भ्रमण वर्षमा बञ्जी, -याफ्टिङ सहित होटलमा ३० % छुट «

भ्रमण वर्षमा बञ्जी, -याफ्टिङ सहित होटलमा ३० % छुट

सिन्धुपाल्चोक-नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी सिन्धुपाल्चोकका होटल, रिसोर्टहरूमा आउने पर्यटकलाई ३० प्रतिशत छुट दिइने भएको छ । १ जनवरी २०२० देखि ७ जनवरीसम्म जिल्लाका होटल तथा रिसोर्टमा उपलब्ध सबै सेवाहरूमा छुट दिइने भएको हो ।
सिन्धुपाल्चोकमा धेरै पर्यटक भिœयाइ नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई छुट दिइने निर्णय गरिएको छ । होटलमा खाना, आवासका साथै विभिन्न एड्भेन्चरमासमेत छुट दिइने निर्णय गरिएको जिल्लास्तरीय भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
साताअघि होटल व्यवसायीहरूसँग गरिएको बैठकमा व्यवसायीहरू नै छुटप्रति उत्साही भएका थिए । सचिवालयका संयोजक कृष्णगोपालका अनुसार व्यवसायीहरू होटलमा मात्रै नभई जिल्लामा रहेका पर्यटकीय साहसिक खेलहरू, बञ्जीजम्प,-याफ्टिङ, कायाकिङ, तातोपानी स्नानलगायतमा पनि पर्यटकहरूले छुटको सुविधा पाउनेछन् ।
पर्यटक आकर्षित गर्नका लागि अरनिको राजमार्गमा रहेका रिसोर्टहरूमा साता दिनसम्मका लागि साँस्कृतिक कार्यक्रमसमेत राखिनेछ । राजमार्गअन्तर्गत रहेका रिसोर्टहरूमध्ये एक दिनमा एउटा रिसोर्टमा कार्यक्रम हुनेछ । सो साँस्कृतिक कार्यक्रममा जिल्लामा रहेका विभिन्न जातजातिको संस्कृति झल्कने मौलिक प्रस्तुति रहने होट व्यवसायीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्