Logo

कर्णालीमा आन्तरिक उडान सुरु

राजधानी पुग्न अर्को प्रदेश जानुपर्ने बाध्यता हट्यो

जुम्ला– कर्णाली प्रदेशका हिमाली जिल्लामा आन्तरिक हवाई उडान सुरु भएपछि आफ्नै प्रदेश राजधानी पुग्न लुम्बिनी प्रदेश जानुपर्ने कर्णालीबासीको बाध्यता हटेको छ । बुधबारदेखि कर्णालीको राजधानी सुर्खेतबाट हिमाली जिल्ला जुम्ला, मुगु र हुम्लामा आन्तरिक हवाई उडान सुरु भएको हो ।

कर्णाली प्रदेशको राजधानीबाटै आन्तरिक उडान सुरु भएपछि सुर्खेतमा बसोबास गरिरहेका हुम्ला, मुगु र जुम्लाका विद्यार्थी र स्थानीय उत्साहित बनेका छन् । यसअघि साविक कर्णालीका कर्मचारीदेखि सर्वसाधारणलाई अत्याआश्यक कामका लागि आफ्नै प्रदेश राजधानी सुर्खेत जानका लागि छिमेकी लुम्बिनी प्रदेश भएर जानुपर्ने बाध्यता थियो ।

संघीयता कार्यान्वयनपछि स्थानीय तहका गोष्ठी, सेमिनारहरु प्रायः प्रदेशमै हुने गरेका छन् । कर्णालीमा आन्तरिक उडान नहुँदा लुम्बिनी प्रदेश भएर कर्णालीको राजधानी सुर्खेत आउनुपर्ने नियतिजस्तै बनेको थियो । तर, साविक कर्णालीका नागरिकको समस्यालाई मध्यनजर गर्दै तारा एयरसले बुधबारदेखि जुम्ला, मुगु र हुम्लामा नियमित उडान सुरु गरेपछि लुम्बिनी प्रदेश धाउनुपर्ने बाध्यता हटेको हो ।

सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा उडान सुरु भएपछि निकै राहत भएको स्थानीयले बताएका छन् । जुम्लाका स्थानीय हरिसिंह बुढाले भने, ‘आन्तरिक उडान नहुँदा आफ्नै प्रदेश पुग्न पनि महँगो खर्च गरी नेपालगन्ज जानुपर्ने बाध्यता थियो । अब सुर्खेतबाटै उडान हुने भएपछि सहज हुने अपेक्षा छ ।’ आन्तरिक उडान भएकोमा कर्णालीबासी खुसी भए पनि टिकट वितरण प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेमा नागरिक अगुवा प्रेमबहादुर अधिकारीको जोड छ । पहुँचकै भरमा टिकट दिने प्रवृत्ति अन्त्य नभएसम्म नागरिकले राहत महसुश नगर्ने उनले बताए ।

तारा एयरले हरेक हप्ताको बुधबार र शनिबार सुर्खेतदेखि जुम्ला, मुगु र हुम्लामा उडान भर्ने कम्पनीका नेपालगन्ज स्टेसन इन्चार्ज सूर्यमणि सुवेदीले बताए । उनका अनुसार हिमाली टुर्स एण्ड ट्राभल्सले कर्णालीका तीन जिल्लामा हवाई उडानको जिम्मा पाएको छ । सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।

जुम्ला, मुगु र हुम्ला कर्णालीका पर्यटकीय जिल्ला पनि भएकोले आन्तरिक उडान भएपछि कर्णालीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । कर्णालीमा आन्तरिक उडानपछि पर्यटन प्रवद्र्धन र आउजाउमा सहज हुनेदेखि हरेक हिसाबले राहत हुने हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावलले बताए । तीन जिल्लामा उडान सुरु भएको र डोल्पामा पनि गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्