कृषि क्षेत्रमा समेत नेपाली माग गर्ने इजरायलको आश्वासन
इजरायलमा फेरि नेपालीलाई पठाउने तयारी
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र लेबनानबीच युद्ध विराम भएपछि रोजगारीको लागि जान तयारी रहेका युवालाई पठाउन कुटनीतिक पहल सुरु गरेको छ । सरकारले हाल चिठ्ठामार्फत छनोटमा परेर प्रक्रिया रोकिएका २ हजार नेपाली युवालाई पठाउन गुहकार्य सुरु गरेको हो ।
गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र इजरायली राजदूत श्मुलिक एरी बससँग शिष्टाचार भेटपछि रोकिएको इजरायलको रोजगारी सुचारु गर्ने प्रक्रिया सुरु भएको हो । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत इजरायलस्थित नेपाली दूतावाससँग त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।
भेटवार्ताको क्रममा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, केयरगिभरका रुपमा छनौट भएका नेपाली कामदार यथाशिघ्र इजरायल पठाउनेलगायत विषयमा छलफल भएको छ । इजरायलको रोजगारीमा लागि आवेदन दिएका मध्ये गोलाप्रथामार्फत २ हजार भन्दा बढी छनोट भएर रोकिएकालाई पहिलो प्राथमिकता दिइने जनाइएको छ ।
कामदारको स्रोत मुलुकको रुपमा नेपाललाई इजारायलले सूचिकृत गर्ने प्रक्रियासमेत अघि बढाइने भएको छ । यसैगरी कृषि, निर्माणलगायतका अन्य क्षेत्रमासमेत नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कुटनीतिक पहल गर्ने विषयमा छलफल भएको छ ।
दूतावासले नेपाली कामदार केयरगिभिङको क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदार क्रमश: लैजाने बताए । नेपाली कामदार केयरगिभरबाहेक कृषि, निर्माणलगायत अन्य क्षेत्रमा समेत लैजान सकिने राजदूत एरी बसले आश्वासन दिए ।
मन्त्री भण्डारीले केयरगिधभको रुपमा इजरायल जान छनौट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशिघ्र पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए । मन्त्री भण्डारीले कामदारको सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षणलगायतका क्षेत्रमा कार्य गर्ने र आगामी दिनमा कृषि, निर्माणलगायतका क्षेत्रमा थप सीपयुक्त जनशक्ति पठाउने सम्बन्धमा सहकार्य गर्नुपर्ने बताए ।
वैदेशिक रोजगार विभागले ५ महिनाअघि माग गरेको आवेदन अनुसार ४ हजार २४ जनाले निवेदन दिएकोमा १ हजार ८६३ पुरुष र १ हजार ५९८ महिला सट लिस्टमा छानिएको विभागले जनाएको छ । पछिल्लो समय इजरायलमा रकेट तथा ड्रोन आक्रमण भएपछि केही समयका लागि इजरायलका विभिन्न क्षेत्रमा हाइ अलर्ट जारी गरिएको छ । इजरायलले श्रमिक स्रोत देशलाई आफनो देश सुरक्षित रहेको जनाउँदै आएपनि नेपालले केही समयका लागि पठाउन रोक लगाएको छ ।
इजरायलका विभिन्न केयरगिभरमा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित नयाँका लागि आवेदन र पुरानाका लागि भिसा तथा करार सम्झौता हुँदै आएकोमा युद्ध सुरु भएपछि रोकिएको थियो । यसबाहेक डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार १ सय भन्दा बढी रहेका छन् । हाल जिटुजीमार्फत इजरायलमा १ हजार १०० भन्दा कार्यरत रहेका छन् ।
अब जाने नेपालीले मासिक न्यूनतम २ लाख २५ हजार कमाउने छन् भने थप काम गरेमा ३ लाख रुपैयाँसम्म कमाइ हुने त्यहा रहेका नेपालीको भनाइ छ । इजरायल सरकारले वार्षिक रुपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाउँदै आएको छ । हाल रोजगार सम्झौता केही ढिलो भएका नेपालीलाई पठाउने सम्बन्धमा विभागले काम गरिरहेको छ ।