Logo

प्रधानमन्त्रीको चीन भ्रमण: नेपाललाई १२ अर्ब ४ करोड अनुदान

काठमाडौं- नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले सो भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको बताएका छन् ।

कार्यवाहक सचिव राईकाअनुसार उक्त सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल, नौतले वसन्तपुर दरबार पुन:निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ ।

चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट वि.स.२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडमा अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिए ।

राईले भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ती जारी गरिएको बताए । उनले यो पटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्य लगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरु अघि सारेको पनि बताए । चीन भ्रमणले आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताए ।

चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरेको राईले जानकारी दिए । उनले नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय भएको वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्