Logo

भूकम्पमा भत्किएका संरचना बनाउँदै सहरी विकास

वीरेन्द्रनगर– गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पबाट क्षति भएका सरकारी संरचना प्रदेश सरकारले निर्माणको थालनी गर्ने भएको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानमा रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

सरकारले यी भौतिक संरचना निर्माण गर्नका लागि ५० करोड बजेट विनियोजन गरेको थियो । हाल त्रिपाल तथा टेन्टमा स्वास्थ्य संस्था तथा विद्यालय सञ्चालनमा भएका कारण तत्काल काममा जुटन लागेको मन्त्री बुढाले बताए । मन्त्रालयले विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्य संस्थाको हकमा ५० लाख रुपैयाँको संरचना निर्माण गर्ने योजना छ । जाजरकोटमा २५ करोड विनियोजन गरिएको छ भने रुकुम पश्चिममा २२ करोड र सल्यानमा तीन करोड छुट्याएको छ ।

जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति भएको छ । रुकुम पश्चिममा दुईवटा पूर्ण र २२ आंशिक गरी २४ वटामा क्षति भएको छ । सल्यानमा तीनवटा पूर्ण क्षतिसहित तीनै जिल्लाका कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जाजरकोटमा १४३ र रुकुम पश्चिममा ४० वटा विद्यालय पूर्ण रूपमा क्षति भएको छ । जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको संख्या २०६ र रुकुम पश्चिममा २१३ रहेको छ ।

यी क्षति भएका संरचना निर्माण गर्नका लागि जिल्लाबाट सिफारिस भएर आएकालाई निर्माण चरणमा लिइएको छ । असोजमा प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ पनि स्वीकृत गरेर दोस्रो चौमासिक लागेसँगै काममा जुटेको भौतिक पूर्वाधार तथा सहरी विकास विकास मन्त्रीका सूचना प्रविधि सहायक टेकबहादुर शाहीले जानकारी दिए ।

त्रिपाल र टेन्टमा वर्ष दिनदेखि विद्यार्थी तथा स्वास्थ्यकर्मी काम गरिरहेकाले हैरान हुँदै आएका छन् । भवन अभावका कारण नियमित पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा बाधा सिर्जना भएको, जिल्ला विपद् व्यवस्थापन समितिले पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान गरेको विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सम्बन्धित जिल्लाबाट छनोट भई आएकालाई मन्त्रालयले प्राथमिकताका आधारमा निर्माणको चरणमा लिएको छ । आयोजना छनोट गर्दा चालु आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिनेमात्रै छनोट गर्नुपर्ने र संशोधन गर्न नपाइने नियम बनाएको छ ।

प्रदेशको भौतिक मन्त्रालय, समिति, सम्बन्धित स्थानीय तह, सम्बन्धित विद्यालय व्यवस्थापन समिति र कार्यालयले अनुगमन गर्नेछन् । आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्यालयको भवन सम्बन्धित स्थानीय तहको रोहवरमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई र स्वास्थ्य संस्थाको भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण हुनेछ । भौतिक संरचना निर्माण गर्नका लागि जाजरकोटमा र सल्यानमा संख्या निर्धारण गरेर मन्त्रीस्तरीय निर्णय भइसकेको छ भने रुकुम पश्चिममा बाँकी छ । अहिले विनियोजन भएको रकमबाट जति काम हुन्छ, सोही मात्रामा मात्र भौतिक संरचना निर्माण हुनेछन् ।

कुन पालिकामा कत्ति संरचना निर्माण हुँदैछन्
सल्यानको दार्मा गाउँपालिकामा २ वटा विद्यालय, सिद्धकुमाखमा १ वटा, शारदा नगरपालिकामा १ विद्यालय निर्माण गर्नका लागि छनोट गरिएको छ । त्यस्तै कुमाख गाउँपालिकामा १ वटा स्वास्थ्य संस्था, बागचौर गाउँपालिकामा १ वटा स्वास्थ्य संस्था निर्माण गर्न पत्राचार गरिएको मंसिर २० गते मन्त्रालयले पत्राचार गरेको छ ।

जाजरकोटको बारेकोटमा पाँचवटा विद्यालय, नलगाड नगरपालिकामा ४ वटा विद्यालय, भेरी नगरपालिकामा ३ वटा, छेडागाड नगरपालिकामा ४ वटा, कुशे गाउँपालिकामा ५ वटा, शिवालय गाउँपालिकामा ५ वटा, जुनिचाँदेमा ५ वटा विद्यालय निर्माण गर्न पत्राचार गरिएको छ । त्यस्तै स्वास्थ्य चौकीहरूमा बारेकोटमा २ वटा, नलगाडमा २ वटा, भेरीमा २ वटा, छेडागाडमा ३ वटा र जुनिचाँदेमा २ वटा निर्माण हुनेछन् । रुकुम पश्चिममा भने निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्