पखरालाई पर्यटनले पोखरा बनायो !
नेपाल पर्यटनका दृष्टिकोणले एउटा अनुपम मुलुक हो । विभिन्न थरीका पर्यटकीय विशेषता बोकेका कैयौँ गन्तव्य स्थलले भरिपूर्ण हाम्रो देशमा भ्रमण गर्ने लालसा लिएर वर्षौंदेखि आफ्नो भ्रमण योजना बनाएर बस्ने असंख्य सम्भावित विदेशी यात्रुले आफ्नो अनुकूल समय पर्खेर बसेका हुन्छन् । नेपालका विशिष्ट पर्यटकीय गन्तव्य स्थलहरूमा निश्चित रूपले पोखरा शीर्ष स्थानमा पर्छ । सायद त्यसै कारणले होला, नेपालका जनता र सरकारले पोखरालाई यहाँको पर्यटकीय राजधानीका रूपमा लिएका छन् । नेपालभित्र बस्ने हरेक देशवासीलाई एकचोटि पोखरा जानैपर्छ भन्ने, पोखरा घुम्नैपर्छ भन्ने प्रबल इच्छा रहेको हुन्छ भन्ने तथ्यलाई नकार्न सकिन्न ।
सुदूरपश्चिमको राराजस्तै मध्यमाञ्चलको पोखरामा रहेको फेवातालको प्राकृतिक अवस्थिति र उपमा उस्ता उस्तै छन् । अझै पोखरा त तालैतालको सहरका रूपमा पनि परिचित छ । पूर्व–पश्चिम राजमार्गसँग प्रत्यक्ष जोडिएको हुनाले यात्रुलाई पोखरा पुग्न कुनै समस्या हुँदैन । पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलले पनि पोखराको पर्यटकीय महत्वलाई अभिवृद्धि गरेको छ । पोखरा अहिले सानो चिटिक्कको व्यवस्थित सहर भए पनि यसको क्षेत्रफल बृहत् नै छ । यस सहरको प्रमुख आर्थिक गतिविधि मुख्यतः पर्यटन र कृषिमा आधारित छ ।
वर्तमान अवस्थामा यस प्रकारका गतिविधि पोखराका ड्यामसाइडदेखि माथि पाराग्लाइडिङ हुने ठाउँसम्म सीमित रहेको देखिए तापनि बिस्तारै यस्ता आवश्यक पूर्वाधारहरू व्यापक हुँदै गइरहेका छन् । अन्नपूर्ण पदयात्राको प्रवेशद्वार पनि हो, पोखरा । लालीगुराँसको वनले भरिएको धुम्पुसबाट हिमराजका श्रृंखलाहरू प्रस्टै देखिन्छन्, फेवातालबाट माछापुछ«े र धौलागिरिका सेताम्मे आकृतिहरू देखिएझैँ । पोखरा सहरभित्रैबाट बगेकी छन् सेती । असंख्य पीडितको उच्छ्वासले भरिपूर्ण सेतीको हृदयविदारक सुस्केरा सधैँसधैँ अविरल, अविच्छिन्न रूपमा सुसाइरहेको सुनिन्छ ।
पोखरामा वनजंगलहरू पनि छन् । यहाँको जैविक विविधता अध्ययनको एउटा छुट्टै विषय पनि बन्न सक्छ । स्थानीयवासीमा सौन्दर्यबोध छ । यहाँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संग्रहालयहरू छन्— गोर्खा संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय । मुख्यतः गुरुङ जातिको यहाँ बाहुल्यता छ तापनि अब यो देशका सम्पूर्ण जातजातिको एउटा सुन्दर फूलबारी नै हो । अनेक साहित्यिक संगोष्ठीहरूको आयोजना पोखरामा भइरहन्छ । अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनहरू यहाँ विगत वर्षौंदेखि वार्षिक रूपमा भइरहेका छन् । साहसिक खेलकुदका लागि त पोखरा अत्यन्तै अनुकूल छ ।
