बागमतीको अस्तित्वमा स्वच्छताको महत्व
खानेपानी तथा सरसफाइ सेवाले मानव जीवनमा बहुआयामिक प्रभाव पार्छ । सो सेवालाई नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको छ । साथै, अन्तर्राष्ट्रिय रूपमा समेत दिगो विकास लक्ष्यले खानेपानी तथा सरसफाइसम्बन्धी स्पष्ट रूपमा निर्धारण गरेको छ । हालसम्म ९१ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवामा पहुँच पुगिसकेको सरकारको दाबी छ ।
सरकारी आँकडाअनुसार सरसफाइतर्फ हालका वर्षहरूमा प्रगति भई बहुसंख्यक घरपरिवारले आधारभूत स्तरको सरसफाइ सेवा उपयोग गरिरहेका छन् । यसबाट बाल–मृत्युदर कम गर्न तथा सरदर आयु वृद्धि गर्न सहयोग पुगेको, नागरिकको समग्र स्वास्थ्यस्थितिमा सुधार भई उत्पादनशील समयमा वृद्धि भएको तथा सामाजिक रहनसहन र बालबालिकाको विद्यालय उपस्थिति दरमा आवश्यक सुधार गर्न योगदान पुगेको आँकडाले देखाएको पाइन्छ ।
विभिन्न प्राकृतिक तथा मानवजन्य कारणले पानीका स्रोतहरू नदीनाला, तालतलैयामा आएको ह्रासका कारण पानीको उपलब्धतामा कमी आएको छ । अपेक्षाअनुरूप खानेपानी सेवालाई सुरक्षित, भरपर्द र दिगो बनाउन सकिएको छैन । मानव बस्तीको विस्तार र विकाससँगै गतिविधिबाट सिर्जित फोहोरको उचित व्यवस्थापनको अभावमा बस्ती, नदीनाला, जलाशय तथा वातावरण प्रदूषित हुँदै गएका छन् ।
नेपालको संविधानद्वारा प्रदत्त खानेपानी तथा सरसफाइको अधिकारअनुरूप सबैलाई स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्नु, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्नु, खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु परिवर्तनअनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजानु, अव्यवस्थित सहरीकरणका कारण खानेपानी तथा सरसफाइको सेवामा परेको चापलाई व्यवस्थित गर्नु, परिवर्तित संस्थागत संरचनाको सन्दर्भमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थित विकासका लागि तीन तहको सरकारमा क्षमता अभिवृद्धि गर्नु, सहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्वारा मानव सिर्जित मलमूत्रलगायतका औद्योगिक र कृषिजन्य फोहोर पानीको संकलन र प्रशोधन गरी उचित व्यवस्थापन गर्नु यस क्षेत्रका प्रमुख चुनौती हो भन्नुमा अत्युक्ति नहोला ।
परिवर्तित सन्दर्भमा समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको सकारात्मक अभिवृद्धि, खानेपानी र सरसफाइको सेवाप्रवाहमा निजी क्षेत्रको बढ्दो आकर्षण, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, विदेशमा समेत खानेपानी निर्यात गर्न सकिने सम्भावना यस क्षेत्रका अवसरका रूपमा रहेका छन् । सोह्रौँ योजनामा नदीलाई प्राकृतिक, सांस्कृतिक, पर्यटन र सम्पदाको रूपमा संरक्षण र उपयोग गर्ने, नदी व्यवस्थापन गर्नेसम्बन्धी कानुन जारी गरी कार्यान्वयन गर्ने, नदीको गेग्रान व्यवस्थापन योजना, उत्खनन मापदण्ड, नदीको बहाव क्षेत्र निर्धारण, नवीनतम प्रविधिको उपयोगमार्फत नदीको दिगो व्यवस्थापन गर्ने, पुरातात्विक र सांस्कृतिक जलाधारको संरक्षण गर्दै जलस्रोतको बहुउपयोग गर्ने रणनीति रहेको छ । यसै सिलसिलामा यस लेखमा बागमती नदीबारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
बागमती नदी नेपालको एक मुख्य प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नदी हो । यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्छ । टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ । यो नदीले काठमाडौं र ललितपुरबीच सीमा छुट्ट्याउँछ । चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्छ । भारतको बिहार राज्यमा गएर यो नदी कोसी नदीमा मिसिन्छ । यो नदीको धार्मिक विशेषता रहेको छ । यी नदीलाई हिन्दू तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । यस नदीको किनारमा पशुपतिनाथलगायत कैयौँ मन्दिर रहेका छन् । यो नदीमा विभिन्न धार्मिक संस्कार गरिन्छ ।
