओ, सेनजेन, तियानजिन, बुहान, सुझोउ, लिनयी, हार्बिन, सिझियाझुवा, ह्वाङझाओ, झेङझोउ, सियान, नानयाङ, गाङझोङ, हान्दाङ, क्विङदाओ, बाओदिङ, बेइफाङ, वेनझोउ, जिनान, सुझोउ, हेजे आदि सहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । चीनका यी २५ ठूला सहरमा ३२.०५ मिलियनदेखि ८.७८ मिलियन चिनियाँ जनताको बसोबास रहेको छ । त्यसैले ती सहरबाट ०.१ प्रतिशत मात्रै चिनियाँ नागरिक नेपालमा पर्यटक बनेर भ्रमण गर्न आए भने उनीहरूको संख्या कति पुग्ला ?
त्यस कामका लागि हामीले चिनियाँ एयरलाइन्स साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयरलाइन्स, सांघाई एयरलाइन्स, साङदोङ एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एक–एक उडान गराउन सके सुनमा सुगन्ध हुने थियो । अझ सम्भव भएदेखि हप्तामै २०–२२ उडान गर्न सके झनै राम्रो । हुन त गत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेइजिङमा फेरि आफ्नो उडान सुरु गरिसकेको छ भने नेपाल एयरलाइन्सले पनि चीनको राजधानी बेइझिङ, गुइयाङ, चाङ्सा, सेनजेन, चोङकिङलगायत सहरमा उडान गर्ने तयारी गरिरहेको समाचार आएको छ ।