पोखराका निकटवर्ती उकाली–ओराली एवं फेवातालको अवस्थिति तथा दौड एवं साइक्लिङका लागि त्यहाँको भू–बनोट उपयुक्त भएकाले हामी त्यहाँ बर्सेनि ट्राइथलोन खेलको आयोजना गथ्र्यौं । त्यतिबेला स्वदेशीभन्दा बढी विदेशी सहभागीहरू रहने गरेको पंक्तिकारलाई स्मरण छ । त्यसै क्रममा हामीले बेलायतका तत्कालीन क्रिकेटका क्याप्टन इयान बुथमलाई पनि प्रमुख अतिथिका रूपमा बोलाएका थियौँ, इभेन्टपश्चात् । माडी खोलामाथि सिरानमा रहेको बिरेठाँटीमा एक रात बसेर अर्को दिन घोडेपानी जाने कार्यक्रम थियो । बुथमले रातभरिमा तीन केस बियर झ्वाम पारेछन् । भोलिपल्ट बिहानको उकालो हिँडाइ के हिँडून् । पोखराको आसपास बेलाबेला हिउँ पनि झथ्र्यो । तर, त्यो सामान्य नै भइसक्यो ।
पोखरा शान्त छ, सुन्दर छ, अब विशाल बनाउनुपर्ने आवश्यकता टड्कारो भइरहेछ । पंक्तिकारले विगतमा बृहत्तर पोखरा (ग्रेटर पोखरा) को अवधारणा सन्दर्भमा ल्याएको पनि हो । अब यस सहरलाई लेकसाइडमा सीमित राख्न हुँदैन । भविष्यमा त्यहाँ निर्माण गरिने विकासका कुनै पनि पूर्वाधारलाई धेरै नै चिन्तन–मनन गरी खडा गरिनुपर्छ । बिस्तारै सहरभित्र चल्ने सिटी बसको सट्टा मेट्रो चलाइने विषय पनि चर्चामा आइसकेको छ । कोरला नाकामा नेपालभित्र रेल लैजाने चिनियाँ अध्ययन टोलीको अध्ययन कार्य पनि चलिरहेकै अवस्थामा पोखराको पालिका सरकारले पनि विज्ञहरूको टोलीसँग विचारविमर्श गरी एउटा उपयुक्त परियोजना बनाउन आवश्यक छ कि ? अन्यथा बिहारको बरौनी जंक्सनको अवस्था नहोला भन्न सकिन्न । भारतलाई चिढाउनै भए पनि उनले आफ्नो चीन भ्रमणका दौरान विश्वका झन्डै १ सय २० देशबाट अनुमोदित बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गत नेपालमा रेल गुडाउनैपर्ने कुरा त राख्लान् नै । पोखरा त्यसका निम्ति तत्पर रहनु आवश्यक छ ।
विदेशी विद्वान्हरूले नेपालका विभिन्न सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक तथा अन्य पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानबारे धेरै नै पुस्तक लेखेका छन् । नेपाली अनुसन्धानकर्ता एवं विज्ञहरूले पनि लेखेका छन्, जस्तैः कर्णाली, लुम्बिनी, रोल्पा, डोल्पा, इलाम, जनकपुर, ओलाङचुङगोला, सगरमाथा, पोखरा, कञ्चनजंघा आदि । विद्वान् लेखक अमीशराज मुल्मीको ‘अल रोड्स लिड नर्थ’ले नेपाल र चीनबारे प्रशस्त प्रकाश पारेको छ । थोमश बेलको काठमाडौँ, रिचार्ड लार्नसनको ‘नेपालः काठमाण्डु उपत्यका, चितवन, अन्नपूर्ण, मुस्ताङ, एभरेस्ट’, कर्ण शाक्यको ‘डोल्पो’, ब्रायन थोमासको ‘ट्रेकिङ इन द अन्नपूर्ण रिजन’, जोन क्राकोरको ‘इन्टु थिन एअर’, पिटर मेथिसनको ‘द स्नो लियोपार्ड’, केनेथ एम बाउरको ‘हाई फ्रन्टियर्सः डोल्पो एन्ड चेन्जिङ वल्र्ड अफ हिमालयन पेस्टोरालिस्ट’, पिटर स्किलिङको ‘लुम्बिनीः ए बुद्धिस्ट पिलग्रिमेज साइट’, ‘लुम्बिनीः प्रिजेन्ट एन्ड पास्ट–एच, डल्लु बेली र डी मित्रा,’ सूर्यप्रसाद चौधरीको ‘द कल्चर अफ मिथिला’ आदि–आदि ।
