टाटा नेक्सन नेपाली बजारमा «

टाटा नेक्सन नेपाली बजारमा

 टाटा मोटर्सको नयाँ एसयुभी नेक्सन औपचारिक रुपमा बिक्री सुरु गरिएको छ । कमर्सियल सेग्मेन्टमा अग्रणी रहेको टाटाको प्यासेन्जर सेग्मेन्टमा यो भिन्न डिजाइनको गाडी हो ।
टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा बिक्री सुरु गरेको हो । गाडीको बिक्री शुभारम्भ सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबरा र टाटाका प्यासेन्जर भेहिकल विजनेश युनिट प्रमुख सुजन रोयले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा रोयले टाटा नेक्सन उच्चतम चरणको परिवर्तन भएकाले टाटा मोटर्सको गतिशिल बजारलाई थप वृद्धि गर्ने बताए । टाटा नेक्सन एसयुभी सेग्मेन्टमा पहिलो प्रवेश भएको सिप्रदीका कार्यकारी अध्यक्ष राणाको भनाइ थियो । यसअघि टाटाले नेपाली बजारमा ह्याचब्याक र सेडान कार उपलब्ध गराइसकेको छ । यो गाडीका एक्सइ, एक्सएम, एक्सटी र एक्सु टु प्लस मोडल छन् । नेक्सन भर्मोन्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी ह्वाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले नेक्सन खरिदमा ७५ हजार किलोमिटर वा तीन वर्षको वारेण्टी पाउन सक्नेछन् । कम्पनीले गत पुस १६ गतेदेखि नेक्सनको बुकिङ खुला गरेको थियो । भारतमा यो गाडी युवापुस्तामा लोकप्रिय छ । यो गाडीको प्रतिस्पर्धामा फोर्डको इकोस्पोर्ट, सुजुकी भिटारा ब्रेजा र रेनल्टको डस्टर लगायतसँग हुनेछ ।
यो गाडी पेट्रोल र डिजल दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले पेट्रोलको सुरुवाती मूल्य ३२ लाख ७५ हजार रुपैयाँबाट र डिजल भेरियन्टको ४१ लाख ५५ हजार रुपैयाँबाट सुरु हुने जनाएको छ । कम्पनीका अनुसार अग्रिम बुकिङ गर्ने सय जनाले ७५ प्रतिशतलाई एक्सचेन्ज भ्यालु, एक वर्षको लागि निशुल्क तेल, एक वर्षको लागि फ्री सर्भिसिङ, एक सय बीस प्रतिशत रिफन्ड भ्यालुलगायतका सुविधा पाउनेछन् । नेक्सनको आंशिक डिजाइन ल्याण्डरोभर र रेन्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।
प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेल ल्याम्पयूक्त नेक्सनमा १६ इन्चको एलोइ व्हील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ । पेट्रोल भेरियन्टको नेक्सन रिभोर्ट्न एक्सइ, एक्सएम, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोन क्रमशः ३२ लाख ७५ हजार, ३४ लाख ९५ हजार, ३९ लाख ९५ हजार र ४० लाख ५५ हजार रुपैयाँ मूल्य छ । यसैगरि डिजल भेरियन्टको नेक्सन रिभोर्टन एक्सटी, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोनको मूल्य क्रमशः ४१ लाख ५५ हजार, ४४ लाख ५५ हजार र ४५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्