कुनै बेला पानी पिउनयोग्य स्वच्छ बागमती नदी यति बेला प्रदूषणबाट ग्रसित छ । नदी मात्र होइन, हिन्दू सभ्यताको इतिहास जोडिएको राजधानीको बीच भागबाट बग्ने बागमती सभ्यता बोकेको यो नदीमा अरबौँको योजना र कार्यक्रम सञ्चालन भएको पाइन्छ, तर समस्या घट्नुको सट्टा ज्यूँका त्यूँ छ । विश्वकै हिन्दूको आस्था एवं विश्वासको केन्द्रबिन्दु बागमती नदी-सभ्यताको उद्गम स्थल शिवपुरी जलाधार क्षेत्रको बागद्वार सफा भए पनि राजधानीको बढ्दो जनसंख्या, अस्वस्थकर एवं अनियन्त्रित सहरीकरण र अव्यवस्थित ढल एवं फोहोरमैलाले नदी-सभ्यता झन्डै तीन दशकयता प्रदूषित छ ।
हालका वर्षहरूमा नदीको बहाव घट्दै गएको छ । जलमार्ग साँघुरिँदै र गहिरिँदै गएको छ । अतिक्रमण बढेको छ । नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै जानु र सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै जानु पनि बागमती नदीको समस्या हो । एक आँकडाअनुसार नेपालभित्र २ सय र काठमाडौं उपत्यकाभित्र ४४ किलोमिटरभन्दा बढी लम्बाइको नदी किनारको भूमिको दुरुपयोग भएको छ । जलजन्य जैविक विविधता सखाप भएका छन् । २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयमा स्वीकृत पाँचवर्षे ‘बागमती कार्ययोजना’ कार्यान्वयनमा आयो, बागमती बचाउ अभियान पनि चल्यो । तर, समस्या ज्यूँका त्यूँ छ ।
बागमती सभ्यता बचाउन र यसको समग्र विकासका लागि सरकारले २०५१ सालमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गर्यो । लगत्तै अर्को वर्ष केही परिमार्जन गरी अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो । यसले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै २०६४ सालमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनायो । त्यसले पनि सो समस्या समाधान गर्न नसकेको सरोकारवालाको दाबी छ ।
बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सिधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती (बागमती नदी नै पिउने पानीको प्रमुख स्रोत थियो) अहिले प्रदूषित बनेको छ । बागमती सफाइ महाअभियान प्रत्येक शनिबार सञ्चालनमा छ, जसका कारण विगतको तुलनामा केही प्रदूषणमुक्त भएको छ तर बागमती नदी सफाइ कार्य ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भनेजस्तै भएको छ । मानिसको लापरवाहीका कारण सिधै बागमतीमा ढल निकास र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकेको अवस्था छ ।
बागमती सफाइ महाअभियान २०७० जेठ ५ गतेदेखि सुरु भएको थियो, जुन निरन्तर रूपमा हप्ताको एकपटक शनिबार चलिरहेको छ । हाल करिब १२ वर्ष भइसकेको छ । ‘बाह्र वर्षमा खोला फर्किन्छ’ भन्ने हाम्रा अग्रजहरूको उखानै छ, जुन उखान आजसम्म पनि प्रचलित छ । तर, बागमतीको स्वच्छता भने अझै पूर्ण रूपमा फर्कन सकेको छैन । सफाइ अभियानले मात्रै बागमती नदीले आशातीत स्वच्छता प्राप्त गर्न नसक्ने हुँदा नदीसँग जोडिएका पालिका (स्थानीय सरकार) हरूले बागमती स्वच्छ गर्ने प्रभावकारी व्यवस्था मिलाउन अति आवश्यक छ ।
यसका लागि काठमाडौँ, भक्तपुर, ललितपुरवासीलगायत सरोकारवालाहरूमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, पत्रपत्रिकामार्फत जनचेतना अभिवृद्धि गर्नु, कुहिने-नकुहिने फोहोर छुट्ट्याउने बानीको विकास गर्नु तथा उपत्यकाको ढल निकास बागमतीमा नगरी सोका लागि आवश्यक प्रभावकारी योजना बनाई व्यवस्थित गर्नु अति आवश्यक छ । तब मात्र बागमतीलगायत देशभरिका नदीनाला स्वच्छ भई धार्मिक, ऐतिहासिक र प्राकृतिक अस्तित्व बचाउन सफल भई स्वच्छ पानीको समेत आपूर्तिका साथै सो नदीमा गरिने विभिन्न धार्मिक कार्यले सार्थकता पाउनेछ ।