Logo

१३ वर्षदेखि खानेपानी योजना अधुरै

पर्वत– पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा निर्माण सुरु भएको १३ वर्षमा पनि खानेपानी आयोजनाले पूर्णता पाएको छैन । जलजला गाउँपालिका–१ मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाडाकटेरी, वनमडे, लोप्रे, फलामेडाडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने उद्देश्यले विसं २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो ।

जलजला गाउँपालिका–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माणको काम डेढ दशकसम्म पनि पूरा हुन नसकेको बताए । ‘तीन करोडभन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा दुईदेखि पाँच लाखका दरले मात्र बजेट आउँदा निर्माणले गति लिन नसकेको हो,’ उनले भने, ‘हालसम्म प्राप्त भएको ५० लाख खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।’

संघीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । प्रदेश सरकारमा हस्तान्तरण नभएपछि योजनाले निरन्तरता पाए पनि पर्याप्त बजेट आएन । खानेपानी सुविधाको आशमा रहेका बासिन्दा निराश भएका जलजला कुकुुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए । ‘खानेपानीको आशैआशमा १३ वर्ष बित्यो,’ उनले भने, ‘निर्माण गरेका इन्टेक, रिजर्भ टयांकी र धारा पनि पानी नआउँदै जीर्ण भएका छन् ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाएर वितरण गर्ने योजनाको लक्ष्य छ । स्थानीयबासीले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर, कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् ।

खानेपानीको असुविधाका कारण स्थानीयबासीको दैनिकी प्रभावित भएको स्थानीयबासी पुुर्ख पुुर्जा पुनले बताए । आयोजनाले समेटेको फलामेडाडा पर्यटकीयस्थल पनि हो । चालु आर्थिक वर्षमा भने तीनवटा शीर्षकमा सो आयोजनाका लागि दुई करोड १० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई १० लाख विनियोजन गरेको छ ।

संघीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना १, ५ र ७ र बाँसखर्क कुकुरच्यान जलजला १–५ को शीर्षकमा एक/एक करोड विनियोजन गरेको छ । संघीय र प्रदेश सरकारको खानेपानी आयोजना कार्यान्वयनको विषयमा सोमबार जलजला गाउँपालिका, वडा कार्यालय, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना र उपभोक्ता संस्था तथा उपभोक्ताबीच छलफल एवम् निरिक्षण भएको छ ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय कास्कीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, डिभिजन इन्जिनियर कुलप्रसाद पौडेल, वडाध्यक्ष तिलक जिसीलगायतको टोलीले आयोजनाको निरिक्षणका साथै उपभोक्तासँग छलफल गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष आचार्य र वडाध्यक्ष जिसीले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुुने वातावरण बनाउने प्रतिबद्धता जनाए । आयोजनाका प्रमुख कुँवरले आयोजनाअनुसार काम र क्षेत्र बाँडफाट गरेर निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्