Logo

अलैंचीबाट वार्षिक ३४ लाख बढीको आम्दानी

इलाम– गर्नसके नेपालमा नै बसेर विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ । उदाहरणका पत्र बन्नेका छन् इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उनले यसै वर्ष ३४ लाखमाथिको अलैंची उत्पादन गरेका छन् । सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेका हुन् ।

अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार रहेको छ । ३० मन अलैँचीको प्रतिमन एक लाख १५ हजारका मूल्यले पनि ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो । गाउँगाउँमा पुगेका ब्यापारीले महंगो मूल्य लगाउने गरेका छन् । बजारमा ब्यापारीले एक लाख १० हजारमाथि खरिद गर्ने गरेका छन् ।

निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन् । बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । बीचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्‍याएको उनले बताए । धेरै मेहनतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।

सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यसपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाछ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उनले बताए । हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ ।

यस वर्षसमेत हरियो नेट लगाउने तयारी भइरहेको उनले बताए । उनले यस वर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् । आगामी वर्षबाट अझै उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ विरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए । राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने जसका लागि आफूले कृषि पेशा गर्ने गरेको किसान खनाल बताउँछन् ।

अलैँची किसान खनालले जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी भइरहेको छ । चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्