Logo

विपन्न परिवारलाई पालिकाले बनाइदियाे शौचालय

पर्वत– पर्वत जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको झण्डै डेढ दशक पुगिसक्दा पनि अहिलेसम्म शौचालयको सुविधाबाट वञ्चित पैंयूँका अतिविपन्न परिवारले बल्ल व्यवस्थित शौचालय प्रयोग गर्न पाएका छन् ।

सुरक्षित शौचालयको अभावमा खुल्ला दिसापिसाब गर्न बाध्य पैंयू गाउँपलिका–५ चिसापानीका परिवारलाई वडा कार्यालयले व्यवस्थित शौचालय निर्माण गरिदिएको हो । हरेक शौचालयका लागि श्रमदानबाहेक ३० हजार रुपैयाँ अनुदान उपलब्ध गराएर शौचालय निर्माण गरिएको वडाध्यक्ष निर्भिक नारायण भुर्तेलले जानकारी दिए ।

वडाभित्रका शौचालय भए/नभएका घरधुरी सर्भेक्षणको क्रममा ५० वटा परिवारले आर्थिक अभावकै कारण निर्माण गर्न नसकेको भेटिएपछि पैंयू गाउँपालिकाको सहयोगमा वडा कार्यालयले निर्माण गरिदिएको हो । पैयूँ गाउँपालिका–५ को दिगो विकासतर्फको यात्रा: सुरक्षित शौचालय र स्वच्छता सुविधा भन्ने मूल नाराका साथ अतिविपन्न परिवारको सूचीमा रहेका परिवारलाई व्यवस्थित शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष भुर्तेलले जानकारी दिए ।

शौचालय बनाउन नसक्दा कतिपयले खुल्ला दिसापिसाब गर्दै आएका थिए भने कतिपयले सामान्य खाडल खनेर कपडा वा बोराले घेरावार लगाएर शौच गर्दै आएका थिए । जसका कारण उक्त बस्तीमा विभिन्न रोगब्याधि फैलिने, गाउँ नै फोहोर र दुर्गन्धित हुनेजस्ता समस्या देखिएका थिए । शौचालय बनाएर हस्तान्तरण गरिएपछि गाउँ सुन्दर बनेको छ भने स्थानीयको खुल्ला दिसापिसाब गर्ने वा फोहोरमैला गर्ने आनीबानी समेत परिवर्तन भएको अध्यक्ष भुर्तेलले बताए ।

दिगो विकासको लक्ष्य नम्बर ६ मा उल्लेख गरिएको सबैका लागि सुरक्षित पानी र सरसफाइको पहुँच पुर्‍याउनु हो भन्ने मर्मलाई आत्मसात गर्दै शौचालय निर्माण गरिदिएको हो । ‘सुरक्षित शौचालय र स्वच्छता सुविधाको महत्त्व बुझेर हामीले हाम्रो वडामा यससम्बन्धी विशेष पहल गरिरहेका हौँ ।’ समुदायका अतिविपन्न र शौचालय नभएका घरपरिवारमा सुरक्षित शौचालय निर्माण गरेपछि गाउँको मुहार नै फेरिएको अध्यक्ष भुर्तेलले बताए ।

शौचालय निर्माणका लागि पैँयू गाउँपालिकाको सहयोगमा १५ लाख रुपैयाँ बजेट खर्च गरिएको छ । घरघरमा शौचालय निर्माण भएपछि स्थानीय दलित तथा विपन्न समुदायका परिवार हर्षित बनेका छन् । शौचालयको अभावले नकारात्मक स्वास्थ्य र वातावरणीय प्रभाव पारिरहेको बेला खुला शौचलाई अन्त्य गर्दै स्वच्छता सुविधाको अभावले बालबालिकामा स्वास्थ्य जोखिमको अन्त्य गर्न सघाउ पुगेको छ ।

शौचालय निर्माणले समुदायमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय उमाकान्त भुर्तेलले बताए । शौचालय निर्माणसँगै स्वच्छ र सफा र शुन्दर बनेको उनको भनाइ छ । स्थानीयको स्वास्थ्य सुरक्षामा सुधार, सामाजिक र सांस्कृतिक सम्मानको प्रवर्द्धन, समुदायको सशक्तिकरण, पर्यावरणीय संरक्षणमा समेत टेवा पुगेको वडाध्यक्ष भुर्तेलले बताए ।

अझै पनि असुरक्षित शौचालय प्रयोग गरिरहेका परिवार पाइएमा वडा कार्यालयले पुनर्निर्माण गरिदिने उनको भनाइ छ । नागरिकको जीवनस्तर र आनिबानी परिवर्तनमा कार्यपालिका समेत सकारात्मक बन्दै गएको छ । शौचालयसँगै हरेक घरमा एक घर एक घारा खानेपानी उपलव्ध गराउनका लागि पनि विशेष योजना सञ्चालन गरिएको अध्यक्ष भुर्तेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्