पोखराको बयान गर्दै जाँदा हामीजस्ता स्तम्भकार त के, कोही पनि बहँदै जान सक्छ । अब केही दिनपछि पोखरानिकट रहेको लेखनाथमा महोत्सव हुँदै छ । पोखरा उपत्यकाका पर्यटन व्यवसायीहरूले आफ्नो व्यवसायलगायत पोखराको पर्यटन प्रवद्र्धनका लागि विश्वमा हुने कुनै पनि महत्वपूर्ण मेलाहरूमा सम्मिलित हुन चुक्तैनन् चुकाउँदैन । काठमाडाँैका टुर अपरेटरहरूले आफ्नो टुर प्याकेजको निर्माण गर्दा ‘पोखरा’ बिनाको प्याकेज बनाउने कल्पना पनि गर्न सक्दैनन् । पर्यटन व्यवसायीहरूको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) को गण्डकी शाखा पनि छ, पोखरामा पर्यटनको प्रवद्र्धन, संवद्र्धन र आवश्यक समय समन्वयात्मक कार्यका लागि त्यहाँ पोखरा पर्यटन परिषद् पनि छ र नेपाल पर्यटन बोर्डको पोखरा शाखा पनि रहेको अवस्थामा ती संस्थाले पनि पोखरालाई सही अर्थमा पर्यटनको राजधानी तुल्याउन विविध प्रकारले सक्रिय रहनुपर्ने अपरिहार्यतालाई अस्वीकार गर्न सकिँदैन ।
पोखराको पर्यटन व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायी शिक्षित मात्रै होइनन्, उनीहरू सुसंस्कृत र देशभक्त पनि छन् । तसर्थ, देशले पोखराबाट कैयौँ लाभ लिन सक्ने सम्भाव्यताहरू प्रस्टै देखिन्छन् ।
पोखराको अर्को महत्ववपूर्ण विशेषता, त्यहाँको हावापानी निकै स्वस्थकर छ । तर, केही मानिसको पुराना प्रकृतिका दुष्कर्मले गर्दा फेवातालका कुनाकुनामा प्लास्टिकजन्य पानीका बोतलका तथा खानेकुराका प्याकेटहरूले गर्दा फेवाको अलौकिक सौन्दर्यलाई हानि पुगेको छ । पोखराको पालिका त्यसतर्फ गम्भीर नभएको हो अथवा ध्यान नगएको हो ? गठबन्धने सरकारमा सुशासन दिगो हुन नसक्ने कारणहरूमध्ये यो पनि एक हो । अहिले केन्द्रमा पनि त्यही भइराखेको छ । स्थानीय सरकार र संघीय सरकार राहु केतुको भूमिकामा छन् । देश कसरी प्रगतिपथमा लम्किन सक्छ यथास्थितिमा ? तैपनि राजधानीलाई बालेनले बनाएरै छोडे— अझ अनेक सुधारात्मक कार्य पाइपलाइनमै छन् । व्यवस्थापन पक्ष नै सुधारको स्रोत हो ।
पोखरा प्रेम गर्नेहरूको गुँडजस्तो पनि छ । अनेक प्रेमिल जोडीहरू पोखराबाट फर्केपछि एउटा नयाँ संसारमा प्रवेश गरेको देखिन्छ । भारतीय पर्यटकको रूप त्यहाँ आउने ४० प्रतिशतभन्दा बढी ‘हनिमुन’ ट्रिप मनाउन आउँछन् । हरप्रकारका अत्याधुनिक सुविधासम्पन्न पोखराले चिनियाँ तथा भारतीय पर्यटकलाई मनग्गे लोभ्याएको छ । धार्मिक मान्यताअनुसार मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि अनिवार्य रूपले पशुपतिनाथको यात्रा गर्नैपर्ने भएकाले पोखराले काठमाडौँँलाई पनि सहयोग गरेको छ । मुक्तिनाथ क्षेत्रका लागि पनि पोखरा प्रवेशद्वार हो । यसरी नेपाली अर्थतन्त्रमा समग्र रूपले हेर्दा पोखरा (नेपालको पर्यटकीय राजधानी) ले अत्यन्तै उल्लेखनीय योगदान पुर्याएको छ । आगामी अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा केही दिनपश्चात् (मंसिर २३–२७ सम्म) नेपाल पर्वतीय महोत्सवको नवौँ संस्करण प्रारम्भ हुँदै छ ।
