माटो परीक्षणमा किसान अनिच्छुक
दाङ– माटो परीक्षणमा अधिकांश किसान अनिच्छुक रहेको भेटिएको छ । माटो परीक्षण गर्नु पर्छ भन्ने चेतना अभावले किसान यसतर्फ अनिच्छुक रहेका हुन् । घोराही उप महानगरपालिका– १० का सालिकराम पौडेलले अहिलेसम्म माटो परीक्षण नगराएको बताए । उनले भने,‘अहिलेसम्म माटो परीक्षण गराइएको थिएन, आज माटो परीक्षण गराउन भनेर आएको हुँ’ उनले भने । विगत ५० वर्षदेखि कृषि पेशामा लाग्दै आए पनि माटोको परीक्षण नगराएको उनको भनाइ छ ।
‘उत्पादन कम भएपछि रासायनिक मलको प्रयोग बढाउँदै गइयो, तर माटो परीक्षण गरेर उपचार गर्न तर्फ लागिएन’ उनले भने,‘ माटो परीक्षण गर्नु पर्छ भनेर सचेतना दिने कामसमेत कसैबाट भएन’ । कार्यालयसम्म पुगेमा जानकारी पाउने भए पनि कृषकहरूले आफनो घर छिमेकमा जानकारी पाउन नसकेको उनको भनाइ छ । ‘समस्या नहुँदासम्म किन परीक्षण गराउनु पर्छ भन्ने सोचको कारणले माटोको परीक्षण नगराएको हो’ उनले भने ।
घोराही उप महानगरपालिका– ९ तेघराका पूर्णबहादुर बस्नेत पनि लामो समयदेखि कृषि पेशामा सम्लग्न छन् । उनले करिब एक हेक्टर जग्गामा खेती गर्दै आएको बताए । उनी विगत करिब ३० वर्षदेखि कृषि पेशामा छन् । तर नियमित रूपमा माटो परीक्षण गराउने गरेका छैनन् । ‘पहिले पटक गराएको थिए । त्यसपछि अहिले माटो परीक्षण गर्न लागेको छु’ उनले भने । माटो परीक्षण गराउनु पर्छ भन्ने जानकारी नहुँदा नियमित रूपमा माटो परीक्षण नगराएको उनको भनाइ छ ।
‘माटो परीक्षण गर्नु पर्छभन्दा धेरै हास्ने हुन्छन् ’ उनले भने,‘ सचेतना नहुँदा अधिकांश कृषकहरूले माटो परीक्षण गराएका छैनन् ।’ कृषकहरूमा ज्ञानको कमीले गर्दा यस प्रकारको समस्या भएको बस्नेत बताउँछन् । माटो परीक्षण गराउनका लागि कसरी माटो निकाल्ने भन्ने बारेमा अधिकांश किसानहरूले जानकारी सचेत नपाएको उनले बताए । कृषकहरूलाई यस बारेमा जानकारी दिनु पर्नेमा उनले जोड दिए ।
घोराही ९ करमटुवाका दिलबहादुर वलीले पनि नियमित रूपमा माटोको परीक्षण नगराउने गरेको बताए । ‘माटो परीक्षण गराउनु पर्छ भन्ने जानकारी नहुँदा परीक्षण नगराएका हौं’ उनले भने,‘कसैले पनि माटो परीक्षण गराउनु पर्छ भनेर जानकारीसमेत दिएनन्’ । माटो परीक्षण गर्नका लागि स्थानीय तहमा समेत व्यवस्था नहुँदा समस्या हुने गरेको कृषकहरू बताउँछन् । स्थानीय तहमा माटो परीक्षणको व्यवस्था भएमा सहजता हुने उनीहरूको भनाइ छ ।
यता कृषि ज्ञान केन्द्र दाङका निमित्त प्रमुख एवं वरिष्ठ बाली संरक्षण विकास अधिकृत पिताम्बर वस्नेतले नियमित माटोको उपचार गर्नु पर्ने बताए । माटोको उपचार नगरी खेती गर्दा उत्पादनसमेत घट्दै जाने उनको भनाइ छ । ‘माटोको परीक्षण गरेमा माटो कस्तो अवस्थामा रहेको छ भनेर जानकारी लिन सकिने र त्यसको उपचार गर्न सकिन्छ’ अधिकृत बस्नेतले भने,‘माटो परीक्षण बिना खेती गर्दा उत्पादनसमेत घट्दै जाने गरेको छ’ ।
अस्वस्थ माटोले उत्पादन राम्रो दिन नसक्ने उनको भनाइ छ । माटोको अवस्था बारे जानकारी लिई रोग लागेको भए त्यसको उपचार गरेमा उत्पादन वृद्धि हुने उनको भनाइ छ । माटो परीक्षण गरेमा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कृषकहरूले जानकारी लिन सक्ने उनी बताउँछन् । ‘माटो राम्रो भएमा उत्पादनको लागतसमेत घटने गर्छ’ अधिकृत बस्नेतले भने ।
अधिकांश कृषकहरूले माटो परीक्षण नगराउने गरेको समेत उनले बताए । ‘नि:शुल्क रूपमा माटो परीक्षण हुने भए पनि परीक्षण गराउनु हुदैन’ उनले भने, ‘कृषि ज्ञान केन्द्र दाङमा प्रयोगशाला निर्माण गरेर परीक्षणको काम भई रहेको छ’ । कार्यालयले माटो परीक्षणसँगै प्राविधिक सल्लाहसमेत दिँदै आएको उनले बताए ।