सिमेन्टमा कार्टेलिङ सरकारले थाल्याे अनुगमन
भैरहवा– सिमेन्ट उद्योगको कार्टेलिङ र मूल्यवृद्धि विरुद्ध सरकारले बजार अनुगमन सुरु गरेको छ । देशैभरका सिमेन्ट उद्योगले कार्टेलिङ गर्दै अस्वाभाविक मूल्यवृद्धि गरेपछि सरकारले बजार अनुगमन सुरु गरेको हो । अनुगमनको सुरुआत रुपन्देही जिल्लाबाट भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा रहेका सिमेन्ट उद्योगहरूमा अनुगमन गरेको हो । आन्तरिक राजस्व कार्यालय भैरहवा, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयलगायतले संयुक्त रूपमा सिमेन्ट उद्योगहरूको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उद्योगहरूले उचित कारण बिना नै सिमेन्टको मूल्यवृद्धि गरेको सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत रहेका अनुगमन अधिकृत अयोध्याप्रसाद भण्डारीले बताए ।
सहायक प्रजिअ भण्डारीका अनुसार उद्योगहरूको बिक्री रसिद निरीक्षणको क्रममा अस्वाभाविक मूल्यवृद्धि भएको भेटिएको र उद्योगहरूले डेढ महिनामै प्रतिबोरा २ सय रुपैयाँसम्म मूल्यवृद्धि गरेको पाइएको बताए । अनुगमन समितिले अर्घाखाँची सिमेन्ट उद्योग, जगदम्बा सिमेन्ट उद्योग र वृज सिमेन्ट उद्योगमा अनुगमन गरेको थियो ।
कुनै स्वाभाविक कारण बिना नै सिमेन्ट उद्योगहरूले कार्टेलिङ गरी सिमेन्टको मूल्य बढाउँदा सामान्य उपभोक्ता मात्र नभई डिलरहरू समेत अप्ठयारोमा छन् । डिलरले पुरानै मूल्यमा अग्रिम पैसा लिएको तर एक्कासि मूल्यवृद्धि हुँदा नोक्सानी भएको बताए । अनुगमनको क्रममा सिमेन्ट उद्योगले उपभोक्ताले पाउने सामान्य जानकारी पनि बोरामा नराखेको, उत्पादित वस्तुको मूल्य, त्यसको उपभोग मिति, अन्य विवरणसमेत हुनु पर्नेमा त्यस्तो केही नभएको जनाइएको छ ।
उपभोक्ताले तिर्नुपर्ने अधिकतम खुद्रा मूल्य कुनै पनि सिमेन्ट उद्योगले बोरामा उल्लेख गरेका छैनन् । उद्योगीहरूले भने सिमेन्टको कच्चा पदार्थमै मूल्यवृद्धि भएको कारण सिमेन्टको मूल्य बढेको दाबी गरेका छन् । वृज सिमेन्टका महाप्रबन्धक रवि रञ्जन गुप्ताले क्लिंकरको मूल्य बढेको कारण उद्योग सञ्चालन खर्च धान्नै नसक्ने अवस्था आएपछि मूल्यवृद्धि भएको बताए ।
उद्योगीहरूले क्लिंकरको मूल्य बढेको बताइरहँदा अनुगमन समितिले क्लिंकर खरिदको बिलसमेत निरीक्षण गरेको छ । निरीक्षमा क्लिंकरको मूल्यमा खासै वृद्धि नभएको भेटिएको हो । सहायक प्रजिअ भण्डारीले अनुगमनको क्रममा उद्योगहरूमा कैफियत देखिएको बताउँदै आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।