धनकुटामा चार अर्बको तरकारी उत्पादन
धनकुटा– तरकारी उत्पादनका लागि अग्रणी धनकुटामा गत आर्थिक वर्षमा करिब चार अर्ब ११ करोड रुपैयाँ बराबरको तरकारी उत्पादन भएको छ । ५९ सय ९७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट चार अर्ब ११ करोड ५८ हजार बराबरको बन्दा, काउली, मुला, आलु र मटरकोसा, स्कुसजस्ता तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिए ।
जिल्लामा उत्पादन भएको तरकारीमध्ये ८२ हजार ४७० मेट्रिटन घरायसी प्रयोजन र ५४ हजार ९८० मेट्रिकटन जिल्लाबाट निकासी भएको प्रमुख रानाको भनाइ छ । जिल्ला बाहिर निकासी भएको तरकारी बिक्रीबाट यहाँका किसानले सरकारी दररेटअनुसार एक अर्ब ६४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।
सरकारी दररेटअनुसार गोलभेंडाको मूल्य प्रतिकिलो ३५ रुपैयाँ उल्लेख गरिएको भए पनि स्थानीय बजारमूल्य प्रतिकिलो सरदर ५० रुपैयाँ छ । अन्य तरकारी पनि कार्यालयले निर्धारण गरेको मूल्यभन्दा दुई सय प्रतिशतसम्म बढीमा कारोबार हुने गरेको छ । यस हिसावले गत आर्थिक वर्ष २०८०/०८१ मा धनकुटामा तरकारी कारोबार झण्डै सातदेखि आठ अर्ब जतिको हुनसक्ने तरकारी संकलन केन्द्र तथा व्यवसायी बताउँछन् । ‘कृषि ज्ञान केन्द्रले काउलीको भाउ ३२ रुपैयाँसम्म राखेको छ, कुनै सिजनमा पनि त्यतिमा काउली पाइँदैन ।’
प्रतिकिलो ४० रुपैयाँभन्दा तल मूल्य पर्ने व्यवसायी सुमन राई बताउँछन् । धनकुटाको परेवादिन, मूर्तिढुंगा, तांखुवा, बेलहरा, भीरगाउँ, धनकुटा नगरपालिका तरकारी पकेट क्षेत्र हुन् । धनकुटामा सामूहिक खेती प्रणालीको विकास, बेमौसमी तरकारी खेतीको क्षेत्र तथा उत्पादनमा वृद्धि हुनुका साथै धनकुटाका प्राय: किसान समूह सहकारीमा आबद्ध हुनु र किसानले भिरालो र अन्न उत्पादन नहुने जग्गामा समेत मिश्रित र बहुवाली प्रविधि अपनाएर खेती गर्ने गरेका छन् ।
कृषि सिँंचाइ, औजार उपकरण वितरण, वर्षे र हिउँदे तरकारी बालीको बीउ र मलमा अनुदान जस्ता प्रवर्द्धनात्मक कार्यक्रमले ब्यावसायिक तरकारी उत्पादनमा लाग्ने किसानको संख्या बढ्दै गएको र स्थानीय सरकारले समेत तरकारी उत्पादक किसानलाई विशेष अनुदानसमेत दिँदै आएको तरकारी उत्पादनको पकेट क्षेत्र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।