Logo

लक्ष्मी सनराइज बैंकको सहयोग

विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । बुधबार विराटनगरस्थित लक्ष्मी सनराइज बैंकले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

महानगरपालिका मेयर नागेश कोइरालालाई भेटेर बैंकका प्रदेश प्रमुख बर्बरिक पोखरेल र विराटनगर शाखाका प्रमुख सुदीप नरसिंह रायमाझीले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ ।

सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २६ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए । लक्ष्मी सनराइजसहित १४ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २६ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाले सो सडक सौन्दर्यकरणमा सहयोग पुर्‍याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिए । सो सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्