नेपालका हिमश्रृंखला, हिमाली संस्कृति र पर्वतीय संग्रहालयमा रुचि राख्नेहरूका लागि यो अवसर महत्वपूर्ण हुने निश्चितै छ । एसिया प्यासिफिक ट्राभल एसोसिएसन नेपाल च्याप्टरको तदारुकता र संयोजनमा आउँदो सन् २०२५ को फेब्रुअरी २४ देखि २६ सम्म पोखरा नगरीमा सर्वथा पहिलोचोटि नेपाल इन्डिया–चाइना एक्स्पो (२०२५) को ऐतिहासिक आयोजना हुन लागेको समाचारले नेपाली पर्यटन जगत् निकै उत्साहित देखिन थालेको छ । तयारीको सिलसिला पनि बडो तीव्रताका साथ अघि बढिरहेको छ ।
नेपाल, चीन र भारतबीचको समन्वयले यी तीनवटै मित्रराष्ट्रमा एकअर्काका पर्यटकीय सम्पदाबारे व्यापक सूचना जाने र यी तीनैवटा मुलुकबाट सहभागिताका साथै पर्यटन व्यवसायी र पर्यवेक्षकहरूको ठूलो घुइँचो लाग्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धनतर्फ लक्षित यस कार्यक्रमलाई सम्पन्न गर्न पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा उप–महानगरपालिका, पोखरा पर्यटन परिषद् तथा निजी क्षेत्रका कैयौँ सरोकारवालाहरूको सहभागिता रहने विश्वास गरिएको छ । यस एक्स्पोको आयोजनालाई पोखरामा आयोजित अनेक कार्यक्रमको आयोजनाभन्दा विशिष्ट प्रकारको एवं सर्वोत्तम हितकारी आयोजना भनिएको छ । विश्वमा नै सर्वाधिक पर्यटकको उद्गम स्थल चीन र भारतका बजारहरूको यस सम्मेलनमा उल्लेख्य व्यापार हुने आशा गरिएको छ । यस एक्स्पोमा १ हजार बढी प्रतिनिधि रहने र प्रत्येक मुलुकबाट १ सय जनाजति खरिदकर्ता रहने तथा ८० वटा स्टल रहने बताइएको छ । यस क्षेत्रीय पर्यटन एक्स्पोको मुख्य उद्देश्य नै पोखरालाई ट्रेकिङ (पदयात्रा) तथा साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ । यो सम्पूर्ण पर्यटनप्रेमीका लागि एउटा सुखद अवसर पनि हो ।
पर्यटन भनेको बडो जटिल व्यवसाय हो, त्यसलाई स्विकार्नैपर्छ । तपाईंसँग भएका सम्पूर्ण सेवा अन्य धेरै जनासँग पनि रहेका हुन्छन्, तर तपाईंले आफ्नो सेवालाई अरूको भन्दा कसरी उत्कृष्टतम रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ, त्यो निर्णयात्मक हुन्छ । कपाल नहुने व्यक्तिलाई काइँयो बेच्न सक्नु अथवा मधुमेहको रोगीलाई गुलियो भिडाउन सक्नु नै पर्यटन हो त भनिएकै छ नि ! पोखरामा पर्यटन अझै फस्टाउँदै गएको खण्डमा यसले उत्तरको छिमेकी जिल्ला मनाङलगायत म्याग्दी, लमजुङ, पर्वत, स्याङ्जा र पाल्पासम्म सकारात्मक तरंग फैलाउन सक्छ । फैलाइ पनि रहेको छ । पर्यटनकै माध्यमबाट मानिसहरूमा विविध प्रकारका सुधारात्मक व्यवहार पनि फस्टिएको छ । अर्थतन्त्रको जग पनि दिगो बन्दै जान्छ । स्वरोजगारीका सम्भावना बढ्छन् । प्रदूषण हराउँदै जान्छ । सुनिन्छ, गोरखाका गाउँहरूमा युवाहरूले बाँझो जग्गामा सामूहिक खेतीको अवधारणालाई मूर्त रूप दिइरहेका छन् । बिदेसिने क्रम घट्दै जाने पनि भइरहेको यदाकदा सुनिन्छ । पोखरामा पनि आजभन्दा ४०–५० वर्षपूर्व के थियो त ? पखरा थियो । आज पोखरा भएको छ । आजको पोखरामा सम्पूर्ण पोखरेलीको श्रम, सीप, स्वावलम्बन, सद्भाव र सदाचार छिपेको छ भन्नु अनुपयुक्त नहोला ।
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ
पखरा त साँच्चिकैको पोखरा नै रै’छ
पिरतीको फेवातालमा दिलै दुख्दो रै’छ ।