Logo

प्रत्येक दशकमा फेरिन्छन् निर्यातजन्य वस्तु

काठमाडौं– नेपालको वैदेशिक व्यापारमध्ये निर्यातको प्रवृति फेरिँदै गएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा निर्यात बढ्दा निर्यात हुने वस्तुहरूको सूची फेरिएको छ । विगतमा जुन वस्तुहरूको निर्यात बढेको थियो । समय अन्तरालमा त्यसलाई अन्य वस्तुले पछाडि पार्ने गरेका छन् । यसको पछिल्लो उदाहरण हो वनस्पतिजन्य तेलको निर्यात । गत आवको कात्तिकसम्म जुन हिसाबले वनस्पतिजन्य तेलको निर्यात भएको थियो । यो वर्ष कात्तिकसम्म यसको निर्यात निकै उच्चदरले बढेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार कुल निकासीको करिब १० प्रतिशत हिस्सा भटमास, सूर्यमुखी फूल र पाम तेलको रहेको छ । केन्द्रका अनुसार कात्तिकसम्म ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यस्तै १ अर्ब ५० करोडको सनफ्लावर तेल र ५२ करोड ५९ लाख रुपैयाँ बराबरको पाम आयल निकासी भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा भटमासको तेलको निर्यात २२६६.८ प्रतिशतले बढेको छ भने सनफ्लावर तेलको निकासी वृद्धि १२०९.१ प्रतिशत छ ।

तर, पाम आयलको निकासी भने ७२.१ प्रतिशतले घटेको हो । कुल निकासीमा भटमासको तेल अहिले चौथो स्थानमा छ । सनफ्लावर तेल पनि १२ औं स्थानमा आएको छ । गत आर्थिक वर्ष (२०८०/०८१) मा भटमासको तेल निर्यातको सूचीमा २८ औं स्थानमा थियो । यस्तै सनफ्लावर तेल ३८औं स्थानमा थियो । गत आवमा नवौं स्थानमा रहेको पाम आयल हाल २० औं स्थानमा झरेको छ । आयातीत कच्चा पदार्थ प्रशोधन गरी भारत निकासी हुने वनस्पति तेलको निर्यात भारतको भन्सार नीतिमा निर्भर रहने गरेको छ । हाल भारतले लचिलो नीति अपनाउँदा यी वस्तुको निकासी बढिरहेको हो ।

निर्यातित वस्तुको बदलिँदो प्रवृत्ति वनस्पतीजन्य तेलमा मात्र सीमित छैन । स्वदेशमै उत्पादन हुने चियाको निकासी बढ्दा अघिल्लो वर्ष उत्साहजनक व्यापार गरिरहेको आइरन एन्ड स्टिल प्रडक्ट र अलैंची निर्यात मन्दी उन्मुख छन् । चार महिनाको तथ्यांक हेर्दा ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको आइरन एन्ड स्टिल प्रडक्टको निकासी भएको छ । जुन निकासी सूचीमा पहिलो नम्बरमै रहे पनि निकासी भने अघिल्लो वर्षको तुलनामा १९.८ प्रतिशतले कम हो । अर्कोतर्फ अलैंची निकासी ११.८ र जुस निकासी १६.७ प्रतिशतले घटेको देखिन्छ ।

यस्तै, ऊनी कार्पेट २.८ प्रतिशत तथा तयारी पोशाक ९.२ प्रतिशतले घटेको छ । तर, यही अवधिमा चिया निकासी भने ५८.५ प्रतिशतले बढेको छ । चालु आवका चार महिनामा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको चिया निकासी भएको छ । यस्तै यो वर्ष धागो निर्यात पनि उत्साहजनक छ । निर्यात सूचीको दोस्रो नम्बरमा रहेको धागो चार महिनामा ४ अर्ब २१ करोडको निर्यात भएको हो । यसको वृद्धिदर ८.६ प्रतिशत छ । केन्द्रका अनुसार १५ प्रकारका वस्तुहरुको निकासी एक अर्बभन्दा बढी छ ।

भारतमा फेरिँदै आएको निर्यात
नेपालको निकासीजन्य वस्तुको सूची सुरुवाती समयदेखि नै अस्थिर रहेको विभिन्न तथ्यांकहरूले देखाउँछ । तेस्रो मुलुकमा निर्यात हुने वस्तु वर्षौंदेखि एउटै छन् । भारतबाहेकका मुलुकमा वर्षौंदेखि ऊनी गलैंचा, तयारी पोशाक, पस्मिना, हस्तकलालगायतका वस्तु नियमित रूपमा निकासी भइरहेका छन् ।

