Logo

भ्रमण वर्षका पाहुनालाई निकुञ्ज वरपर होटल तथा रिसोर्ट

बारा-पर्सा राष्टिय निकुञ्ज आधाभार बारामा पर्यटकीय गतिविधि बढेसँगै भ्रमण वर्षको पाहुनालाई स्वागत गर्न निकुन्ज वरपर दर्जन बढी आकर्षक होटल तथा रिसोर्टहरू सञ्चालन हुने क्रम बढ्दो छ । प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने र सञ्चालन हुने क्रम बढ्दो रहेको हो ।
निकुन्जको ४ किलोमीटर बरपर रहेको सिमरा अमलेखगन्ज पथलैयालगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न ठूला लगानीका होटल तथा रिसोर्ट निर्माण र सञ्चालन हुन थालेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का महासचिव मोहन शर्माले बताए ।
आरक्षबाट निकुञ्जमा स्तरोउन्नति भएपछि यस क्षेत्रमा ठूला लगानिमा होटलहरू खुल्न थालेको हो । पर्सा राष्ट्रिय निकुञ्ज लक्षित पर्यटकीय गतिविधि बढेसँगै व्यवसायीहरू होटलमा लगानी गर्न आकर्षित भएका हुन् ।
पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज आसपासमा नयाँ होटल खुल्ने क्रम बढेको बताउँदै महासचिव शर्माले भने, “हाल अमलेखगन्ज क्षेत्रमा मात्रै पाँचवटा ठूला होटल निर्माणाधीन अवस्थामा छन् भने बाँकी तीनवटा सञ्चालनको तयारीमा छन् ।”
व्यवसायी नरोत्तम आचार्यको करिव १५ करोडको लगानिमा अमलेखगन्जमा स्तरीय होटल सञ्चालनको तयारीमा छ । सो होटल एवं रिसोर्टमा सुविधासम्पन्न कोठा, खाने बस्ने व्यवस्था, पौडी पोखरी, निकुञ्ज घुमाउने पथप्रदर्शकको व्यवस्था गरिने आचार्यले जानकारी दिए । आचार्यले भने, “भारतीय पर्यटक, सिमरा विमानस्थल हुँदै आउने आगन्तुक एवं निकुञ्ज भ्रमण गर्न आउने व्यक्तिहरूलाई नै लक्षित गरेर होटल सञ्चालन गर्न लागेका हौं ।” ।
भ्रमण वर्षसँगै करिब एक दर्जन होटल रिर्सोट अमलेखगन्जमा सञ्चालनमा आउने भएका छन् । करिब ६७३ वर्गकिमी क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज धार्मिक तथा जैविक विविधताले भरिएको छ । निकुञ्जसँगै रहेको हात्तीसार क्षेत्रमा होटल निर्माण गर्न व्यवसायीहरू आकर्षित भइरहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई, ऐतिहासिक सिम्रनगढ क्षेत्र समेत यसै जिल्लामा रहेकाले पर्यटकिय गतिविधिसमेत बढ्न थालेका छन् । सरकारले हालै घोषणा गरेको सयांै पर्यटकीय गन्तव्यमा पर्सा राष्ट्रिय निकुञ्जसमेत समेटिएपछि निकुञ्ज आसपासमा होटल खुल्ने क्रम तीव्र रूपमा भइरहेको हो ।
विशेष गरी हात्ती, बाघ तथा गौरीगाई एव चराचुरुङ्गी पर्सा राष्ट्रिय निकुञ्जका विशेष आकर्षण हुन् । यीसँगै धार्मिक क्षेत्र दुधेश्वर महादेव, ऐतिहासिक कामिनी दह तथा हलखोरिया दहसमेत यहाँका आकर्षण हुन् ।

 

प्रतिक्रिया दिनुहोस्