तर नेपालको मुख्य व्यापारिक साझेदार भारतमा हुने निर्यातमा औषत १० वर्षमा नयाँ प्रवृत्ति देखा पर्दै आएको छ । सरकारी निकायहरुका अनुसार भारतमा २०४० को दशकमा जुट र जुटका सामानको निकासी सबैभन्दा उच्च स्थानमा थियो । यसको दश वर्षपछि अर्थात् २०५० को दशकमा आउँदा वनस्पति घिउको व्यापार बढेको देखिन्छ । वनस्पति घिउको व्यापार लामो समयसम्म रहेन । एक दशक नहुँदै यसको निर्यातमा भारी रुपमा गिरावट आएको थियो ।

भारतले वनस्पति घिउको निर्यातमा नेपाललाई कोटा तोकेपछि यसको निकासी खस्कँदै गएको थियो । केन्द्रीय बैंकले २०७६ सालमा प्रकाशित गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ अनुसार वनस्पति घिउपछि २०६० को दशकमा कपडा निर्यातले सबैभन्दा उच्च हिस्सा ओगटेको थियो । तर, कपडा निर्यात पनि धेरै समय टिक्न सकेन । २०७० को दशकमा आउँदा फेरि जुट र जुटका सामग्रीहरुको निकासी सबैभन्दा उच्च रुपमा बढेको देखिन्छ । यो दशकको अन्त्यतिर पाम आयल र सोयाबिन आयलको निकासी उच्च रह्यो ।

अहिले यी दुई वस्तुको निकासी पनि क्रमश: पातलिँदै गएको छ । २०८० को दशकको पहिलो वर्षबाटै भारततर्फ निर्यात हुने वस्तु फेरिए पनि दोस्रो वर्षमा सत्तरीको दशककै वस्तु निकासी बढ्न थालेका छन् । हाल नेपालबाट निकासी हुने प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, यार्न (धागो), ऊनी गलैंचा, अलैंची, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, उनी फेल्टका उत्पादन, जुस, चिया, जडिबुटी, कुकुर बिरालोका आहारा (डगच्यू), पिना, पस्मिना सल लगायत रहेका छन् । यस्तै, प्लाइउड, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा, चाउचाउ जस्ता वस्तु निकासीको सूचीमा प्रमुख रूपमा रहेका छन् ।

व्यापारविज्ञ पुरुषोत्तम ओझा भारतको भन्सार नीतिका कारण निर्यात व्यापारमा प्रवृत्ति फेरिरहेको बताउँछन् । भारतले विभिन्न समयमा भन्सार नीति परिवर्तन गर्ने गरेको र त्यसको असर नेपालको निर्यात क्षेत्रमा पर्ने उनको भनाइ छ । नेपालमै कच्चा पदार्थ भएका र विदेशबाट कच्चा पदार्थ ल्याए पनि अधिकतम मूल्य अभिवृद्धि गरिएका वस्तुको निकासी बढ्दै गए सकारात्मक मान्नुपर्ने उनी बताउँछन् । निकासीका क्षेत्रमा वस्तुसँगै गन्तव्यमा पनि विविधीकरण आउन सकेमा त्यो दिगो हुने र त्यसलाई सुधार मान्न सकिने ओझाको तर्क छ । न्यून मूल्य अभिवृद्धि भए पनि त्यसले निर्यात व्यापारमा सकारात्मक नतिजा दिइरहेको यस क्षेत्रका जानकार बताउँछन् ।

चीनतर्फको व्यापार थप खस्कियो
चालू आर्थिक वर्षमा चीनसँगको निर्यात व्यापार थप ओरालो लागेको छ । चार महिनामा चीनतर्फ जम्मा ६८ करोडको वस्तुमात्र निर्यात हुन सकेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.३२ प्रतिशतले कम हो । अघिल्लो आवको कात्तिकसम्म ८४ करोडका वस्तु चीनतर्फ निकासी भएका थिए । आयातका आधारमा नेपालको दोस्रो ठूलो व्यापार साझेदार चीन निर्यात गन्तव्यका रूपमा भने सातौं स्थानमा छ । यही अवधिमा भारततर्फ भने निकासी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्